कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

जर्मनीले स्पेनसँग बदला लिन सक्ला ?

जर्मनीले स्पेनलाई युरोमा हराउन नसकेको ३६ वर्ष भइसकेको छ, अन्तिम पटक १९८८ को युरोमा जर्मनी सफल भएको थियो
रोयटर्स

बर्लिन — जर्मनीले यस युरोको पहिलो क्वाटरफाइनलमा शुक्रबार उपाधिको अर्को दाबेदार स्पेनको सामना गर्नेछ । यो खेलमा जर्मनीको एउटै उद्देश्य रहनेछ, सन् १९८८ यता स्पेनलाई हराउन नसकेको क्रममा पूर्णविराम दिने । अहिले जर्मनी आठ वर्षयता अन्तर्राष्ट्रिय प्रतियोगितामा सबैभन्दा खुसीको समयबाट गुज्रिइरहेको छ ।

जर्मनीले स्पेनसँग बदला लिन सक्ला ?

समर्थकको चाहना होस्, जर्मनीले नै घरेलु मैदानमा उपाधि जितोस् । प्रतियोगिताकै दुई ठूला टिमका भिडन्तमा हारसँगै प्रतियोगिताबाट बाहिरिने डर पनि उत्तिकै हुनेछ ।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको स्पेनसँग लामिन यमलसँगै निको विलियम्स जस्ता युवा खेलाडी रहेका छन् । उनीहरूले स्पेनी आक्रमणको जिम्मेवारी उठाइरहेका छन् । यो विपक्षी टिमका लागि टाउको दुखाइ हुने गरेको छ । उनीहरूले बुन्ने गरेको आक्रमणमा सटिकता त छ । त्यसमा गति पनि उत्तिकै छ । अहिले स्पेनको आक्रमणको निर्देशन फाबिन रुजजस्ता खेलाडी गरिरहेका छन्, जसको मूल मन्त्र छ, बलमाथि बढी नियन्त्रण त्यो पनि उद्देश्यसहित ।

त्यसैले अचेल स्पेनले खेलमाथि बढीभन्दा बढी समयमात्र नियन्त्रण लिने प्रयास गर्दैन, बललाई लगातार अगाडि बढाउने प्रयास गर्छ । स्पेन अन्तिम १६ को खेलमा जर्जियामाथि ४–१ ले विजयी रहेको थियो । प्रतियोगितामा स्पेनको यो चौथो खेलमा लगातार जित हो । सम्भवतः चौथोपल्ट युरो जित्ने सपना पनि साकार हुन सक्नेछ । जर्मनीले पनि चारपल्ट युरो जितेको छ । डेनमार्कविरुद्ध अन्तिम १६ मा जर्मनीले जितका लागि कडा मिहिनेत गर्नुपरेको थियो ।

अभ्यासका क्रममा जर्मन खेलाडी ।

यस्तै समूह चरणमा स्विट्जरल्यान्डविरुद्धको खेल पनि सजिलो रहेन । त्यसैले सम्भवतः खेलको निर्णय यो तथ्यमा हुनेछ, स्पेनको आक्रमणलाई बलियो जर्मन डिफेन्सले कसरी लिनेछ । जर्मनीले स्पेनको सामना गर्दा आफ्नो रक्षापंक्ति अझ मजबुत बनाउने प्रयास पनि गर्नेछ । जर्मन कप्तान इल्काये गुन्डोगन भन्छन्, ‘स्पेनविरुद्ध दबेर खेल्नु ठीक हुन्न । हामी एउटा टिमका रूपमा स्पेनसँग कडा प्रतिस्पर्धा गर्न सक्छौं । हाम्रो टिम स्तरीयताको आधारमा बलियो नै छ ।’

उनी थप्छन्, ‘स्पेन जर्मन टिमलाई धेरै नै सम्मान गर्छ, तर सार्वजनिक रूपमा भन्न भने सक्दैन ।’ जर्मनीका लागि इतिहाससँग एउटा के समस्या छ भने टोलीले स्पेनलाई युरोमा नहराएको ३६ वर्ष भइसकेको छ । जर्मनीले अन्तिम पटक स्पेनलाई सन् १९८८ को युरोमा हराएको थियो । जर्मनीलाई सन् २०१० को सेमिफाइनल र सन् २००८ को फाइनलमा हराउने टिम स्पेन नै हो । अझ स्पेनले चार वर्षअगाडि नेसन्स लिगमा जर्मनीलाई ६–० ले हराएको थियो ।

स्पेनी प्रशिक्षक लुइस डे ला फुन्टे भन्छन्, ‘हामी कोही सबैलाई आघात पुर्‍याउन चाहँदैनौं । तर हामी नै यस युरोको सबैभन्दा राम्रो टिम हो । हामीले यो प्रतिष्ठा कायम राख्न कडा मिहिनेत गर्नेछौं । हाम्रो अगाडि कस्तो चुनौती छ, त्यो हामीलाई राम्रोसँग थाहा छ । जर्मनीविरुद्धको खेल तगडा हुनेछ, यसमा दुईमत छैन । तर, हामी आफ्नो खेललाई लिएर असाध्यै आत्मविश्वासी छौं ।’

प्रकाशित : असार २१, २०८१ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×