आइतबार भएको प्रतियोगितामा बिशाल राईले ५ घण्टा ३० मिनेट ८ सेकेण्डमा निर्धारित ४२ किलोमिटर दूरी पार गरेका हुन् ।
What you should know
ताप्लेजुङ — पाँचथरको फिदिम नगरपालिकाका बिशाल राईले कञ्चनजंघा साहसिक म्याराथन प्रतियोगिताको उपाधि जितेका छन् ।
आइतबार भएको प्रतियोगितामा उनले ५ घण्टा ३० मिनेट ८ सेकेण्डमा निर्धारित ४२ किलोमिटर दूरी पार गरेका हुन् । १७ सय मिटर उचाइको याम्फुदिनबाट सुरु भएर ४२ सय मिटरमा पुगेर पुन: त्यही ठाउँमा फर्कनुपर्ने थियो।
बिशाललाई कडा चुनौती दिएका ताप्लेजुडकै सिरिजंगा गाउँपालिका–५ पेदाडका बिभिषण लिम्बू दोस्रो भए । उनले ५ घण्टा ३१ मिनेट २० सेकेण्डमा निर्धारित दुरी पार गरे । उनी उपाधि विजेता राई भन्दा १ मिनेट १२ सेकेण्ड ढिलो भए । पाँचथरकै प्रताप थाम्सोहाड तेस्रो भए । उनले ५ घण्टा ४१ मिनेट ३३ सेकेण्डमा दूरी पार गरे ।
सिरिजंघा पर्यटन महोत्सव २०८३ अन्तर्गत भएको प्रतिष्पर्धामा २४ जना पुरुष सहभागी थिए । आइतबार बिहान ७ बजेर ४० मिनेटमा दौड सुरु भएको थियो । प्रतियोगितामा बिभागीय टोली त्रिभुवन आर्मी क्लबदेखि काठमाडौं, भोजपुर, ओखलढुंगा, पाँचथर, तेह्थुमलगायत बिभिन्न जिल्लाका धावक सहभागी थिए ।
प्रतियोगिताको संयोजन गरेका अमिर राईका अनुसार बिजेताले १ सय १६ तोला चाँदीजडित ट्रफीसहित १ लाख ८ हजार ५८६ नगद प्राप्त गरेका छन् । दोस्रोले ५८ हजार ५ सय ८६ र तेस्रोले २८ हजार ५ सय ८६ रुपैयाँ प्राप्त गरेका छन् ।
सिरिजंगा गाउँपालिका तथा अन्य संघसंस्थाको सहयोगमा जेठ १५ देखि सञ्चालित पर्यटन महोत्सव समापनको दिन म्याराथन प्रतियोगिता आयोजना गरिएको हो । महोत्सव सिनाम युनाइटेड खेलकुद तथा सांस्कृतिक क्लबको आयोजनामा भएको हो ।
क्लबका सचिव नरेश गुरुङका अनुसार उच्च हिमाली क्षेत्र र हाइअल्टिच्युटमा प्रतियोगिता भएकाले ३५ जना बढी स्वयंसेवक परिचालन गरिएको थियो । क्विक रेस्क्यु टिम, एम्बुलेन्स, स्वास्थ्यकर्मीलगायतको व्यवस्थापनसहित उच्च हिमाली क्षेत्रमा प्रतियोगिता सञ्चालन गरिएको उनले जानकारी दिए ।
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको प्रचारप्रसार गर्ने उद्देश्यले आयोजित महोत्सव तथा म्याराथन गत वर्षदेखि सुरु भएको हो । राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागितामा आइतबार सांगीतिक साँझ प्रस्तुत भएपछि यस वर्षको महोत्सव सम्पन्न हुने छ ।
