कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

बागलुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रकाश बराल

बागलुङ — पाँच वर्षमुनिका १७ हजार २ सय ४६ बालबालिकाले आवश्यक सबै खोप पाएपछि बागलुङलाई पूर्ण खोप सुनिश्चित र दिगोपना भएको जिल्ला घोषणा गरिएको छ ।

बागलुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले बुधबार पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् । बागलुङका जन्मेदेखि १५ महिनासम्मका ४ हजार १ सय ९० र १६ महिना देखि ५९ महिनासम्मका १३ हजार ५६ बालबालिकाले आवश्यक खोप पाएको घोषणा गरिएको हो ।

पूर्ण खोप सुनिश्चित बनाएर दिगोपनाको रुपमा पनि लगेकोले मन्त्री थापा र स्वास्थ्य मन्त्रालयका सचिव बिनोदबिन्दु थापाले जिल्ला खोप समन्वय समितिसहित ४ नगरपालिका र ६ गाउँपालिकालाई प्रमाणपत्र पनि प्रदान गरे । यो अभियानले बाल तथा मातृ मृत्युदर घटाउने विश्वास गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख बाबुराम आचार्यले बताए ।

समितिको निर्देशनमा जिल्लाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधि समेतले ८५ वटै वडाका सबै घरधुरीमा सर्भेक्षण गरेर कोही पनि बालबालिका खोप लगाउनबाट बञ्चित नभएको प्रमाणित भएपछि मात्रै यो घोषणा गरिएको हो । ‘अब कोही पनि खोप पाउनबाट बञ्चित छैनन्,’ आचार्यले भने, ‘अब जटिल प्रकारका रोगबाट बालबालिकालाई बचाउन सकिन्छ ।’ आचार्यका अनुसार बिफर उन्मुलन भैसकेकोमा धनुष्टंकार, जापनिज इन्सेफ्लाइटिस, हेपाटाइटिसलगायतका रोग निवारण भएको, पोलियो शून्यमा झरेको र दादुरा तथा रुबेला रोग पनि नियन्त्रणमा आएको हो ।

यो अभियान पूर्णतामा पुग्दा जिल्लाका स्थानीय तहले सुरु गरेको बालमैत्री अभियान सफल बनाउन पनि सहयोग पुगेको छ । बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाले बालमैत्री नगर घोषणाको तयारी गरेका छन् । गलकोट नगरपालिकाले बालमैत्री नगर घोषणा गरिसकेको छ । अन्य पालिकाले पनि बालमैत्री सूचकमा काम गरिरहेका छन् । त्यसकालागि आमा र शिशुको स्वास्थ्यमा सुधार भएको, सबै खोप पूर्ण रुपमा पाएको र पोषणको मात्रा पनि पुगेको हुनुपर्ने प्रावधान छ ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष अमरबहादुर थापाका अनुसार संविधानको धारा ३५ र स्थानीय सरकार संचालन ऐन २०७४ ले हरेक बालबालिकालाई पूर्ण खोप पाउनै पर्ने कानूनी व्यवस्था गरेको बताए । उनले विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार पनि बर्षेनी कोही नछुट्ने गरी काम भएको जानकारी गराए । कार्यक्रममा मन्त्री थापाले गण्डकी प्रदेशमै स्वास्थ्यको सूचक बलियो बन्दै गएको बताए । उनले यी सूचकलाई निरन्तरता दिने गरी काम गर्ने प्रतिबद्धता समेत जनाए ।

प्रकाशित : असार १९, २०८१ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×