कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

भोजपुर पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

रासस

टक्सार (भोजपुर) — कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका मापदण्ड पूरा गरी उक्त घोषणा गरिसकेका थिए । 

जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ राईले आज जिल्लालाई औपचारिकरुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरे ।

जन्मिएदेखि १५ महिनासम्मका बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै १३ किसिमका खोप लगाएको पाइपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख राजुकुमार श्रेष्ठले बताए । उनले भने, “आगामी दिनमा पनि सबै बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका खोप लगाउन सबैको समन्वय र सहकार्य आवश्यक छ ।”

आगामी दिनमा खोप अभियानलाई निरन्तरता दिँदै खोप लगाउनबाट कसैलाई पनि वञ्चित नगरिने बताउँदै खोप समन्वय समितिका संयोजक राईले महिला स्वास्थ्य स्वयम्सेविका र स्वास्थ्यकर्मीले गरेको सहयोगको प्रशंसा गरे । “पहिलो चरणमा गाली खाने महिला स्वास्थ्य स्वयम्सेविका भएकाले उहाँहरुले पूर्ण खोप घोषणाका लागि गर्नुभएको काम निकै उदाहरणीय र प्रशंसायोग्य छ”, उनले भने ।

सो अवसरमा जिल्लाका नौ वटै स्थानीय तहलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ । प्रदेशभित्रका १४ जिल्लामध्ये भोजपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छैटौँ जिल्ला हो ।

प्रकाशित : असार २१, २०८१ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×