२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४३

‘ओलम्पिकमा नेपालको सहभागिता’ बारे अन्तरक्रिया

काठमाडौँ — विश्व खेलकुद पत्रकार दिवस (जुलाई २) को अवसरमा मंगलबार राजधानीमा ‘ओलम्पिकमा नेपालको सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।

‘ओलम्पिकमा नेपालको सहभागिता’ बारे अन्तरक्रिया

नेपाली खेलकुद पत्रकारहरूको छाता संस्था नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठ र ओलम्पियन दीपक विष्टले ओलम्पिकमा नेपालको सहभागिताबारे आफ्नो धारणा राखेका थिए ।

आसन्न पेरिस ओलम्पिकलाई सन्दर्भ पारेर नेपाली खेलाडीको ओलम्पिकबारे छलफल चलाइएको मञ्चले जनाएको छ । नेपालले सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागिता जनाउन थालेको हो । १९६८ को मेक्सिको सिटी ओलम्पिकमा भने सहभागिता जनाएन । त्यसयता नेपालले निरन्तर भाग लिँदै आएको छ ।

यसपालि पेरिस ओलम्पिकमा सात खेलाडीले भाग लिँदै छन् । त्यसमा एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, पौडीका डुवाना लामा र एलेक्जान्डर शाह, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल र जुडोकी मनिता श्रेष्ठ प्रधानको सहभागिता रहनेछ ।

परिषद्का सदस्यसचिव घिसिङले नेपाली खेलाडीलाई हौसला अभिवृद्धि गर्ने कार्यका लागि हातेमालो गरेर अगाडि बढ्न परिषद तयार रहेको बताए । उनले ओलम्पिक सहभागिताका बारेमा धेरै काम ओलम्पिक कमिटीमार्फत भइरहेको जनाए । खेलाडीको तयारीका लागि सम्बन्धित संघलाई घच्घचाउने कार्य गरिरहेको सुनाए ।

एनओसीका महासचिव श्रेष्ठले पेरिस ओलम्पिकमा छानिएका खेलाडीको छनोट प्रक्रियाका बारेमा प्रस्ट्याएका थिए । राज्यले यथेष्ट लगानी गरेमात्र ओलम्पिकमा सहभागिता मात्र नभई उपलब्धि हासिल हुनसक्ने बताउँदै उनले अहिलेसम्म त्यो स्थिति नआएको गुनासो गरे ।

बेइजिङ ओलम्पिक खेलेका चार पटकका सागका स्वर्णधारी दीपकले आफ्नो ओलम्पिक अनुभव सुनाएका थिए । उनले भने, ‘एउटा खेलाडीको सपना भनेको ओलम्पिक खेल्ने हुन्छ, त्यसका लागि मैले पनि धेरैपल्ट प्रयास गरें, अन्ततः २००८ को ओलम्पिक खेल्न सफल भएँ । त्यसमा म भाग्यमानी पनि रहें ।’ ओलम्पियन खेलाडी संघका अध्यक्षसमेत रहेका विष्टले अहिलेसम्मको ओलम्पिकमा नेपाली खेलाडीको सहभागिताबारे जानकारी गराए ।

ओलम्पिकको रिपोर्टिङ गरिसकेको मञ्चका पूर्वअध्यक्षद्वय अजय फुयाल र महेश आचार्यले ओलम्पिकमा रिपोर्टिङ गर्दाको अनुभव सुनाएका थिए । फुयाल २०१२ र आचार्य २०१६ को ओलम्पिकमा सहभागी थिए । कार्यक्रम मञ्चका कार्यबाहक अध्यक्ष निरन्जन अधिकारीको अध्यक्षतामा भएको थियो ।

प्रकाशित : असार १८, २०८१ २२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×