कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

सरस्वती मावि र रानी आधारभुत विद्यालयलाई शैक्षिक अवार्ड

आनन्द गौतम

ताप्लेजुङ — ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालको कार्य क्षेत्रमा सञ्चालित विद्यालयमध्ये सरस्वती माध्यमिक विद्यालय तापेथोक र रानी आधारभुत विद्यालय खानी यो वर्षका उत्कृष्ट घोषित भएका छन् । यी दुवै फक्ताङलुङ गाउँपालिकाका विद्यालय हुन् । उनीहरुले ४५ हजारका दरले पुरस्कार पनि प्राप्त गरेका छन् । 

सरस्वती मावि र रानी आधारभुत विद्यालयलाई शैक्षिक अवार्ड

ताप्लेजुङमा रहेको बिश्वको तेश्रो अग्लो हिमाल कञ्चनजंघा (८,५८६ मिटर) का पहिलो आरोही बेलायती नागरिक जर्ज बेण्डद्वारा स्थापना गरिएको हिमालयन ट्रष्ट युकेले रिड नेपाल मार्फत कञ्चनजंघा आधार क्षेत्रमा रहेका फक्ताङलुङ र सिरिजंगा गाउँपालिकाका ३२ विद्यालयलाई शैक्षिक सहयोग गर्दै आएको छ ।

२०८० सालको शैक्षिक गतिविधि, विद्यालयको नियमितता, लगनशिलता लगायतका क्षेत्रलाई आधार मानेर पुरस्कृत गरेको हो । रिडले यो पुरस्कार ८ वर्षदेखि प्रदान गर्दै आएको छ । विद्यालयको अलावा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक र बिद्यार्थीहरु समेत पुरस्कृत हुने गरेका छन् । फक्ताङलुङ गाउँपालिका-४ इखाबुको रानी आधारभूत विद्यालय आठ वर्षदेखि उत्कृष्ट हुँदै आएको थियो ।

यो पटक भने सरस्वती माध्यमिक विद्यालयले पनि समान अंक प्राप्त गरेपछि दुबै विद्यालयलाई ‘बेष्ट पर्फमिङ विद्यालय’ को रुपमा पुरस्कृत गरिएको रिड नेपालका प्रबन्धक राजेन्द्र पन्तले जानकारी दिए ।

सिरिजङ्गा गाउँपालिका-८ याम्फुदिनको कञ्चनजंघा माध्यमिक विद्यालय र फक्ताङलुङ गाउँपालिका-४ इखाबुको सुनदेवी माध्यमिक विद्यालय नगद ३० हजार रुपैयाँ सहित ‘स्टार स्कुल अवार्ड’ र ‘एक्सिलेन्ट रिजल्ट स्कुल अवार्ड एसईई २०८०’ बाट पुरस्कृत भएका छन् ।

विद्यालय व्यवस्थापन समितितर्फ सिरिजङ्गा-६ खेवाङको गणेश माविका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष नेत्रकुमार आचार्य र फक्ताङलुङ-५ को बिपुधाम आधारभूत विद्यालयका अध्यक्ष इन्द्रप्रकाश लिम्बू जनही ५ हजार रुपैयाँ सहित ‘एसएमसी अवार्ड २०८०’ बाट पुरस्कृत भएका छन् ।

स्रोत शिक्षकतर्फ गणेश माविकै प्रधानाध्यापक रामकुमार लिम्बू, खेवाङकै पाथीभरा महादेव आधारभूत विद्यालयका बिन्दुकला लिम्बू र फक्ताङलुङ ४ तापेथोकको पार्वती माध्यमिक विद्यालयका कमलकुमार हेल्लोक नगद ५ हजार सहित पुरस्कृत भए । उनिहरुले ‘आरएलटी अवार्ड पाएको पन्त बताउँछन । चार जनाले प्राप्त गर्ने ‘स्टार टिचर अवार्ड २०८०’ बाट सिरिजङ्गाको कञ्चनजंघा माबिका लक्ष्मीप्रसाद लिम्बू, फक्ताङलुङको बिपुधाम आधारभूत विद्यालयका बिरेशमान वनेम, इखाबुको सुनदेवी माविका सन्तोष राई पुरस्कृत भए ।

बाल विकास शिक्षकतर्फ खेवाङको महेन्द्र आधारभूत विद्यालयका रमादेवी बिश्वकर्मा पुरस्कृत भइन् । विद्यालय कर्मचारीतर्फ सरस्वती माविका कार्यालय सहयोगी रनबहादुर लिम्बूलाई पुरस्कृत गरियो । उनीहरुले पनि ५ हजारका दरले नगद पाए । हरेक विद्यालयका एक जनाका दरले ३२ जना बिद्यार्थीलाई समेत पुरस्कृत गरिएको छ ।

यो संस्थाले १६ वर्ष देखि यी पालिकामा शैक्षिक कार्यक्रम गर्दै आएको छ । फक्ताङलुङ गाउँपालिका-४ इखावु, ५ तापेथोक, ६ लेलेप र वडा नं ७ ओलाङचुङगोलामा कार्यक्रम सञ्चालित छ । सिरिजङ्गा गाउँपालिका-६ मामाङखे, ७ खेवाङ र ८ याम्फुदिन कार्यक्षेत्र रहेको छ ।

पुरस्कार बितरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराई, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख योगेश्वर भट्टराई संस्थाका संस्थापक अध्यक्ष भीम बोगटी लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित : असार २०, २०८१ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×