एसईई ग्रेड वृद्धि परीक्षामा भानुजन विद्यालय केन्द्रका नौ विद्यार्थीले गणित विषयको प्रश्नपत्र पूरै नपाएको उजुरीपछि परीक्षा व्यवस्थापन समितिले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
What you should know
ताप्लेजुङ — भानुजन माध्यमिक विद्यालय परीक्षा केन्द्रमा एसईई ग्रेड वृद्धि परीक्षा दिइरहेका केही विद्यार्थीले गणित विषयको प्रश्नपत्र पूरै नपाएको उजुरी गरेपछि परीक्षा व्यवस्थापन समिति ताप्लेजुङले छानबिन समिति गठन गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईको संयोजकत्वमा शिक्षा समन्वय इकाइका प्रमुख योगेश्वर भट्टराई र फुङलिङ नगरपालिका शिक्षा शाखा प्रमुख प्रकाश पौडेल सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको परीक्षा व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइले जानकारी दिए ।
प्रशासन कार्यालयका अनुसार नौ जना विद्यार्थीले पूरै प्रश्नपत्र नपाएको लिखित उजुरी दिएका छन् । यस विषयमा विद्यार्थीले परीक्षाकै दिन शिक्षा इकाइमा गएर मौखिक उजुरी दिएको तर सुनुवाइ नभएपछि आफ्ना अभिभावकसहित गएर बिहीबार प्रशासन कार्यालयमा गुनासो गरेका थिए ।
प्रजिअ सेढाइले शुक्रबार परीक्षा केन्द्रका प्रमुख किशोर कुमार राई, विद्यार्थी, अभिभावक, उजुरी दिने विद्यार्थी अध्ययन गर्ने विद्यालय कञ्चनजंघा माविका शिक्षक समेतलाई बोलाएका थिए । उजुरी दिने विद्यार्थी कञ्चनजङ्घा इङ्लिस मावि निजी विद्यालय भएकाले छाता संगठन प्याब्सन अध्यक्ष देवराज गुरुङसहितका प्रतिनिधि पनि सहभागी थिए ।
शुक्रबारको छलफलमा विद्यार्थी भने प्रशासन कार्यालयको प्रांगणमा मात्रै बसेका थिए । केन्द्राध्यक्ष राईले आफूहरूले कमजोरी नगरेको दाबी गरेपछि र अभिभावक तथा विद्यार्थीले कमजोरी भएको जिकिर नछोडेपछि छानबिन समिति गठन गरिएको जनाइएको छ ।
कञ्चनजंघा माविका संयोजक एवं प्याब्सन केन्द्रीय सदस्य दिनेश भट्टराईका अनुसार ५ अंकको प्रश्नपत्र नपाएको देखिएको छ । यसअघिको नियमित परीक्षामा आफ्नो विद्यालयका विद्यार्थीले विज्ञान विषयको दिन २५ मिनेटसम्म प्रश्न पत्र नपाएको र त्यसको पनि सुनुवाई नभएको उनको गुनासो छ ।
विद्यार्थीले भने गणित विषयकै दिन परीक्षा सकिएपछि शिक्षा इकाइमा गएर इकाई प्रमुख योगेश्वर भट्टराईलाई मौखिक उजुरी गरे पनि सुनुवाइ नभएपछि प्रशासन कार्यालय पुगेको बताएका छन् । यो केन्द्रमा गणित विषयको दिन २ सय ६७ परीक्षार्थी रहेको केन्द्राध्यक्ष राईले जानकारी दिए । राईले भनें धेरै थान प्रिन्ट गर्दा एकादुई प्रश्न पत्रमा पूरै प्रिन्ट नभएको तर, त्यसको समाधान परीक्षा केन्द्रमै गरिएको दाबी गरे । ‘आधा घण्टामा प्रिन्ट गरिसक्नु पर्छ, धेरै प्रिन्ट गर्दा एउटा दुईवटामा त्यस्तो भएको पाइयो,’ राईले भने, ‘दुई जनाको चाहिँ त्रुटि भयो भनेर साटो दिएको पनि रहेछ, अरूचाहिँ अलि बढी प्रोपोगण्डा भयो ।’ यसअघि एसईईको नियमित परीक्षामा शिवा माध्यमिक विद्यालय र कञ्चनजङ्घाकै विद्यार्थीले झण्डै २५ मिनेट ढिलो गरी मात्रै प्रश्नपत्र पाएको दाबी गरेका थिए । त्यसको छलफल शिक्षा इकाइमा भएको थियो ।
