कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

‘पार्टी चलाउन हामीलाई दिनुस् भन्नु इतिहास र भविष्यको सन्तुलन पनि हो’

‘नेपाली समाज र कम्युनिस्ट आन्दोलनको विचारको चरणका हिसाबले हामी जबजभन्दा धेरै अगाडि बढिसक्यौं  । ’
‘विभाजनको औचित्य हामीले भनेजस्तै समग्र कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण हो । यो पार्टी हिजोको एमालेभन्दा राम्रो बन्नेछ ।’

एमालेबाट विभाजन भएको दुई वर्ष १० महिनापछि नेकपा एकीकृत समाजवादीले आइतबारदेखि काठमाडौंमा महाधिवेशन गर्दै छ । महाधिवेशन मुख्यगरी राजनीतिक कार्यदिशा र नेतृत्व चयनमा केन्द्रित हुनेछ । अध्यक्ष माधवकुमार नेपाल (७३) र वरिष्ठ नेता झलनाथ खनाल (७५) ले पुनः अध्यक्ष दाबी गरिरहेका बेला महासचिव घनश्याम भूसाल पनि आकांक्षी देखिएका छन् ।

‘पार्टी चलाउन हामीलाई दिनुस् भन्नु इतिहास र भविष्यको सन्तुलन पनि हो’

कम्युनिस्ट आन्दोलनमा राजनीतिक, वैचारिक रूपान्तरण र पुनर्गठनको मुद्दालाई प्रमुख रूपमा उठाएका भुसाल नेतृत्व हस्तान्तरण गरी नेपाल र खनालले नयाँ ढोका खोल्नुपर्ने बताउँछन् । एमालेबाट विद्रोह गर्नुको औचित्य पुष्टि गर्ने समाजवादी कार्यदिशा र नयाँ नेतृत्व आवश्यक रहेको भन्दै आएका महासचिव भूसालसँग यही सन्दर्भमा कान्तिपुरका गंगा बीसीजयसिंह महराले गरेको कुराकानी :

एमालेबाट विभाजन भएपछि पहिलो पटक महाधिवेशन गरिरहनुभएको छ । यतिबेला महाधिवेशन गर्नुपर्ने आवश्यकता किन पर्‍यो ?

हामीले यो पार्टी गठनलाई आधिकारिक रूपमा विद्रोह भनेका छौं । खास राजनीतिक एजेन्डामा यो विद्रोह हो । संसद् विघटन र त्यसपछि उठेका अन्तरविरोधको दौरानमा यो पार्टी बन्यो । आमरूपमा भने केपी शर्मा ओलीविरुद्ध नेकपा एकीकृत समाजवादी बन्यो भन्ने भाष्य स्थापित भयो । विद्रोह गर्ने बेला ओली कमरेडसँग अन्तरविरोध बढी भएको हुनाले उहाँ विरुद्धमा पार्टी बन्यो भन्ने भाष्य स्थापित हुनु स्वाभाविक थियो । तर, त्यसलाई सैद्धान्तिक, राजनीतिक, वैचारिक रूपले व्याख्या गर्न बाँकी थियो । जसले गर्दा एकखालको अन्योल हामीकहाँ रहिरह्यो ।

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

ओलीजी नेतृत्वमा आएपछि एमालेभित्र पार्टी महाधिवेशनले निर्णय गरेको सैद्धान्तिक, वैचारिक, सांगठनिक निर्णयलाई उहाँले मान्ने या नमान्ने भन्ने विवाद थियो । त्यो विवादको सबैभन्दा अगाडि म थिएँ । किनभने हरेकजसो बैठकमा मैले सैद्धान्तिक, वैचारिक रूपले तपाईं गलत ठाउँमा हुनुहुन्छ, विषयवस्तुलाई गलत व्याख्या गर्दै हुनुहुन्छ, महाधिवेशनको म्यान्डेटविरुद्ध जाँदै हुनुहुन्छ भनेर ४ देखि ३२ पेजसम्मका धारणा राखेको थिएँ । संसद् विघटन र पार्टी विभाजनजस्ता कुरा मुख्य विवाद बने । ती तात्कालिक राजनीतिक घटना थिए । ती आफैंमा सैद्धान्तिक, वैचारिक थिएनन् ।

हामीले त्यो विद्रोहलाई सैद्धान्तिक, वैचारिक रूपले संस्थागत गर्नुपर्ने आवश्यकता थियो । विभाजन भएपछि हाम्रो प्रमुख काम त्यही थियो । त्यो काम गर्न विद्रोह गरेको एक–दुई वर्षमा सकिएन, तेस्रो वर्ष महाधिवेशन गर्न लागेको हो । पार्टी गठन भएपछि ५ वर्षसम्म महाधिवेशन गर्न सक्थ्यौं तर सैद्धान्तिक, राजनीतिक, वैचारिक र सांगठनिक रूपले संस्थागत गर्नुपर्ने आवश्यकता छ । हामीले समाजवादी कार्यदिशामा काम सुरु गरेका छौं । अबको वाम कम्युनिस्ट आन्दोलनको यो नै आधार हो । एकता, प्रगति, संगठनको यो निर्देशक विचार हो भन्ने कुरा स्थापित गर्नुपर्नेछ । म विश्वस्त छु, हामीले समाजवादमा राम्ररी काम गर्न सक्छौं । कम्युनिस्ट आन्दोलनको अबको पाँच दशकको एउटा आधारभूत डकुमेन्ट स्थापित गर्न सक्छौं ।

सैद्धान्तिक रूपमा अहिले समाजवादी नीति अगाडि ल्याएको भन्नुभयो, जनताको बहुदलीय जनवाद एमालेकै पालादेखि छ । एकीकृत समाजवादीमा अहिले पनि त्यसलाई लागू गर्ने कि नगर्ने भन्ने दोधार छ । यो अवस्थामा तात्त्विक रूपमा एमाले र एकीकृत समाजवादीबीच सैद्धान्तिक भिन्नता के छ ?

जनताको बहुदलीय जनवाद (जबज) यस्तो शब्दावली भएको छ, जसलाई इतिहासमा ‘समाजवाद’ जस्तो हरेकले लगाउने टोपी जस्तै भन्छन् । खासगरी एमाले धारामा जबज लामो समयसम्म एउटा पहेली बनेर रह्यो । जबज भनेको सामन्तवादविरोधी कार्यक्रम हो । मूलभूत रूपले लोकतान्त्रिक क्रान्तिको कार्यक्रम हो । आर्थिक क्षेत्रमा जमिनदारी प्रथा अन्त्यको कार्यक्रम हो । त्यो काम सम्पन्न गरिसक्यौं । राजनीतिमा सामन्तवादको कुरा गर्ने हो भने २०४७ सालको संविधानका तीन–चार धारामा सामन्तवाद थियो ।

२०६२/६३ मा गणतन्त्रको घोषणापछि त्यो पनि सकियो । नयाँ जनवाद अथवा जबज दुवै एउटै हुन् र त्यसको प्रयोजन भनेको सामन्तवाद, जमिनदारी प्रथाको विरोध र राजतन्त्रको अन्त्य हो । त्यो काम त हामीले सम्पन्न गरी नै सक्यौं । जबज भन्ने हो भने या त त्यो काम सम्पन्न भएकै छैन भन्नुपर्छ । त्यो सकियो भन्ने हो भने हामी जाने त समाजवादतर्फ हो । ओलीजीसँग वास्तवमा मेरो विवाद यसैमा थियो । नवौं महाधिवेशन वरिपरिको विवाद, आठौं महाधिवेशनदेखि हामीले सुरु गरेको विवाद त्यही थियो ।

अहिले एकीकृत समाजवादीले के टुंगो गर्‍यो भने जनताको बहुदलीय जनवाद सामन्तवाद, राजतन्त्र, जमिनदारी शासनका अवयवहरू अन्त्य गर्दासम्म सान्दर्भिक थियो र त्यसले आफ्नो भूमिका पूरा नै गरिसक्यो । इतिहासमा जबजले राम्रै काम गर्‍यो । त्यसको मूल्यांकन त्यसै गरी गर्‍यौं । अब समाजवादतिर जाने भनेर धेरै स्पष्ट रूपले महाधिवेशनमा आफूलाई उभ्याएका छौं । यस अर्थमा कम्युनिस्ट आन्दोलनका सैद्धान्तिक विवादहरू अब तार्किक र ऐतिहासिक रूपमा समाधान गरिसकेका छौं ।

अध्यक्ष माधवकुमार नेपाल जनताको बहुदलीय जनवादलाई लिएरै जाने पक्षमा हुनुहुन्छ । सम्मानित नेता झलनाथ खनाल र तपाईं समाजवाद भन्नुहुन्छ । यसमा सहमति कसरी हुन सक्छ ?

केही समस्याहरू हामीसँग थिए । माधव कमरेडले जबजको ‘प्याटेन्ट राइट’ हामीसँग छ । जबज छोड्न सकिन्न । जबजलाई लिएरै जाने भन्नुभयो, त्यसले एउटा पंक्तिमा एक खालको अन्योल सिर्जना गरेको साँचो हो । जबज र समाजवाद सँगसँगै भन्न सकिन्छ कि भन्ने उहाँलाई थियो । तर छलफलको दौरानमा यो समाधान गरिसकेका छौं कि जबज इतिहास हो । समाजवाद हाम्रो भविष्य हो ।

आगामी दिनमा जबजको औचित्य छैन, त्यसमा टेकेर अगाडि बढ्न सकिन्न भन्ने निष्कर्ष हो ?

यो कस्तो प्रश्न भइदिन्छ भने तपाईं किशोर हुनुहुन्थ्यो, त्यो सत्य हो । तपाईंको जीवनको वास्तविकता हो । जनताको बहुदलीय जनवादको एउटा काल थियो । हामी जवान भयौं, हामी प्रौढ भयौं, हामी वृद्ध हुन्छौं यो एउटा प्रक्रिया हो । हामी त्यो चरणबाट अगाडि बढ्यौं । नेपाली समाज र कम्युनिस्ट आन्दोलनको विचारको चरणका हिसाबले भन्ने हो भने हामी जबजभन्दा धेरै अगाडि बढिसक्यौं ।

यो महाधिवेशनले एमालेबाट अलग भएर अर्को पार्टी बनाउनुको राजनीतिक औचित्य कसरी पुष्टि गर्छ ?

एकीकृत समाजवादीका लागि यो सबैभन्दा ठूलो प्रश्न हो । यसमा हामीले ढिपी गरेर हुँदैन । औचित्य पुष्टि भइसक्यो भनेर पनि हुँदैन । किनभने विभाजनको औचित्य हामीले भनेजस्तै समग्र कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण हो । यो पार्टी गठन हुँदा हाम्रो नारा थियो, कम्युनिस्ट आन्दोलनमा आएको विकृति, विसंगति, अधोपतन विचलनका विरुद्धमा हामी समग्र कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्छौं । त्यो पुनर्गठन रूपान्तरित यसको परिणाम हुनेछ ।

हिजोको एमालेभन्दा राम्रो पार्टी बन्नेछ । यही हो, हामीले खाएको कसम । त्यो काम सम्पन्न गरेर मात्रै विद्रोहको औचित्यको पुष्टि हुन्छ । कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरण गर्ने प्रक्रिया जारी छ । यो प्रक्रियामा हामीले धेरै हन्डर, ठक्कर खाएका छौं । हिजो कार्यकर्तामा जुन जागरण, आशा, विश्वासका साथ हामी जसरी अगाडि आएका थियौं त्यो ढिलो हुँदाखेरि कतिपय मान्छे निराश भएको यथार्थ छ । तिनले स्पष्ट बाटो पाएनन् ।

व्यक्तिगत रूपमा मान्छेलाई पार्टीमा राखेर मात्र पार्टी जीवित रहन सक्दैन । कुनै पनि व्यक्ति राजनीतिक रूपले संलग्न हुने हो । व्यक्तिगत रूपमा कसैलाई मनाएर, फकाएर, आश्वासन दिएर, निजी स्वार्थ र हितको कुरा गरेर पार्टी चल्दैन । पार्टी चल्ने भनेको विचार, कार्यक्रमले हो । पार्टीको भविष्यको गन्तव्य जति स्पष्ट हुन्छ, त्यति नै बलियो र संगठित हुँदै जाने हो । त्यो कारणले पनि हामीलाई यो महाधिवेशन चाहिएको थियो 

। नेपालको वाम आन्दोलनमा हाम्रो ठाउँ कहाँ हो ? कसैले हेर्दा हाम्रो तौरतरिका, शैली, संगठन, बोली एमालेजस्तो । अर्को तरिकाले हेर्दा माओवादीजस्तो । एक तरिकाले हेर्दा यो पार्टी केवल पदका लागि जस्तो । केही मान्छे प्रधानमन्त्री होलान् अथवा केहीले नियुक्ति पाउलान्, त्यसका आसमा झुन्डिएजस्तो । यी सबै आशंका चिर्न र नेपालको वाम आन्दोलनमा हाम्रो ठाउँ सुनिश्चित गर्न, विचारका हिसाबले र त्यो विचार बोक्ने संगठनका हिसाबले पनि हाम्रो ठाउँ बनाउनका लागि यो महाधिवेशन गरेका हौं ।

एमालेबाट विद्रोह गरेको औचित्य गत निर्वाचन परिणामसँग पनि जोडिन्छ । विद्रोहदेखि निर्वाचन परिणामसँग जोडेर हेर्दा यो पार्टीको औचित्य पुष्टि भएको देखिएन नि ? किनकि एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न सकेन ।

विद्रोह आफैंमा राम्रो वा नराम्रो भन्ने हुँदैन । विद्रोह गर्नुपर्ने परिस्थिति त्यसले बोकेका एजेन्डा, हिँडेको बाटोजस्ता तमाम कुराले विद्रोहको औचित्यको कुरा हुन्छ । संगठन विस्तारका हिसाबले, राष्ट्रिय राजनीतिमा हाम्रो भूमिकाको हिसाबले हाम्रा केही सीमा छन् । त्योभन्दा बढी जीवन्त प्रश्न के हो भने आज नेपालको कम्युनिस्ट आन्दोलन चुनावदेखि चुनावसम्म र कुर्सीदेखि कुर्सीसम्म घुमिरहेको छ । यसको नेतृत्व, कार्यकर्ता पंक्ति सत्ताको तात्कालिक लाभहानिले बढी प्रभावित छ । यो जडताबाट पार्टीलाई निकाल्न सकिएन भने यसले राष्ट्रिय राजनीतिलाई नै निरन्तर नकारात्मक रूपले प्रभाव पारिरहेको हुन्छ । हामीले पनि कस्ता मान्छे उत्पादन गर्छौं ? पार्टीले कस्ता मान्छे उत्पादन गर्छ ?

सत्ताले राज्य दोहन गरेर खाने मान्छेहरू मात्रै उत्पादन गर्छ । यो लोकतन्त्र गणतन्त्रको समस्या हो । यो संविधान आइसकेपछिको राजनीतिपछिको समस्या हो । एक हिसाबले यो भविष्यका लागि पनि चुनौती हो । यसमाथि हामीले हस्तक्षेप गर्न सकेनौं भने वाम आन्दोलन र राम्रो पार्टीको औचित्य पुष्टि हुँदैन । त्यस अर्थमा यो पार्टी सानै पार्टी छ । यो पार्टीलाई आजको सत्ताको वरिपरि मात्रै केन्द्रित हुने र राज्य दोहन गरेर खाने देखिन्छ । आजको स्थापित राजनीतिक पार्टी र तिनका कार्यकर्ताको यो जुन चरित्र छ, यसबाट कति मुक्त गर्न सकिन्छ, कति हस्तक्षेप गर्न सकिन्छ भन्ने अर्थमा मैले बुझेको छु ।

एकैचोटि यो पूर्ण हुँदैन तर यसलाई हामीले अहिले खासगरी संगठनात्मक प्रस्तावमा प्रयत्न गरेका छौं । यो संसद्देखि संसद्सम्मको गोलचक्कर हो भने यो केवल पार्टीका नेताहरूको हितको स्वार्थको व्यवस्थापन गर्ने कमिटी मात्रै बन्छ । महाधिवेशनले चुन्ने कमिटी नेतृत्व भनेको त्यस्तै हुन्छ । त्यसबाट अलग र कमसेकम हामीले यस्तो पार्टी निर्माण गर्छौं, जुन भ्रष्टहरू उत्पादन गर्ने पार्टी हुने छैन । कम्युनिस्ट आन्दोलनको आशाको सानो फिलिंगो मात्रै बचाउन सकियो भने त्यसलाई विस्तार गरेर आन्दोलन पुनर्गठन गर्न सकिन्छ भन्ने आशा र विश्वास छ ।

अध्यक्ष माधवकुमार नेपालको नेतृत्वले विद्रोहको औचित्य पुष्टि गर्न कति सक्यो ? तपाईंले भनेको जस्तो लक्ष्य प्राप्त गर्न सक्ने सम्भावना कति देख्नुहुन्छ ?

२०७९ को स्थानीय चुनावपछि मैले भनेको थिएँ, राजनीतिमा ओलीजीको प्रयोग असफल भयो । त्यसैले अब यसलाई सुधार्ने बाटो खोज्नुपर्छ । एकीकृत समाजवादीले जे प्रयत्न गर्दै छ, धेरै अनुभव हामीले भोगेका छौं । धेरै शिक्षा लिएका छौं र धेरै क्षति व्यहोरेका पनि छौं । स्वयं माधव कमरेडले यो विद्रोहको औचित्य पुष्टि गर्ने कार्यकारी जिम्मेवारीबाट पार्टीको अभिभारा सुम्पिनुपर्छ । उहाँ सक्रिय अभिभावक रहिदिनुभयो भने हाम्रो आन्दोलनमा ठूलो योगदान हुन्छ ।

केही कमरेडहरू सर्वसम्मति–सर्वसम्मति भनिरहनुभएको छ, जुन भावनाको विरुद्धमा म छैन । तर सर्वसम्मतिका नाममा यथास्थितिमा निसासिएर सकिने हो कि पार्टीको समग्र प्रणालीमा पनि गति आउने विश्वास दिने हो ? आज जे छ वा इतिहासमा जे भयो, त्यसमा सन्तुष्ट हुने ? हामी सकिने हो कि भविष्यतर्फ हिँड्नका लागि प्रयत्न गर्ने हो ? त्यस अर्थमा नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा व्यक्तिका हिसाबले माधव कमरेडको सबैभन्दा सक्रियता होला । शारीरिक रूपले नै सक्रियताको हिसाबले भन्ने हो भने त अतुलनीय उहाँको योगदान रह्यो । अब उमेरको हिसाबले, योगदानको हिसाबले त्यो खालको सक्रियताबाट विश्राम लिने बेला भयो । र, उहाँ एकखालको सक्रिय अभिभावक हुनुपर्छ भन्या छु मैले । छोराबुहारीले दिएको खाने, बस्ने मात्र भनेको होइन ।

पिँढीमा लौरो लिएर बस्ने र दिनभरि के के भयो कारोबार, व्यवहार कस्तो भयो भनिरहने हो । किनभने माधव र झलनाथ कमरेड हाम्रो इतिहासको एउटा विरासत हो । उहाँहरूका योगदान आदि इत्यादि छँदै छन् । कम्युनिस्ट आन्दोलनमा सत्तामा पुगेपछि अन्तिमसम्म बस्ने चलन छ । चल्न सकुन्जेलसम्म, उठेर कुर्सीमा बस्न सक्ने होउन्जेलसम्म नछोड्ने, बसिराख्ने । यो कम्युनिस्ट आन्दोलनमा मात्रै होइन, सबै राजनीतिक पार्टीमा पदका लागि जे पनि गरिदिने प्रवृत्ति छ ।

सारा मूल्य मान्यता, नैतिकता सबै कुरा पदका लागि तिलाञ्जली दिइहाल्ने प्रचलन छ । त्यसका विरुद्धमा जनताको भयंकर आक्रोश छ, विभिन्न रूपमा त्यो प्रतिक्रिया भएको छ । त्यसैको प्रतिक्रिया हो नयाँनयाँ प्रयोग भएका छन् । यो के कारणले हो भन्दा नेपाली राजनीतिमा सत्तामा पुगेपछि ज्यान जाला नछोड्ने प्रवृत्ति छ । यो प्रवृत्तिको उपज दुर्गा प्रसाईं हो, बालेन हो, रवि हो, अरू हुन् । जोसँग विचार, सिद्धान्त, इतिहास केही पनि छैन तर पनि समाजले किन ठाउँ दिन्छ ? हामी धेरै बदनाम भइसकेका छौं । दलहरूको नेतृत्वमा परिवर्तन नभकाएका कारणले बदनाम भइरहेको छ ।

माधव नेपालको कुरा त गर्नुभयो, झलनाथ खनालले पनि अध्यक्षमा दाबी गरिरहेको भन्नुभएको छ । तपाईं पनि तयारी गर्दै हुनुहुन्छ । यो त्रिपक्षीय लडाइँ जस्तो देखियो नि ?

सबैलाई नेतृत्वमै बस्नुपर्ने नेपाली प्रवृत्ति छ । झलनाथ कमरेडलाई पनि मैले दाबी गरिनँ भने असान्दर्भिक हुन्छु कि भन्ने लाग्नु स्वाभाविक जस्तो लाग्छ । मैले दुवै कमरेडहरूसँग कुरा गरेको छु । उहाँहरूले मसँग इन्कार गर्नुभएको छैन । त्यसले गर्दा ‘म उम्मेदवार भएँ’ भन्छन् साथीहरू । मैले अहिलै दाबी गरेर, आमनेसामने भएर उभिएको देखाउनु किन पर्‍यो भन्ने मेरो भनाइ हो । तर रियालिटी के हो भन्दा समाजले ठूलो परिवर्तन खोजेको छ । त्यसलाई अनदेखा गर्‍यौं भने दुर्घटना हुन्छ ।

तपाईंले सार्वजनिक रूपमा अध्यक्षको दाबी नगर्नुको कारण के हो ?

औपचारिक रूपले भन्दा ‘म इच्छुक छु’ भनेको छु । नेताहरूको सम्मानका लागि सम्भवतः यस्तो कसैले पनि भन्दैन होला । मेरो कुरा सुन्दाखेरि मान्छेले यस्तो कमजोर भाषा बोल्यो, इच्छुक छु भन्छ दाबी पनि गर्दैन भन्ने पनि सोचेका छन् । साथीहरूले सिधासपाट एक लाइनमा भन्नुस् भन्छन् । तर राजनीतिक प्रक्रियामा यसको मनोविज्ञान छ, यसको संस्कृति छ । मैले नेताहरूप्रतिको सम्मानका लागि ‘मैले दाबी गरें, म उम्मेदवार हो’ भन्या छैन ।

त्यसको अर्थ म उम्मेदवारै होइन, मैले दाबी गरेको छैन भन्ने होइन । दाबी गर्नेबित्तिकै मैले जितिहाल्छु ? त्यसो पनि नहोला । दाबी गर्नेबित्तिकै कसैले पनि जित्दैन । जितिन्छ कि जित्नुपर्छ भन्ने कुराको सैद्धान्तिक पाटो पनि हुन्छ । जित्छु भन्नु मैले चलखेल आदि इत्यादि गरिसकेको छु भन्ने कुरा हो । जित्नुपर्छ भन्नुको अर्थचाहिँ म धेरै काम गर्न चाहन्छु भन्ने हो । आज मैले यो महाधिवेशनको प्रक्रियामा जसरी सोच्दै छु, यो विचार एजेन्डाले यथास्थितिले होइन । भविष्यले जित्नुपर्छ । इतिहासले र यथास्थितिले जित्ने हो भने एउटा निष्कर्ष निक्लन्छ । भविष्यले जित्ने हो भने हामी आउनुपर्छ, म आउनुपर्छ भन्ने मेरो दाबी हो ।

यो महाधिवेशनबाट अहिलेकै नेतृत्व कायम हुनुपर्छ भन्ने धारणा पनि आइरहेका छन् नि ?

ती साथीहरूमा सर्वसम्मत नेतृत्व चयन हुनुपर्छ भन्ने पनि छ । माधव र झलनाथ कमरेडको मानसम्मानमा तलमाथि हुनेछैन । पार्टीको एउटा राजनीतिक निर्देशनालय बनाऔं, उहाँहरू सर्वोच्च नेता हुनुस् । मानसम्मानमा कुनै कमी हुनेछैन । सक्रिय अभिभावक हुनुहोस्, सहभागितामा कुनै समस्या हुँदैन । भोलि अरू सम्भावना र अवसर राष्ट्रपति वा प्रधानमन्त्री हुने अवस्थामा उहाँहरू नै हुनुहुनेछ । पार्टी चलाउन हामीलाई दिनुस् भन्नुको अर्थ इतिहास र भविष्यको सन्तुलन पनि हो ।

यो मेरो प्रस्तावलाई कसैले पनि ठीक छैन भन्दैन । यसो गर्दा के हुन्छ भन्दा करिब शतप्रतिशतले ठीक भन्ने छन् । व्यक्ति हटाएर पार्टी यस्तो बनाउनुपर्छ भन्ने हो भने कसैको विमति हुँदैन । तर आम रूपमा भन्ने हो भने मैले अघि सारेको प्रस्तावमा सर्वसम्मत हुन्छ । हाम्रोमा इतिहास, नेताको व्यक्तिगत रूपमा अनेक भावना जोडिएको हुन्छ । विभिन्न आग्रह एकापसमा जोडिएका हुन्छन् । अब एकीकृत समाजवादीले नयाँ राजनीतिक ढोका खोल्नुपर्छ । नेतृत्व परिवर्तन, गतिशीलता र भविष्यको ढोका खोलिनुपर्छ । त्यसो भयो भने एमाले, कांग्रेस, माओवादीमा यो ढोका खोल्ने कुराको चर्चा हुनेछ । कमसेकम पार्टीको नेतृत्व परिवर्तन भयो भने पनि आशा जाग्थ्यो भन्ने बेला भइसकेको छ । यो समाजको साँचो कुरा हो ।

नेतृत्व परिवर्तनबारे कार्यकर्तामा कस्तो मनोविज्ञान पाउनुभएको छ ?

जुनसुकै पार्टीमा समाजका विभिन्न मान्छे आउँछन् । कोही विचारले आउँछन्, सामाजिक सुरक्षा, आर्थिक हितका लागि आउँछन् । अरू व्यक्तिगत सम्बन्धका कारण पनि पार्टीमा आउँछन् । एकीकृत समाजवादीमा पनि विभिन्न मान्छे छन् । यो पार्टी सत्ताबाटै जन्मेको पार्टी हो । यो पार्टीमा गयो भने मन्त्री भइन्छ, राजदूत भइन्छ, सांसद भइएला, ठेक्का पाइएला, के–के ठाउँ पाइएला भन्ने मान्छेहरू छन् ।

यो पार्टीले कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्ला, रूपान्तरण गर्ला, कम्युनिस्टको भविष्य सुनिश्चित गर्ला भनेर आउने पनि छन् । एउटै मान्छे क्रान्ति पनि चाहन्छ, आफ्नो समृद्धि पनि चाहन्छ । मूलभूत रूपले हामीले पुनर्गठन र रूपान्तरणको कुरा उठाएका हौं । त्यसैले समाजवादी क्रान्तिका लागि कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणमा तार्किक रूपले लागेका सबै कार्यकर्ताहरू नेतृत्व परिवर्तन गरेर जानुपर्छ भन्ने पक्षमा छन् । इतिहासलाई लखेटेर होइन, पूर्ण सम्मानका साथ नेतृत्व परिवर्तन गरेर जानुपर्छ भन्ने पक्षमा छन् । समर्थन गर्छन् भन्ने लाग्छ ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले तपाईंलाई समर्थन गरेको सत्य हो ?

उहाँसँग मेरो लामो समयदेखि सहकार्य छ । राजनीतिक र वैचारिक हिसाबले छलफल, बहस भएको छ । मलाई उहाँले लगाएको गुन के हो भने आठौं महाधिवेशनमा कम्युनिस्ट आन्दोलनमा संस्थागत रूपले बहस सुरु भयो । हिजोजस्तो सामन्तवाद रहेन, राजतन्त्रात्मक जमिनदारी व्यवस्था रहेन । अबचाहिँ नयाँ जनवाद/जनताको बहुदलीय जनवादको चरण सकियो, जनवादको बाटोमा जानुपर्छ भन्ने मूल वैचारिक प्रस्ताव मैले राखेको थिएँ । त्यतिखेर केन्द्रीय कमिटीको सदस्य थिएँ ।

उहाँको एउटा राजनीतिक दस्ताबेज थियो, मेरो फरक थियो । राजनीतिक र वैचारिक हिसाबले आधारभूत रूपमा फरक थियो । त्यो दस्ताबेज उहाँले महाधिवेशनमा प्रस्तुत गर्न दिनुभयो । नवौ महाधिवेशनमा जाँदा यी विचारलाई अघि लैजान तयार हुनुभयो । त्यस अर्थमा मेरो लामो सहयात्रा हो । समाजवादी कार्यक्रमलाई कसले बोक्न सक्छ भन्ने सन्दर्भमा घनश्यामले बोक्ने कुरा स्वाभाविक हो भन्ने कुरा उहाँले बुझ्नुभएको छ । अन्ततः म अध्यक्ष बन्ने, वातावरण मिलाउने कुरामा उहाँले सकारात्मक छु भन्नुभएको छ । महाधिवेशनमा जे गरिन्छ, सल्लाहमै गरौं भन्नुभएको हो ।

एमालेमा रहँदा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध १० नेताले संघर्ष गर्नुभयो, तीमध्ये नौ जना एमालेमै रहनुभयो । त्यसपछि तपाईं गत आमनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्नुभयो । एकीकृत समाजवादीमा अलि पछि प्रवेश गरेर महासचिव हुनुभयो । अहिले फेरि अध्यक्ष ताक्दै हुनुहुन्छ । एमालेबाट विद्रोह गरी बनाएको पार्टीमा पछि आएर नेतृत्व लिन खोज्नु अस्वाभाविक हो भनिन्छ नि ?

हामीलै अलग छौं भनेर झूटो कुरा गर्नु हुँदैन । संसद् पुनःस्थापना गर्ने बेला हामी १० भाइ एकै ठाउँमा थियौं । १० भाइलाई श्रेय दिनु हुँदैन भन्ने गलत कुरा हो । हामी १० भाइले चाहेको १० बुँदे लागू होस् भन्ने हो । त्यो १० बुँदेको आरम्भकर्ता म र विष्णु पौडेल हौं । हामीले एक/डेढ महिना छलफल गर्‍यौं । यो कुरा नेतृत्वले मान्नुहुन्छ भन्ने थियो । केपी र माधव नेपालले पनि मान्नुभयो । त्यसको संयुक्त कार्यदल पनि बन्यो ।

संसद् पुनःस्थापना भएपछि ओलीजीले त्यो १० बुँदे अदालतलाई प्रभाव पार्ने अर्थमा सोच्नुभयो । तर १० बुँदे विभाजित हुँदै गरेको पार्टी बचाउने उद्देश्य थियो । संसद् जब पुनःस्थापना भयो, ओलीजीका लागि त्यो काम नलाग्ने भयो । त्यसबेला उहाँले अदालतलाई प्रभाव पार्न खोज्नुभएको थियो । त्यो हुन दिइएन । त्यो हुन नदिएको मैले हो । त्यसको अगुवा म नै हो । पछि जब काम लागेन, ओलीजीले १० बुँदे लागू गर्न चाहनु भएन । जसका कारणले पार्टी विभाजन हुन पुग्यो । मचाहिँ १० बुँदे लागू गरेर पार्टी विभाजन हुनबाट जोगाऔं भन्ने पक्षमा थिएँ । माधव नेपाल ओलीबाट यो लागू हुँदैन भन्नेमा हुनुहुन्थ्यो । त्यो लागू गर्न, एमालेमै रहेर विद्रोहको अवस्था आउन नदिन ओलीजीसँग लडिरहें । आन्तरिक रूपमा मैले विद्रोह गरिरहेको थिएँ ।

एकीकृत समाजवादीको इतिहास २०६८ भदौ ८ बाट सुरु हुन्छ भनेर सुरु गर्‍यौं भने एउटा निष्कर्ष आउँछ । त्यो भन्ने हो भने म पछि प्रवेश गरेको हुँ । यदि कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको मुद्दा हो भने यसको इतिहास आठौं महाधिवेशनसम्म जान्छ । त्यसो हो भने यो विद्रोहको सबभन्दा अगुवा नेता म नै हो । यो तथ्य सबैले हेरे हुन्छ नि ?

कहिलेकाहीँ विद्रोहको भँगालो फाट्ने गर्छ, विद्रोहबाट कोही पछि भागेको हो ? माधव नेपाल र झलनाथ खनालसमक्ष मैले भनेको छु, विद्रोहको अगुवा म हो । तपाईंहरूभन्दा म लडेको छु । ममाथि लागेको आरोप निकट भएपछि तथ्य नबोल्ने, आफूलाई मन नपरेपछि तथ्य बंग्याउने कुरा हो । यो इतिहास नहेर्नेहरूले ममाथि लगाएको आरोप मात्र हो । मेरो लडाइँ कम्युनिस्ट आन्दोलनको रूपान्तरणका लागि हो । मैले धेरै पटक भनेको छु, मैले कहिलै पनि मन्त्री मागेको छैन । मन्त्री एक पटक भएँ ।

तपाईं पार्टीको नेतृत्वमा आए माधव नेपाल र झलनाथ खनाललाई राष्ट्रपति, प्रधानमन्त्रीका लागि सुनिश्चित गर्ने र आफूले पार्टी चलाउने प्रतिबद्धता गर्नुभएको हो ?

माधव कमरेड संसदीय दलको नेता हुनुहुन्छ, म सांसद छैन । यहाँ सरकारमा जाने उद्देश्य फरक छ । २०५१ सालमा पार्टी सरकारमा जाँदा जम्माजम्मी पार्टीको भावना हेरिन्थ्यो । राजनीतिक रूपान्तरण गर्न गएका थियौं । त्यसपछि त्यो भावनासाथ सरकारमा जाने कुरा कम छ । त्यसबेला पार्टीले सर्कुलर पठाएको थियो, तपाईंहरू आफैं डेलिगेसन लिएर नआनुस् । तपाईंहरूका योजना पार्टीले एकमुष्ट डिल गर्छ । त्यसबेला हरेक चिज संस्थागत गर्ने एउटा प्रणालीको विकास भएको थियो ।

पछि क्रमशः मन्त्री, प्रधानमन्त्री हुनका लागि विचार, सिद्धान्त, गुट बदल्ने एउटा प्रक्रिया सुरु भएको छ । हामीले बनाएको समाजवादी कार्यक्रमले एउटा दिशानिर्देश गर्नुपर्छ । प्रधानमन्त्री, मन्त्रीले त्यो कार्यक्रम लागू गर्नेछन् । त्यसका आधारमा मूल्यांकन हुनेछ । सरकारमा सहभागिता जनाउने भन्ने कुरा अवसर पाउने होइन, जिम्मेवारी पूरा गर्ने हो । म आफैं मन्त्री हुँदा भनेको थिएँ, मलाई घरभाडा परेको छैन । अलि ठूलो गाडी चढेको छु । उत्तरदायित्वका हिसाबले भने भयंकर तनावको काम हो । अबचाहिँ प्रधानमन्त्री र मन्त्रीको जिम्मेवारी फरक हुनेछ ।

माधव नेपाल ‘सेन्टर टु राइट’ र झलनाथ खनाल ‘सेन्टर टु लेफ्ट’ देखिनुहुन्छ, अर्थात् नेपाल कांग्रेससित समीकरण बनाउन सहज ठान्नुहुन्छ, तपाईंहरू एमाले, माओवादीसँग । यसरी हेर्दा पनि आधारभूत रूपमै वैचारिक मतभेद देखियो नि ?

हाम्रो गठबन्धनको सुरुवात कांग्रेससँग सुरु भयो । कांग्रेसप्रति अतिरिक्त अनुराग, प्रतिबद्धता रहने वस्तुगत अवस्था भयो । किनकि २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पार्टी विभाजन हुने प्रावधान बनाउने परिस्थिति कांग्रेसले बनाइदियो । त्यसका लहनतहन र मनौवैज्ञानिक प्रभाव हामीसँग छन् । अर्कोतिर विभाजनको आधार ओलीजीले बनाइदिएका हुनाले कांग्रेसतिर नजिक हुन बल दिएको छ ।

ओलीजीले धेरै गलत गर्नुभयो, त्यो प्रभाव रह्यो । अर्कोतिर कांग्रेसले हामीलाई नराम्ररी दुरुपयोग गर्‍यो । अस्ति राष्ट्रिय सभा निर्वाचनमा एमालेका नौ सिट खाली हुँदा एउटासमेत दिएन । यस्तो व्यवहार गर्दै गयो । हामीले कुरा गर्दा आफैं प्रधानमन्त्री हुने व्यक्तिले यस्तो कुरा गर्न हुन्छ ? भन्ने जवाफ आउँथ्यो । यसले गर्दा जेसुकै गर्दा एमाले ठीक भन्ने परिस्थिति बन्यो । हामी यी अवस्थामा सरकारमा जान्छौं, यी भएन भने सरकारमा जाँदैनौं भनेर राजनीतिक, वैचारिक, सैद्धान्तिक हिसाबले सीमा निर्धारण गरेनौं । यो महाधिवेशनपछि आगामी दिनमा यो परिचय हामी बदल्छौं । जनतालाई बताउन सक्ने गरी सरकारमा जाने कुरा तय गर्छौं ।

तपाईंले अध्यक्षको उम्मेदवारी दिँदा प्यानल नै बनाएर जानुहुन्छ कि एक्लै अघि बढ्नुहुन्छ ?

म क्रान्तिमा गोप्य कुरा गर्नु हुँदैन भन्छु । म त्यस्तो प्रत्यत्न गर्छु । अहिलेसम्मको अवस्था हेर्दा टिम बनाउने सोचेको छैन । उहाँहरूले कुरा बुझेर सर्वसम्मत गराउनुहुनेछ भन्ने अपेक्षा छ । टिम होइन, पार्टी बनाउनुपर्छ भन्ने पक्षमा म छु । उहाँहरूले मुलुकको चुनौती, समाजले खोजेको परिवर्तनको धुनलाई बुझ्नुहुन्छ भन्ने सोचेको छु ।

अध्यक्षमा माधव नेपालले नछाड्ने अवस्थामा तपाईं उम्मेदवार बन्नुहुन्छ ?

यो पार्टीको इतिहासलाई म सम्मान गर्छु । नेताको योगदानलाई सम्मान गर्छु । एरिस्टोटलको भनाइ छ, प्लेटो प्रिय छन्, सत्य अझै बढी प्रिय छ । मेरा लागि नेताहरू धेरै आदरयोग्य हुनुहुन्छ । तर मेरा लागि सत्य, यथार्थ भविष्य अझै प्रिय छ ।

प्रकाशित : असार १६, २०८१ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×