कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

एस अध्यक्षमा नेपाल, महासचिवमा भुसाल 

सम्मानित नेतामा खनाल सर्वसम्मत, उपाध्यक्षसहित केन्द्रीय कमिटी शुक्रबार चयन हुने

काठमाडौँ — एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् । नयाँ विधानअनुसार सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएका छन् । उपाध्यक्ष, उपमहासचिव, सचिवसहित बाँकी १९ पदाधिकारी र केन्द्रीय सदस्य चयन भने शुक्रबार हुने भएको छ ।

एस अध्यक्षमा नेपाल, महासचिवमा भुसाल 

काठमाडौंमा जारी १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रले उनीहरूलाई सर्वसम्मत चयन गरेको हो । एमालेबाट २०७८ भदौमा अलग भएपछि पहिलो पटक भएको महाधिवेशनबाट मुख्य तीन पदमा पुरानै नेतृत्वले निरन्तरता पाएको छ । तर, महाधिवेशन प्रतिनिधिले ‘महाधिवेशनबाट सर्वसम्मत मुख्य नेतृत्व चयन गर्न’ सुझाव दिएका थिए । अन्य पदमा पनि छलफल भइरहेको नेता वेदुराम भुसालले बताए ।

पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन नेतृत्व हस्तान्तरण हुनुपर्ने भन्दै घनश्याम भुसालले अध्यक्षमा दाबी गरेका थिए । तर नेपालले महाधिवेशनबाट पुनः नेतृत्व लिएर पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन महासचिवसहित वरिष्ठ नेताको विचारलाई ध्यानमा राख्ने प्रतिबद्धता जनाएपछि सर्वसम्मत भएको समाजवादीका एक नेताले बताए ।

‘खासगरी वामपन्थी विचार–धारालाई पृष्ठपोषण गर्ने गरी अघि बढ्ने प्रतिबद्धतापछि सर्वसम्मत सम्भव भएको हो,’ ती नेताले भने, ‘महासचिव भुसालले सत्ता व्यक्तिलाई केन्द्रित गरी कम्युनिस्ट आन्दोलन अघि बढ्न नसक्ने भन्दै समाजवादी विचार र कार्यक्रममा जोड दिँदै आउनुभएको थियो । उहाँ र सम्मानित नेता खनालको कार्यदिशा समेत पारित भइसकेको छ ।’

उपाध्यक्ष, उपमहासचिव, सचिवसहित बाँकी १९ पदाधिकारी र केन्द्रीय सदस्यको चयन पनि महाधिवेशन प्रतिनिधिले नै गर्ने नेता राजेन्द्र राईले जानकारी दिए । ‘अरू पदाधिकारी र केन्द्रीय सदस्यको चयन शुक्रबार हुनेछ,’ उनले भने । उनका अनुसार प्रतिनिधिहरूले केन्द्रीय कमिटीको आकार बढाउन माग गरेका छन् । ‘अहिलेको २९९ सदस्यीय केन्द्रीय कमिटीमा धेरै युवा साथी छुट्ने भएकाले आकार बढाउनुपर्ने दबाब छ,’ राईले भने, ‘त्यसबारे छलफल भइरहेको छ ।’

निर्वाचन गर्दा असमझदारी बढ्ने भएकाले प्रतिनिधिले सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिएको पनि उनले बताए । ‘चुनाव गर्दा चित्त नबुझ्नेहरू जिम्मेवारीबाट बाहिरिने जोखिम हुने भएकाले सर्वसम्मत नेतृत्व चयन गर्ने दबाब छ,’ उनले भने, ‘केन्द्रीय कमिटीको आकार बढाउने सम्भावना पनि उत्तिकै छ ।’ मुख्य नेतृत्वबाहेक अन्य पदमा प्रतिस्पर्धा हुनुपर्ने धारणा राख्दै आएकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष मण्डलका प्रमुख खनालले महाधिवेशन प्रतिनिधिलाई नेतृत्व चयन नहुँदै घर पठाएको भन्दै असन्तुष्टि जनाएकी छन् ।

‘अध्यक्ष र महासचिव सर्वसम्मत गर्न मसमेतको प्रयास सफल भएको हो,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, ‘तर अध्यक्ष मण्डलका अध्यक्ष खनाललाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्मत गर्‍यौं/भयो भनेर प्रतिनिधिलाई घर पठाउने म्यान्डेट कसले दियो ? को पदाधिकारी, को सदस्य, खोइ त खनाल कमरेड ?’

प्रचार विभाग उपप्रमुख एवं नेता दामोदर अर्यालले मुख्य नेतृत्वमा पुस्तान्तरण माग भए पनि पाका नेताको अनुभव र युवाको जोसलाई संयोजन गरी केन्द्रीय कमिटी बन्ने बताए । ‘मुख्य नेतृत्वमा युवा आउनुपर्छ भन्ने माग थियो । तर सबै अवस्था हेर्दा पाका र युवाको संयोजनसहित नेतृत्व चयन हुँदै छ,’ उनले भने ।

प्रकाशित : असार २१, २०८१ ०५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×