कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०८

दाहाल राजीनामा नदिने, रास्वपा पनि सरकार नछाड्ने

झन्डै दुईतिहाइ मत स्पष्ट रूपमा विपक्षमा उभिएकाले विवेक प्रयोग गरेर पद त्याग गर्न एमालेको आग्रह
जयसिंह महरा

काठमाडौँ — संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच संविधान संशोधन एजेन्डासहित ‘राष्ट्रिय सरकार’ बनाउने सहमति भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल मार्गप्रशस्त नगर्ने भएका छन् । दाहालले पदबाट राजीनामा नदिने र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकार नछाड्ने अडान लिएसँगै सत्ता हस्तान्तरण लम्बिन सक्ने भएको छ । 

दाहाल राजीनामा नदिने, रास्वपा पनि सरकार नछाड्ने

कांग्रेससँग मिलेर सरकार बनाउन सहमति गरेको एमालेले प्रधानमन्त्री दाहाललाई पद त्याग गर्न आग्रह गरेको छ । पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीच भएको सहमतिअनुरूप संविधानको धारा ७६ (२) अनुसार सरकार निर्माणका लागि बुधबारसम्ममा मार्गप्रशस्त गर्न दाहाललाई आग्रह गर्ने निर्णय गरेको हो ।

‘राष्ट्रिय सहमतिको सरकार निर्माणमा सघाउनका लागि प्रधानमन्त्रीलाई मार्गप्रशस्त गर्न आह्वान गर्ने निर्णय गरेको छ,’ एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भने । ‘संसद्का दुई वटा ठूला दलहरूबीच सहमति भई सरकार गठन गर्ने भनिसकेपछि अल्पमत बोकेर प्रधानमन्त्री दाहाल पदमा बसिरहन मिल्दैन, उहाँले विवेक प्रयोग गर्नुहुन्छ भन्ने लाग्छ,’ उनले भने । प्रधानमन्त्रीले राजीनामा नदिए एमालेले सरकारमा सहभागी आफ्ना मन्त्री फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ ।

मंगलबार बसेको एमाले सचिवालय बैठक ।

एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरी कांग्रेससँग भएको सहमतिलाई स्वागतसहित समर्थन गर्ने निर्णय गरेको छ भने त्यसरी बन्ने राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन, राजनीतिक स्थायित्व तथा आर्थिक विकास र समृद्धिका लागि योगदान गर्न सबै राजनीतिक दलहरूलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

प्रधानमन्त्री दाहालले नै कांग्रेससँग सत्ता समीकरणको पहल थालेपछि एमालेले कांग्रेससँग मिल्ने निर्णय लिएको उपमहासचिव ज्ञवालीको दाबी छ । ‘सरकार सञ्चालनमा हदैसम्मको लचकता अपनाउँदा पनि दाहालले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासँग वैकल्पिक सरकार गठनको बहस सुरु गरेको देखियो, त्यो विषयको जानकारी पनि देउवाबाटै प्राप्त भएकाले एमाले कांग्रेससँग सहकार्य गर्न पुगेको हो,’ उनले भने ।

कांग्रेसले पनि प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीलाई अगाडि सार्ने निर्णय भएकाले सोहीअनुसार अघि बढ्ने स्पष्ट पारेको छ । प्रमुख सचेतक रमेश लेखकले भने, ‘प्रधानमन्त्री दाहालसामु राजीनामा गर्ने वा ३० दिनभित्र विश्वासको मतका लागि संसद्मा प्रस्ताव राख्ने विकल्प मात्रै बाँकी छ । उहाँले उचित राजनीतिक निर्णय गर्ने बेला आएको छ ।’

एमालेले सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाएपछि प्रधानमन्त्री दाहालले एउटा निर्णय गरिहाल्नुपर्ने लेखकको भनाइ छ । ‘यस्तो ठूलो बहुमत बाहिर गइसकेपछि प्रधानमन्त्री दाहाल विश्वासको मतका लागि फ्लोर टेस्टमा जानुहुन्छ जस्तो लाग्दैन,’ उनले भने, ‘उहाँले संसद्मा विश्वासको मतको प्रस्ताव गरी आफ्नो बोली संसद्मा रेकर्ड गराएर राजीनामा गर्नुहुन्छ कि, त्यो प्रस्तावमा सांसदहरूको मत विभाजन माग्नु हुन्छ । अर्को विकल्प भनेको राजीनामा नै हो । यी तीनमध्ये जुनमा पनि जान सक्नु हुन्छ ।’ यसबीचमा प्रधानमन्त्री दाहालले सहकार्यका लागि आफूहरूलाई पनि प्रस्ताव गरेको कांग्रेसको भनाइ छ । तर दाहाललाई कुनै हालतमा सहयोग र समर्थन गर्न नसक्ने स्पष्ट पारिसकेको र नयाँ सरकार बनाउने राजनीतिक योजनाका लागि मार्गप्रशस्त गर्नुपर्ने लेखकले बताए ।

गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित 'क्रान्तिदेखि शान्तिसम्म' ऐतिहासिक फोटो प्रदर्शनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा । तस्बिर : प्रदीपराज वन्त /

उता प्रधानमन्त्री दाहाल भने सरकारमा सहभागी दल बाहिरिएको ३० दिनसम्म विश्वासको मत प्राप्त गर्ने सुविधा संविधानले दिएकाले त्यसैलाई सदुपयोग गर्ने पक्षमा छन् । सम्भावित अन्य राजनीतिक समीकरण जुटाउने प्रयासस्वरूप माओवादी र रास्वपा सरकारको आयु लम्ब्याउने रणनीतिमा छन् । हाल प्रतिनिधिसभामा माओवादी केन्द्रसँग ३२ र रास्वपासँग २१ सिट छ ।

माओवादीको पदाधिकारी बैठकले कांग्रेस र एमालेबीच भएको सत्ता सहकार्यको सहमतिमा आशंका व्यक्त गर्दै प्रधानमन्त्री दाहालले राजीनामा नगरी संसद्सँग विश्वासको मत माग्ने निर्णय गरेको हो । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराएका थिए ।

‘अहिले हामीलाई राजीनामा देऊ, समर्थन फिर्ता लियौं पनि कसैले भनेको छैन । राष्ट्रिय सरकार बनाऔं भनिएको छ, यही सरकारलाई बनाए भैगो,’ अर्थमन्त्री तथा माओवादी उपमहासचिव वर्षमान पुनले भने, ‘देउवाजीले एमालेसँग सहमति भयो भने पनि सरकारको राजीनामा मागिएको छैन । कसैले राजीनामा नमाग्दै, सरकारलाई दिएको समर्थन फिर्ता नलिँदै आफैं उत्ताउलो भएर राजीनामा दिने कुरा हुँदैन । स्थिति स्पष्ट भएपछि निर्णय गर्छौं ।’

सरकारमै रहेको रास्वपाको सचिवालय बैठकले कांग्रेस–एमाले समीकरण जनताको हितमा नरहेको निष्कर्ष निकालेको छ । राजनीतिक चलखेल निरन्तर भइरहेको बताउँदै प्रमुख सचेतक सन्तोष परियारले अस्थिरता बढेको बताए । ‘नेपालको राजनीतिमा अस्थिरता, चलखेल निरन्तर भइरहेको छ । विगतमा पनि हामीले स्थायित्वका लागि केही प्रयास गरेका थियौं, यद्यपि सबै कुरा हामीले चाहेको जस्तो पनि हुँदैन,’ उनले भने, ‘पछिल्लो समयमा जे भएको छ, यो पनि देश र जनताको हितमा छ भन्ने लाग्दैन । यस घटनाक्रमलाई हेर्दा अब बन्ने गठबन्धनमा हामी रहँदैनौं ।’

तर लोकतान्त्रिक संस्कारमा पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउनु नहुने परियारको धारणा छ । ‘लोकतान्त्रिक भावनालाई मान्ने हो भने पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाउन हुँदैन,’ उनले भने, ‘सरकार बनाउन आधिकारिक रूपमा केही पनि प्रक्रिया अघि बढिनसकेको हुँदा रास्वपा अहिले सरकारबाट बाहिरिँदैन । अर्को सरकार निर्माणको प्रक्रिया सुरु भएपछि मात्रै बाहिरिन्छ ।’

भ्रष्टाचारविरुद्ध सरकारले कदम चालेपछि नयाँ गठबन्धन बनाउन लागिएको दाबी माओवादी र रास्वपाले गरेका छन् । उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेले सरकार ढल्नुमा आशंका गर्दै भनेका छन्, ‘फाइल खुल्यो कि एक रात पनि टिक्न नसकिने भयो । बेचैनीको के अर्थ होला एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आयो, संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको सबैले बुझेकै कुरा हुन् ।’ लामिछानेले एमाले अध्यक्ष ओलीले नेतृत्व गर्ने सरकारमा सहभागी नहुने पनि बताए ।

प्रकाशित : असार १९, २०८१ ०५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×