कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

हामीलाई फाल्नुको औचित्य कांग्रेस, एमालेले पुष्टि गर्नुपर्छ : वर्षमान पुन

आफैं उत्ताउलो भएर सरकारले राजीनामा दिने कुरा हुँदैन : वर्षमान पुन, अर्थमन्त्री एवं माओवादी उपमहासचिव

काठमाडौँ — माओवादी सचिवालय बैठकले कांग्रेस एमालेबीच नयाँ गठबन्धन बने पनि प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने निर्णय गरेको छ । सत्तारुढ दलको प्रमुख घटक एमालेले साथ छाडे पनि प्रधानमन्त्री दाहालले संसद्बाट विश्वासको मत लिने बताएका छन् । यसको कारण के हो ? यसबारे कान्तिपुरका गंगा बीसीसँग कुरा गर्दै अर्थमन्त्री एवं माओवादी उपमहासचिव वर्षमान पुनले एमालेले सत्ता समीकरण फर्नुको औचित्य पुष्टि गर्नु पर्ने उल्लेख गर्दै संसद्मा विश्वासको मत लिने बताएका छन् ।

हामीलाई फाल्नुको औचित्य कांग्रेस, एमालेले पुष्टि गर्नुपर्छ : वर्षमान पुन

कांग्रेस, एमाले मिलेर अर्को गठबन्धन बनाउनुको कारण के देख्नुहुन्छ ?

केपी ओलीजीले भनेअनुसार राष्ट्रिय सरकार बनाउन गरिएको हो । म अझै निर्णयमा पुगेको छैन भनेर ओलीजी भन्नुभएको छ । देउवाजीले चाहिँ अहिले ओलीजी प्रधानमन्त्री हुनुहुन्छ, चुनावी सरकारको म हुन्छ भन्नुभएको छ । हामीले सहमति गरिहाल्यौं भन्नुभयो ।

कांग्रेस, एमालेको गठबनधन बनेपनि प्रधानमन्त्रीले राजीनामा नदिने भन्नुभएको छ, यसको मुख्य कारण के हो ?

अहिले हामीलाई राजीनामा देऊ, समर्थन फिर्ता लियौं पनि कसैले भनेको छैन । राष्ट्रिय सरकार बनाऔं भनिएको छ, यही सरकारलाई बनाए भैगयो । देउवाजीले एमालेसँग सहमति भयो भने पनि सरकारको राजीनामा मागिएको छैन । कसैले राजीनामा नमाग्दै, सरकारलाई दिएको समर्थन फिर्ता नलिदै आफैं उत्ताउलो भएर राजीनामा दिने कुरा हुँदैन । स्थिति क्लियर भएपछि निर्णय गर्छौं । सरकामा रहेको कुनै दलले समर्थन फिर्ता लियो भने हामी संसद्बाट विश्वासको मत लिने प्रयास गर्छौं ।

कसैले समर्थन फिर्ता लिए एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ, त्यसबेलासम्म यही सरकार रहन्छ ?

तीस दिनभित्र विश्वासको मत लिने प्रयास गर्छौं । विश्वासको मत पाए फेरि सरकार बनाउँछौ, यसअघिको जस्तो एमाले माओवादी मिलेर सरकार बनाएका थियौं । त्यसबेला कांग्रेसले फेरि समर्थन गरेको थियो । हामी सबैलाई विश्वासको मत माग्छौं । त्यसबेलासम्म कसैको मन फर्कन पनि सक्छ ।

कांग्रेस र एमालेबीच संविधान संशोधन गर्ने समझदारी पनि भएको छ, यसलाई कसरी लिनुहुन्छ ?

संविधान संशोधन गर्ने भनेको अहिलेको अवस्थाबाट पछि हट्नु हो । संविधान संशोधन गरी राजा ल्याउने भन्ने एउटा प्रवृत्ति छ । कांग्रेस एमालेभित्र संघीयता, सामावेशी, समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने प्रतिगमन हुन्छ । त्यतातिर गएर संविधान संशोधन गर्नु प्रतिगम हुन्छ । अहिलेसम्मको राजनीतिक उपलब्धि, बलिदानीलाई बेवास्ता गरेको कसैले स्वीकार गर्दैन । त्यो आँट कसैले गर्दैन जस्तो लाग्दैन ।

प्रधानमन्त्रीले राजीनामा नदिएर नयाँ गठबनध्नको सरकार र संसद्मा औचित्य खोज्नु भएको हो ?

हामीलाई फाल्नुको औचित्य कांग्रेस, एमालेले पुष्टि गर्नुपर्ने हुन्छ । हामीले सुशासन, समृद्धि, सन्तुलित बजेट ल्याएको हुनाले फाल्ने हो कि, आर्थिक शिथिलतालाई राम्रो गर्दै गएको हुनाले विस्थापित गर्न लागेको हो कि ? त्यसको चित्तबुझ्दो जवाफ चाहियो नि । होइन भने हामी सरकार तत्काल नछाड्ने कुराको हामी औचित्य पुष्टि गर्छौं र फेरि बुहमतको सरकार बनाउँछौं ।

कांग्रेस, एमालेको गठबन्धनलाई ‘अप्राकृतिक गठबन्धन’ भन्नुको अर्थ के हो ?

कांग्रेसलाई हामीले केही भन्नु छैन । कांग्रेससित कुनै दुस्मनी पनि छैन । सामाजिक न्याय, समृद्धिको कुरा गर्दा हामी सैद्धान्तिक रुपले एमाले निकट छौं । त्यसले गर्दा हामीबीच समीकरण भएको हो । वामपन्थी मतलाई ख्याल गरेर राजनीतिक स्थिरताका लागि हामी एमालेसँग समीकरण बनाएका हौं । हामी र एमालेबीच कुनै समस्या थिएन । तर अर्को गठबन्धन बन्नुको जवाफ एमालेका साथीहरूले जवाफ दिनुपर्छ । हामीले आर्थिक सृमृद्धि, सामाजिक न्यायमा काम गरौ भनेको हो । सुविधानजनक सरकार छाडेर एमालेले के गर्न खोजेको हो ? एमालेले यसको औचित्य जनतालाई भन्नुपर्छ । एमालले माओवादीसँगका प्राकृतिक सहकार्य किन छाडेको हो ? त्यसको जवाफ जनतालाई दिनु पर्ला नि !

समीकरण फेरबदलमा बाह्य शक्तिको हात देख्नुहुन्छ ?

मलाई त्यस्तो लाग्दैन । कसैले अख्तियारको मुद्दामा लेनदेन गरेको भन्छन्, कसैले सीआईबीले अनुसन्धान गरिरहेका मुद्दाहरू, कसैले अनुसन्धानमा रहेका फाइल खोल्ने कुरामा लेनदेन गरेको भन्छन् । मैले आरोप लगाउनुभन्दा त्यो समयक्रमले पुष्टि गर्ला ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच व्यक्तिगत इगोका कारण अर्को समीकरण बनेको हो ?

त्योभन्दा पनि ओलीको दिमागको संसद् विघटन ठिक गरेको भन्ने छ । उहाँले राजनीतिक अस्थिरता बनाएर संसद् विघटन गर्न खोजेको हो कि ? संसद् विघटन गरी पहिलेकै कदमलाई ठिक हो भन्ने खोजेको हो कि ? ओलीजीको कही न कही संसद् विघटन ठिकै गरेको भन्ने सोच देखिन्छ । त्यो नहोस् भन्ने हाम्रो अपेक्षा छ ।

आगामी निर्वाचनसम्म फेरि एमालेसँग सहकार्य गर्ने सम्भावना देख्नुहुन्छ ?

अहिले यसबारे टिप्पणी गर्नु हतार हुन्छ । वाम जनमत छ, त्यसले मिल भन्छ । सामान सोचाइ भएका पार्टीहरुबीच सहकार्य हुनु प्राकृतिक हो । अहिले हाम्रो धेरै केही भन्नुछैन । हाम्रो आफ्नो इतिहास छ । मुद्दा छ । हामी जस्तोसुकै अवस्थामा पनि आफ्नो मुद्दा लिएर अघि जान्छौं ।

प्रकाशित : असार १८, २०८१ १७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×