कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

बर्खामा राजधानी यात्रा : पहिरोले कति पिरोल्ला ?

रमेशकुमार पौडेल

चितवन — बर्खा लागेसँगै राजधानी जाने मुख्यमार्ग नारायणगढ–मुग्लिन सडकमा पहिरोको पिरलो सुरु भइहाल्छ । यो पटक पनि असार ८ देखि १८ गतेसम्म यो सडकमा सानाठूला तीनवटा पहिरो खसेर बाटो रोके । नारायणगढ–मुग्लिन सडकमात्रै हैन काठमाडौं पुग्ने पृथ्वीराजमार्ग र त्रिभुवन राजपथमा पनि बर्खायाममा पहिरोले बाटो थुन्ने हो कि भन्ने डर सुरु भएको छ । किनकि यो सडक खण्डमा विस्तारको काम चलिरहेको छ ।

बर्खामा राजधानी यात्रा : पहिरोले कति पिरोल्ला ?

विस्तारकै कामका लागि सडक आयोजना कार्यालयले त्रिभुवन राजपथको नौबिसे खण्ड बुधबार र बिहीबार राति १० देखि बिहान ३ बजेसम्म बन्द गर्‍यो । सडक कार्यालयका अधिकारीहरु यो समय अझै थपिन सक्ने बताउँछन् । पूर्वनिर्धारित यस्ता बन्दसँगै अपर्झट बाटो रोकिने समस्या पनि नआउने हैन । बा३ख २१५८ नम्बरको माइक्रोबस बिहीबार बिहान साढे ५ बजे नारायणगढबाट काठमाडौंका लागि छुटेको थियो । मझिमटार आउँदा पहिरो आयो भनेर एक घण्टा ४० मिनेट जति बाटोमा रोकिनु परेको चालक कुमार श्रेष्ठले सुनाए ।

२२ वर्षदेखि नारायणगढ काठमाडौं गाडी चलाउँदै आएका कुमारलाई आठ वर्षयता बर्खा लागेसँगै पहिरोले निकै दु:ख दिने गरेको छ । २०७२ मा नारायणगढ-मुग्लिन सडक विस्तारको काम सुरु भएसँगै पहिरोले दिन थालेको दु:ख अझै थामिएन भन्छन् उनी । ‘पृथ्वीराजमार्ग र त्रिभुवन राजपथ विस्तारका कारणले यो बर्खामा झन् के कति आपत पर्ने हो ?’ उनले आशंका गरे । धादिङ बैरेनीमा गत जेठमै लेदो र पहिरोले दु:ख दिएको हुँदा बर्खामा के होला भन्ने मनमा लागिरहेको उनले बताए । ‘नौबिसेबाट माथि लागेपछि पहिरोले नै बाटो नथुन्ला । तर त्योभन्दा तल खै के नै भन्न सकिएला,’ चालक श्रेष्ठले सुनाए ।

मुग्लिनदेखि मलेखु नागढुंगा सडक विस्तारको गति निकै सुस्त छ । नागढुंगा मुग्लिन सडक योजनाले यो सडकलाई तीन हिस्सा बनाएर विस्तारको काम गर्दै आएको छ । पूर्वी खण्डमा दुई हिस्सामा काम भइरहेको छ । नागढुंगादेखि नौबिसेसम्म एक खण्ड र नौबिसेदेखि मलेखुसम्म अर्को खण्ड बनाएर काम भइरहेको छ । त्यसैगरी नागढुंगा-मुग्लिन सडक योजनाको पश्चिम खण्डमा मलेखुदेखि मुग्लिनसम्मको सडक रहेको छ । नागढुंगा-नौबिसे खण्डमा विस्तारको काम पूरा भइसक्नु पर्थ्यो ।

त्रिभुवन राजपथको नागढुंगादेखि नौबिसेसम्मको १ नम्बर प्याकेजमा सडकको १२ किलोमिटर क्षेत्रमा विस्तारको काम भइरहेको छ । यो काम जून ८ अर्थात् गएको जेठ २६ मा सकिनु पर्थ्यो । तर हालसम्म कामको प्रगति जम्मा ५३ प्रतिशत हाराहारीमा रहेको नागढुंगा-मुग्लिन सडक योजना पूर्वी खण्डका सूचना अधिकारी रहेका इन्जिनियर तुलाकान्त चौधरीले जानकारी दिए । पाँच किलोमिटर सडक कालोपत्र पनि भएको छ । १ नम्बर प्याकेजमा पाँचवटा पुल बनाउनु पर्ने हुन्छ । नौबिसेको एउटा पुलको कामका लागि बुधबार र बिहीबार दुई दिन राति १० बजेपछि बाटो बन्द गरेको उनले बताए । बाँकी पुलका लागि पनि यसैगरी काम गर्नुपर्ने हुन्छ । ‘यो प्याकेज नम्बर १ मा पहिरोले दु:ख देला जस्तो लाग्दैन । उही पुलको कामका लागि केही दिन रातमा सडक बन्द भने गर्नुपर्ला,’ इन्जिनियर चौधरीले भने ।

प्याकेज नम्बर २ मा नौबिसेदेखि मलेखुसम्मको ४३ किलोमिटर सडक पर्छ । यो सडकको काम आउँदो वर्ष जून ८ अर्थात् जेठ २५/२६ मा पूरा हुनुपर्ने हो । तर हालसम्मको कामको प्रगति १८ प्रतिशत हाराहारीमा भएको इन्जिनियर चौधरीले जानकारी दिए । यो प्याकेजको धादिङ गल्छी गाउँपालिकामा पर्ने बैरेनी क्षेत्रमा पहिरो र लेदोको समस्याले जेठमै बाटो बन्द भएर हैरान पारेको थियो । ‘काम सुस्त छ । बैरेनीमा पहिरो र लेदो आएर जेठमै बाटो थुन्यो । मुख्य बर्खामा झनै के के होला ? तर जेठको भन्दा केही काम अहिले भएको छ दु:ख नहोला भनेर निर्माण व्यवसायीले भनेका छन्,’ गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले भने । पानीको निकासका लागि पर्याप्त काम भए झैं नदेखेको हुँदा बर्खामा ठूला गाडीलाई अप्ठ्यारो नभए पनि साना गाडी र मोटरसाइकललाई गाह्रो हुने उनले बताए ।

इन्जिनियर चौधरी बैरेनीमा जेठको भन्दा सुधार भएको हुँदा ठूलो समस्या नआउने दाबी गर्छन् । यो खण्डमा अन्यत्र पहिरो नजाने उनले बताए । पश्चिम खण्डमा पर्ने तीन नम्बर प्याकेजको ३९ किलोमिटरमा कामको प्रगति झनै सुस्त छ । यद्यपि सो सडकको विस्तारका कामका लागि अझै डेढ वर्षको समय बाँकी नै छ ।

यो प्याकेजमा १३ प्रतिशतको हाराहारीमा मात्रै काम भएको नागढुंगा-मुग्लिन सडक योजनाको पश्चिम खण्डका सूचना अधिकारी रहेका इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । यो सडक विस्तारको काम २०८२ पुस १५ सम्म सक्नुपर्ने हुन्छ । सडक विस्तार सुरु गरेको आधा समय बित्दा कामको प्रगति निकै नै न्यून देखिएको छ । यो खण्डमा पहिरोको ठूलो पिरलो नहोला भन्छन् इन्जिनियर आचार्य । ‘कामका लागि या कहिलेकाहीं ढुंगा र लेदो झरेर आधा घण्टादेखि डेढ घण्टासम्म बाटो रोकिएको छ । आउँदा दिनमा पनि त्यत्ति ठूलो समस्या नआउला,’ इन्जिनियर आचार्यले भने ।

पहिरोले समस्या पार्न सक्ने कृष्णभीर जस्ता ठाउँमा पहाड काट्दै नकाट्ने उनले बताए । ‘त्यसमाथि हामीले पहाड धेरै काटेका पनि छैनौं । मोड मिलाउन र पर्खाल लगाउन मात्रै हो । त्यसैले ठूलो समस्या आउला भन्ने लाग्दैन,’ आचार्यले भने ।

चितवनको मुग्लिनदेखि काठमाडौं नागढुंगासम्मको सडकको लम्बाइ ९४ दशमलब ८० किलोमिटर छ । यो दुरीमा दुईवटा सडक खण्ड मिसिएका छन् । मुग्लिनदेखि नागढुंगा सडकमा पृथ्वीराजमार्गको ८२ दशमलब ४० किलो मिटर र त्रिभुवन राजपथको १२ दशमलब ४० किलोमिटर दूरी पर्छ । बजार र सहज ठाउँमा ६ देखि सात लेनसम्मको सडक बनाउने योजना छ ।

अप्ठ्यारो र भौगोलिक रुपमा कठिन ठाउँमा स्तरीय दुई लेनकै सडक कायम गर्ने इन्जिनियर आचार्यले बताए । पाँच प्रतिशतभन्दा बढी उकालोमा तीन लेनको सडक बन्ने छ । सामान ढुवानी गर्ने ठूला ट्रकलाई उकालोमा छुट्टै लेन दिन तीन लेनको सडक बनाउन लागेका हो । पृथ्वी राजमार्ग बनेको ३० वर्षभन्दा बढी भए पनि सामान्य मर्मत मात्रै हुँदै आएको थियो । त्यसैले पुरानो खण्ड भत्काएर बलियो बनाउन लागेको आचार्यले बताए ।

उता विस्तारको काम सकिएको लामो समय भए पनि नारायणगढ-मुग्लिन सडकमा पहिरोको पिरलो कायमै छ । यो बर्खामा ठूलो पहिरो जान सक्ने सम्भावित चार ठाउँ मौरीपुल, नाम्सी पुल, कालिखोला र तुइन खोलामा मेसिन (उपकरण) तयारी अवस्थामा राखेको भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी रहेका इन्जिनियर चन्देश्वर साहले बताए । तर असार लागेपछि यी ठाउँभन्दा अन्यत्र नै पहिरो खसिसकेको छ ।


पहिरो जान सक्ने सम्भावित ठाउँमा डिभिजन सडक कार्यालयले औजार उपकरणहरु तयारी अवस्थामा रहेको छ । तस्बिर सौजन्य : भरतपुर सडक डिभिजन कार्यालय ।

प्रकाशित : असार २०, २०८१ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×