पाथीभरा दर्शन गरेर फर्किएकी झापाको बिर्तामोड नगरपालिका ५ बुट्टाबारीकी ३३ वर्षीया माया लिम्बू बराइली मृत भेटिएकी छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङको तोक्मेस्थित कफी सप होटलमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो ।
पूर्वसहमति विपरीत नेपाली कांग्रेसले ताप्लेजुङ जिल्ला समन्वय समितिको उपप्रमुख नेकपा (एकीकृत समाजवादी) लाई नदिने भएको छ । स्थानीय तह निर्वाचन पहिले सरकारमा रहेका दलहरूबीच ताप्लेजुङमा जिल्ला समन्वय समिति संयोजक माओवादी केन्द्र र उपप्रमुख एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो ।
जिल्लाको सिदिङ्वा गाउँपालिका ४ साब्लाखुको वडाध्यक्षमा संघीय लोकतात्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बूवान राज्य परिषद्का पूर्णकुमार ताम्लिङ विजयी भएका छन ।
ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका युक हांवीर हांगाम अध्यक्षमा विजयी भएका छन् । नेकपा (एकीकृत समाजवादी) का दुर्गाप्रसाद श्रेङचोङवाङ उपाध्यक्षमा निर्वाचित भएका छन् ।
आठराई त्रिवेणी गाउँपालिकामा झण्डै चार घण्टादेखि मतगणना कार्य अवरुद्ध भएको छ । मतपत्रमा स्वस्तिक छापको मसी लत्पत्तिएको र छाप कोठाभन्दा बाहिर छोएको देखिएको विषयमा विवाद भएको हो ।
नेकपा (एमाले)ले मेरिङदेन गाउँपालिका वडा नम्बर ६ मा एमालेले अध्यक्ष जितेको छ । मेरिङदेन गाउँपालिका ६ नाल्बुमा सम्पन्न मतगणनामा वडाध्यक्ष र सदस्यहरू एमालेको प्यानलै विजयी भएका छन् ।
६० मतदाता रहेको ताप्लेजुङको हिमाली बस्ती याङमामा १४ मत मात्रै खसेको छ । १० पुरुष र ४ महिलाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताए । यहाँ १६ मत झर्ने अपेक्षा गरिएको थियो । घुन्साका दुई मतदाता नगएपछि मत कम भएको हो । २०७४ को निर्वाचनमा यहाँ २४ मत खसेको थियो ।
ताप्लेजुङको फक्ताङलुङ गाउॅपालिका–६, घुन्सामा मतदान कार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय एक युवकको मृत्यु भएपछि अन्तिम संस्कारमा सहभागी हुँदा विहान चार घण्टासम्म मतदान केन्द्रमा मतदाताहरू आएका थिएनन् । तर, ११ बजेपछि मतदाताहरू मतदानस्थल पुगेका छन् । अहिले करिब एक घण्टाको अवधिमा ७० जनाले मतदान गरिसकेका छन् ।
फक्ताङलुङ गाउँपालिका ६ लेलेप घुन्सामा बिहान साढे ९ बजेसम्म मतदान भएको छैन । आफूलगायत टोली प्रतीक्षामा बसे पनि मतदाता नआएको मतदान अधिकृत गंगाबहादुर इङनामले बताए । राजनीतिक दलका प्रतिनिधिले मतदान गराउने मुचुल्कामा दस्तखत भने गरिदिएका छन् ।