२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४३

४४ स्टार्टअप उद्यमले पाए सहुलियत कर्जा

छनोटमा परेका उद्यमीले राष्ट्रिय वाणिज्य बैंकबाट पहिलो किस्ताबापत ५ लाख रुपैयाँ लिए

काठमाडौँ — स्टार्टअप उद्यम कर्जाका लागि छानिएका १८३ मध्ये ४४ जनाले कर्जा लिएका छन् । मंगलबार साँझसम्म ४४ स्टार्टअप उद्यमीलाई १ करोड ९६ लाख ५० हजार रुपैयाँ कर्जा प्रवाह गरिएको औद्योगिक विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले बताए ।

४४ स्टार्टअप उद्यमले पाए सहुलियत कर्जा

छनोटमा परेका ४४ स्टार्टअप उद्यमीले राष्ट्रिय वाणिज्य बैंकको तोकिएको शाखा कार्यालयबाट पहिलो किस्ताबापत ५ लाख रुपैयाँ लिएका हुन् ।

प्रतिष्ठानले छनोटमा परेका उद्यमीलाई १९ करोड ४० लाख रुपैयाँ स्टार्टअप कर्जा दिने भएको छ । यही साताभित्र १ सय ८३ परियोजनाले नै पहिलो किस्ताबापत ५ लाख रुपैयाँका दरले कर्जा पाइसक्ने गुप्ताको भनाइ छ । सिफारिसमा परेका परियोजनाहरूले परियोजना धितो राखेर ३ प्रतिशत ब्याजदरमा ५ लाखदेखि २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । स्टार्टअप कर्जाको अवधि अधिकतम पाँच वर्षको हुनेछ । परियोजनाले दोस्रो वर्षबाट साँवा र ब्याजबापतको रकम तिर्न सुरु गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

सूचना जारी भएको ३० दिनभित्र तोकिएको बैंक शाखा कार्यालयमा सम्पर्क नगरेको खण्डमा परियोजना प्रस्ताव र सिफारिस स्वतः रद्द हुने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले तोकेको बैंकको शाखामा तोकिएको कागजपत्रसहित आधिकारिक व्यक्ति सहुलियत कर्जाका लागि जानुपर्नेछ । कृषि तथा पशुपन्छी, वन पैदावार, पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कार, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, मानव स्वास्थ्य सेवा, शिक्षा तथा शिक्षण सिकाइ, अटोमोबाइल, परम्परागत प्रविधि, उत्पादन र सेवा प्रवाहको प्रक्रिया सुधार, घरायसी वा दैनिक जीवनयापन, खाद्य उत्पादन तथा प्रशोधन, सहज र सुरक्षित यातायात तथा पारवहन सेवा, खानी तथा खनिज अनुसन्धान र विकाससँग सम्बन्धित क्षेत्रमा कर्जा दिइनेछ ।

प्रतिष्ठानले गत माघ १९ देखि फागुन १० सम्म ‘स्टार्टअप’ उद्यम कर्जाका लागि मागेको प्रस्तावमा १ हजार ६ सय ५८ परियोजनाले प्रस्ताव दर्ता गराएका थिए । प्रतिष्ठानले चैत २ मा सूचना निकाल्दै स्टार्टअप उद्यम कर्जाका लागि दर्ता भएको १ हजार ६ सय ५८ परियोजनाको विवरण सार्वजनिक गरेको थियो । वैशाख ९ मा प्रतिष्ठानले पहिलो चरणमा योग्य प्रस्तावकको सूचीमा ३ सय ९४ परियोजना छानेको थियो । दर्ता भई सात वर्ष नाघेको, नवीन प्रविधि एवं सिर्जनशील सोच प्रयोग नगरिएको र कुल चुक्ता पुँजी १० लाख रुपैयाँभन्दा बढी भएका परियोजना योग्य सूचीमा नपरेको प्रतिष्ठानले जनाएको छ ।

स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि–२०८० अनुसार कुल कारोबार दुई करोडभन्दा बढी भएको र स्थिर पुँजी (घरजग्गाको मूल्यबाहेक) २ करोडभन्दा बढी भएका परियोजना योग्य सूचीमा परेका थिएनन् । प्रतिष्ठानका अनुसार गत वैशाख १७ देखि सुरु भएको परियोजनाको प्रस्तुतीकरण जेठ ३ सम्म चलेको थियो । प्रस्तुतीकरणमा छुटेकाका लागि सूचना निकालेर प्रतिष्ठानले जेठ ६ लाई समय दिइएको थियो । यद्यपि ३९८ परियोजनामध्ये ३३५ परियोजनाले मात्र प्रस्तुतीकरण गरेका थिए ।

प्रतिष्ठानले जेठ २५ मा स्टार्टअप उद्यम कर्जाका लागि सिफारिसमा परेका १८३ परियोजनाको सूची सार्वजनिक गरेको थियो । ‘प्रस्तुतीकरणमा देखाइएको प्रस्तावकहरूको फोटो, भिडियो, वित्तीय तथा अन्य विवरण, प्रस्तुतीकरण र प्रश्नोत्तरलाई आधार मानेर मूल्यांकन समितिले मूल्यांकन गर्‍यो,’ गुप्ताले भने, ‘मूल्यांकन समितिको औसत अंकभार र कर्जा मूल्यांकन गरी पाएको अंकभार जोडेर कुल अंकभार निकालियो, कुल अंकभारलाई आधार लिई ५० प्रतिशतभन्दा बढी अंकभार पाउने प्रस्तावकको प्राथमिकताका आधारमा जेठ २५ मा अन्तिम सूची छनोट गरेर सार्वजनिक गरेको हो ।’

प्रकाशित : असार १८, २०८१ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×