हिउँद-बर्खामै थुनिन्छन् हिमाली बस्ती, विकासका काम दुई महिना मात्रै

मंसिरपछि प्राय: हिउँले ढाकिने बस्तीमा बर्खामा पहिरो र बाढीको जोखिम हुन्छ, वैशाखपछि विकास निर्माणका काम छोटो समयमा सक्नुपर्ने बाध्यता हिमाली क्षेत्रका बासिन्दामा छ ।

असार १५, २०८३

आनन्द गौतम

Himalayan settlements are locked in winter and monsoon, development work only lasts for two months

What you should know

ताप्लेजुङ — ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुङगोलाका नुपु शेर्पाले शनिबार दुई महिनापछि साथीहरुसित गफ गर्ने फुर्सद पाए । बिहान चौंरी, याकलाई घाँस–खोले दिने, घरको बन्दोबस्त मिलाएर दिनभरि गाउँको ढल, बाटो बनाइरहेका उनले बल्ल फुर्सद पाएका हुन् ।

उनको गाउँमा ढल र बाटो निर्माणका लागि यो वर्ष वडा कार्यालयले ९ लाख रुपैयाँ विनियोजन गरेको थियो । ‘गाउँमा योजनाको काम अब सकिँदै गयो, समितिको मान्छेले पालिका गएर विलभरपाइ पेश गरी भुक्तानी लिएर आउँछन् । काम गरेको पैसा बाँडेपछि बल्ल पूरै फुर्सद हुन्छ,’ नुपुले भने । सामान्यतया यहाँ दिनभरी काम गरे एक हजार रुपैयाँ ज्याला पाइन्छ । तर आफ्नै वडाको बजेट कार्यान्वयन गर्नुपर्ने र स्टिमेट अनुसारको काम गर्नुपर्ने भएकाले त्यो अनुसारको रकम नबस्ने नुपु बताउँछन् ।

फक्ताङलुङ–७ का वडाध्यक्ष छेतेन शेर्पा लामासहित वडा सदस्यहरु पालिकाको केन्द्र तापेथोक झरिसकेका छन् । आगामी आर्थिक वर्षको बजेटमा आफ्नो वडाले पाउने रकम सुनिश्चित गर्न उनीहरु पालिका झरेका हुन् । वडाले आगामी वर्षमा पाउने रकम के काममा लगाउने भन्ने विषयमा गाउँमा छलफल पनि गरिसकेका छन् ।

३१ सय मिटर उचाइमा रहेको मिक्वाखोला गाउँपालिका ५ पापुङ तोक्पेगोलाको सोदो पोखरीमा मुर्ती राख्ने काम भर्खरै सम्पन्न भएको छ । गाउँपालिका र अमेरिकामा रहेका नेपालीको सहयोगमा वडा कार्यालयले यहा मुर्ती राख्ने स्थान निर्माण गरेका हुन् । वडासदस्य तोप्ला शेर्पाका अनुसार उपल्लो बस्तीको यो सबैभन्दा ठूलो योजना हो । यसमा तोक्पेगोलामा बसोबास गर्ने सबै १३ परिवारका सदस्यदेखि एक दिनको पैदलमा रहेको पापुङको बस्तीका बासिन्दा पनि सहभागी थिए । 

तीन हजार मिटर भन्दा माथिका हिमाली बस्तीमा यतिबेला चहलपहल हुने गरेको छ । हिउँदभरि खाली हुने हिमाली बस्तीहरुमा वैशाखपछि मात्रै मानवीय गतिविधि हुने गरेको हो । यी बस्तीमा विकास निर्माणका काम पनि यतिबेला मात्रै हुने गरेका छन् । जिल्लामा ओलाङचुङगोला, घुन्सा, फले, तोक्पेगोला ३१ सय मिटर उचाइका हिमाली बस्ती छन् । याङमा, खम्बाछेन ४२ मिटर उचाइमा छन् । यहाँ भन्दा माथि बस्ती छैनन् । 

हिउँदमा यी अधिकांश बस्ती सुनसान हुन्छन् । धेरै मानिस चिसो छल्न औलतिर झर्छन् । फागुनपछि बल्ल उकालो चढ्न थाल्छन् । वैशाखदेखि भदौसम्म ढुक्कै गाउँमा बस्छन् । यहाँका विद्यालय, सरकारी कार्यालय पनि बर्खायाममा मात्रै नियमित खुल्छन् । ‘जत्रो पानी, झरी परे पनि हामीले यतिबेला काम गर्नैपर्ने हुन्छ,’ नुपुले भने, ‘हिउँदमा हिउँले काम गर्ने ठाउँ पूरै छोपिदिन्छ, बर्खामा पानी परे पनि कम्तीमा काम गर्ने ठाउँ त क्लियर हुन्छ ।’ 

विकास निर्माणका योजना सञ्चालन गर्दा गाउँलेले समूह बनाएर काम गर्छन् । बस्तीबाट टाढा गएर काम गर्नुपर्ने भए टेन्ट, खाना पकाउने भाँडा, चामल, तरकारी लिएर जान्छन् । ‘जहाँ काम छ त्यही गएर बस्नु पर्छ र बिहान उज्यालो भएदेखि साँझ आँखा देखिने बेलासम्म काम गर्नु पर्छ,’ वडाध्यक्ष छेतेनले थपे, ‘गाउँलेले दैनिक १३/१४ घण्टाचाँही अनिवार्य काम गर्छन्, यसरी गरिएन भने यतातिर त कामै सक्न सम्भव हुँदैन ।’ 

Himalayan settlements are locked in winter and monsoon, development work only lasts for two months

यसरी काम गर्दा चिया, खाना पकाउने, सामान ओसार्ने र अन्य काम गर्नेको टुंगो पहिल्यै लगाइन्छ । त्यही अनुसार सबैले आ–आफ्नो काम गर्ने छेतेन बताउँछन् । छोटो समयमा सक्नुपर्ने भएकाले हरेकजसो घरबाट बालबच्चा र पशुचौपाया हेर्ने काम थोरे व्यक्तिको जिम्मा लगाएर निष्कने निवर्तमान वडाध्यक्ष छेतेन शेर्पा भोटेले जानकारी दिए । 
हिमाली बस्तीमा प्राय: योजना गोरेटो बाटो, पुल निर्माणलगायतका हुन्छन् । ‘भूगोल ठूलो छ, यो वर्ष एक ठाउँमा गर्यो अर्को वर्ष अर्को ठाउँमा गर्नुपर्ने हुन्छ । बजेट पनि सानो हुन्छ, काम पनि यस्तै उस्तैमा सकिन्छ,’ मिक्वाखोला–५ का वडासदस्य शेर्पाले भने, ‘हिमाली क्षेत्रका बासिन्दाको जनजीवन फरक किसिमको छ । गाउँमै बस्ने भए मंसिरदेखि फागुनसम्म हात बाँधेर मौन भएर बस्नुपर्छ ।’ 

मंसिरदेखि हिउँ पर्ने भएकाले खेतीपातीलगायतका प्राय: केही काम हुँदैनन् । कुनै वर्ष कात्तिकदेखि नै गाउँ छोड्नुपर्ने उनले बताए । पछिल्ला वर्ष वैशाख, जेठमै पनि हिउँ पर्ने भएकाले स्थानीयमा चिन्ता बढेको छ । हिउँको सामना गर्न मानिसकालागि खाद्यान्न र लत्ताकपडा, पशुचौपायकालागि घाँस, पराल, कुटोको ब्यवस्थापन गर्नु पर्छ । बस्ती बाहिर वैकल्पिक व्यवस्थापन गर्नु पर्छ । हिउँसँग संघर्ष गर्न नचाहनेहरु गाउँ छोड्छन् । उनीहरु जिल्ला सदरमुकाम, काठमाडौं, भारतको दार्जेलिङ, सिक्किमलगायतका स्थानमा जान्छन् । अधिकांशले यो बेला आफन्तको खोजी गर्छन् र दुई/तीन महिना त्यतै बस्छन् । नभएकाहरु डेरा लिएर पनि बस्छन् ।

यस अवधिमा खाद्यान्न अभाव नहुनेगरी तयारी गर्नुपर्छ । चामल, दाल, नुन, तेललगायतका खाद्यबस्तु घरमा जोहो गर्नुपर्छ । चौंरी, याक जस्ता चौपायकालागि उवा, गहुँ, जौंको डाँठ छुसाङ, छिलिङ जस्ता जंगली घाँस भेला पारेर राख्छन् । खोलेका लागि मकैका खोस्टा, मकैको डाँठ काटेर लेलेपको बस्तीबाट पनि लाने गर्छन् । ‘बर्खामा पनि बेलाबेलै गाउँलेले थुनिएर बस्नुपर्छ,’ वडाध्यक्ष छेतेनले भने, ‘खोला बाढीले पुल बगाएर लगिदिन्छ । पैदल हिँड्ने बाटो प्राय: सद्धे हुँदैन । पानी नरोकिएसम्म बनाएर पनि साध्य हुँदैन । त्यसैले बर्खामा पनि जतिबेला र जति लामो समयसम्म पनि थुनिन सक्छु भन्ने गरी तयारी हुनुपर्छ ।’ 

ओलाङचुङगोलादेखि सदरमुकाम फुङलिङ आउने पैदल मार्ग, पुल नहुँदा आफु धेरै पटक घुन्सा, पापुङ घुमेर सदरमुकाम फुङलिङ पुगेको छेतेन बताउँछन् । बाटो, पुल भए एकदिनको यात्राकालागि इमर्जेन्सीमा पाँच दिनसम्म घुमेर पुग्नु परेको उनले सुनाए । हिउँद होस् या बर्खा कम्तीमा दुई/तीन महिनाकालागि खाद्यान्न जोहो गर्नैपर्ने स्थानीय सुनाउँछन् । ओलाङचुङगोलामा ६२, याङमामा ११, फलेमा ३३, घुन्सामा ४४, तोक्पेगोलामा १३ परिवारको बसोबास छ । 

हिउँदमा हिउँ या बर्खामा पानीका कारण एउटाबाट अर्को बस्तीमा पुग्न पनि कठिन छ । एकबाट अर्को बस्तीमा जान दर्जनौं भञ्ज्याङ छिचोल्नु पर्छ । हरेकजसो भञ्ज्याङमा हिउँदमा हिउँ र बर्खामा पानीले पहिरो बनाएको हुन्छ । हिउँपरेका बेला उकालो चढ्न सकिदैन, लेक लाग्ने जोखिम पनि धेरै हुन्छ । बर्खामा पानी परे पहिरो झर्ने, ढुंगा खस्ने जोखिम हुन्छ । यी बस्तीको नजिकको ब्यापारिक केन्द्र तिब्बतको रिउ भएकाले कतिपयले उतैबाट र कतिपयले बर्खाकालागि सदरमुकाम फुङलिङबाट सामान लगेर जोहो गर्छन् । कसैको खाद्यान्न बीचैमा सकिए पैंचो चलाउनुपर्ने र बाटो खुलेपछि ल्याएर तिर्ने प्रचलन छ ।

Himalayan settlements are locked in winter and monsoon, development work only lasts for two months

ओलाङचुङगोलाका ब्यापारी दावाएण्ड लामाले भने, ‘बिस्कुट, चाउचाउ, साबुन जस्ता सामानको ब्यापार हरेक बस्तीमा छ । तर चामल, पिठो, दाल, बिक्रीका लागि राख्दैनन् । प्रत्येक घरले बाहिरबाट ल्याएर लामो समयकालागि आफैंले बन्दोबस्त मिलाएर हुन्छन् ।’    

सबै मानवीय बस्तीहरु वरिपरी डाँडाँले घेरिएर बीचमा रहेको समथर भू–भागमा छन् । त्यस्तो ठाउँमा हिउँदमा धेरै हिउँ थुप्रन्छ र बिलाउन पनि धेरै समय लाग्छ । बर्खामा पानीको भेल बहन्छ । ओलाङचुङगोलाका टाँसी लामाले भने, ‘हिउँदमा  दिउँसो एक छिन मात्रै घाम लाग्छ । घरभित्रै आगो तापेर बस्नुपर्छ । बर्खामा पनि वर्षाले डिस्टर्ब गरिरहने भएकाले दाउराको प्रयोग धेरै हुन्छ ।’ घाँस र दुहुना चौपाया तथा बाच्छाबाच्छी घरको भूइँ तलामा राख्ने गरी बनाइएको हुन्छ । मानिस दोस्रो तलामा बस्छन् । गाहे र काठले बनाएका घरमा तेस्रो तला हुँदैन । दोस्रो तलाको प्राय: बीचतिर बनाइएको चुलोमा दाउरा बालेपछि परिवारका सदस्य वरिपरी गोलो लागेर बस्छन् । 

हिउँ पर्ने बेला यहाँ पानीका धारा पनि जमन्छन् । स्थानीयले पानी भर्न तमोर, घुन्सा जस्ता ठूला खोला/नदीमा पुग्नुपर्छ । खानेपानीका पाइप जाम भएका बेला धाराको पानी खुलाउन थर्मशमा तातोपानी बोकेर जानुपर्छ । तातोले जमेको हिउँ बिलाएपछि बल्ल धारा बग्न थाल्छ । ठूलो हिउँ परेको बेला सफा ठाउँमा थुप्रो जमेको हिउँ पगालेर खानुपर्ने स्थानीय बताउँछन् । बर्खाको समय भेलबाढी आउँदा पानी धमिलिन्छ । यस्तोमा रुमालले छानेर र उमालेर खानेपानीको जोहो गरिने उनीहरु सुनाउँछन् । 

हिउँद परेका बेला होस् या धेरै दिन पानी पर्दा, माथिल्लो हिमाली क्षेत्रका वन्यजन्तु संरक्षण र आहार खोज्दै तलतल झरेका हुन्छन् । आहारा नपाउने र प्राकृतिक हिसाबले दु:ख पाएको बेला यस्ता जनावर आक्रामक र हिंसात्मक बनेका हुन्छन् । यस्तो बेला सचेतना अपनाउनु पर्ने संरक्षणकर्मी बताउँछन् । हिउँले भरिएको वा भारी वर्षाले प्रताडित भएका जनावरले आक्रमण गर्ने डर हुने गरेको घुन्साका हिमाली चुङ्दाको अनुभव छ ।  

चिसोबाट बच्न सरकारले तराइमा दाउरा बाँड्ने, टोलटोलमा आगो बालिदिने जस्ता सहयोग गरेको हुन्छ । बाढीपहिरोको लागि पनि पूर्वतयारीलगायतका खबर सार्वजनिक हुन्छन् । तर, हिमाली क्षेत्रमा हिउँद–बर्खै थुनिएर बस्नु पर्दाको पीडा कसैले कहिल्यै नबुझेको उनीहरुको गुनासो छ । हिउँ छल्न न्यानो र बाक्लो कपडा किन्नु पर्छ । क्रृण गरेर पनि खाद्यान्नको जोहो अगाडि नै गर्नुपर्ने बाध्यता छ । कोही दु:ख बिराम वा विपत्मा परे हेलिकप्टरसम्म चार्टर गर्नुपर्छ । यसको व्यवस्थापन गाउँलेले आफ्नै बलबुताले गर्नुपर्छ । चिसोको बेला बालबालिकामा नियोनिया हुँदा वा बर्खामा पखाला जस्ता रोग चल्दा डाक्टर भेट्न सम्भव छैन । ओलाङचुङगोला, घुन्सा र पापुङमा प्रहरी भने बाह्रै महिना प्रहरी हुने स्थानीय बताउँछन् । 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully