पहिरोले ताप्लेजुङमा ३ घर र एक जलविद्युत्‌ आयोजनमा क्षति

मिक्वाखोला गाउँपालिकामा रहेको मध्यमेवा जलविद्युत आयोजना पनि बाढीले क्षति पुर्याएको प्रहरीले जनाएको छ ।

असार ८, २०८३

आनन्द गौतम

Landslide damages 3 houses and a hydroelectric project in Taplejung

ताप्लेजुङ — वर्षासँगै आएको पहिरो र बाढीबाट ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा ३ घरमा क्षति पुगेको छ ।

यस्तै मेरिङ्देन गाउँपालिकामा रहेको एक जलविद्युत् आयोजनामा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।

फक्ताङलुङ गाउँपालिका-१ साँवादिनका वडाध्यक्ष यज्ञप्रसाद सावादेनका अनुसार उक्त वडाको तेम्रङ भन्ने स्थानमा घरमाथिबाट झरेको पहिरोले गणेश कटवाल र दुर्गा कटवालको घरमा क्षति पुर्‌याएको छ । गणेशको जग्गामा घर बनाएर बसोबास गर्दै आएका नरेन्द्र लिम्बुको बाख्रालगायतका पशुचौपाया बगाउनुका साथै घर र शौचालयमा पनि क्षति पुर्‌याएको वडाध्यक्ष सावादेनले जानकारी दिए । 

गणेश र दुर्गा दाजुभाइ हुन् । उनीहरूको घरमाथि रहेको भीरको फेदबाट पहिरो झरेको र पहिरोसँगै बाढी घरभित्रै पसेको सावदेनले जानकारी दिए । 

मिक्वाखोला गाउँपालिकामा रहेको मध्यमेवा जलविद्युत आयोजना पनि बाढीले क्षति पुर्याएको प्रहरीले जनाएको छ । बाढीका कारण आयोजनाको बाँधमा क्षति पुगेको छ ।

सोमबार बिहानको वर्षा र पहिरोका कारण अवरुद्ध मेरिङदेन गाउँपालिका-५ थुकिमा र ६ नम्बर वडा नाल्बु जोड्ने सडक भने दिउँसोदेखि सञ्चालनमा आएको छ । अवरोध हटाइ सडक सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएका छन् ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully