११ महिनामा सवा अर्बको अम्रिसो कुचो निर्यात

उत्पादित कुचोमध्ये ७४ प्रतिशत भारत र १ प्रतिशत बंगलादेश निकासी, बाँकी स्वदेशमै खपत

असार २३, २०८१

सीमा तामाङ

1.5 billion Amriso raw exports in 11 months

काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म मात्रै १ अर्ब २६ करोड १२ लाख रुपैयाँ बराबरको अम्रिसो कुचो निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ३२.९ प्रतिशतले बढी हो । गत आर्थिक वर्ष सोही अवधिमा ९४ करोड ९१ लाख ९७ हजार रुपैयाँ बराबरको कुचो भारत गएको थियो । 

आर्थिक वर्ष ०७१/७२ देखिको तथ्यांक विश्लेषण गर्दा चालु आर्थिक वर्षको ११ महिनामा सबैभन्दा बढी कुचो निर्यात भएको भन्सार विभागको तथ्यांक छ । हालसम्मको सबैभन्दा बढी कुचो निर्यात भएको नेपाल कुच्चो संघका अध्यक्ष राजकुमार कार्कीले पुष्टि गरे । ‘यसपालि सबैभन्दा बढी कुचो निर्यात भयो, वैशाखदेखि माग घटेको छ, नभए अझै बढी निर्यात हुन्थ्यो,’ उनले भने ।

नेपालमा उत्पादन हुने कुचोमध्ये ७४ प्रतिशत भारत र १ प्रतिशत बंगलादेश निर्यात हुने संघले जनाएको छ । उत्पादित २५ प्रतिशत कुचो देशभित्रै खपत हुने कार्कीले बताए । संघले १ प्रतिशत कुचो बंगलादेश निर्यात हुने बताए पनि आर्थिक वर्ष ०७८/७९ यता भारतमा मात्रै कुचो निर्यात भइरहेको विभागको तथ्यांक छ । करको दर बढी भएकाले बंगलादेश निर्यात गर्न कठिन रहेको उनको भनाइ छ । 

संघका अनुसार इलाम, पाँचथर, संखुवासभा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, पाल्पामा बढी अम्रिसो उत्पादन हुन्छ । दूध व्यवसायमा लागेकाहरूले घाँसका लागि, बाढी, पहिरो, भूक्षय रोक्ने भएकाले पालिकाहरूले कुचो रोप्न थालेकाले पछिल्लो समय कुचो खेती दिनप्रतिदिन बढिरहेको कार्कीको भनाइ छ ।

भारतमा अर्धप्रशोधित कुचो निर्यात भइरहेको कार्कीले प्रस्ट्याए । ‘आन्तरिक बजारका लागि ससाना उद्योगले कुचो प्रशोधन गरी तयारी सामान बजारमा पठाइरहेका छन्, अब भारतको मागअनुसार प्रशोधन गरी तयारी कुचो बनाई निर्यात गर्ने तयारी गरिरहेका छौं,’ उनले भने, ‘अम्रिसो उत्पादन बढेको र भारतमै पनि उत्पादन बढिरहेकाले अब अन्य बजार पनि खोज्नुपर्नेछ ।’

भारतमा बढी उत्पादन, त्यहाँको आम निर्वाचन र बर्खा लागेकाले यस वर्ष मूल्य घटेको संघले जनाएको छ । ‘अघिल्लो आर्थिक वर्ष प्रतिकिलो १३० रुपैयाँमा कुचो बेचेका थियौं, गत वर्ष १०० रुपैयाँ किलो बेच्यौ,’ उनले भने, ‘यसपालि ८० रुपैयाँ किलो बेच्न सुरु गरेका थियौं, अहिले घटेर ६० रुपैयाँमा झरिसक्यो ।’ 

गत आर्थिक वर्ष १ अर्ब रुपैयाँ बराबरको कुचो भारत निर्यात भएको थियो । विभागका अनुसार आर्थिक वर्ष ०७८/७९ मा ६९ करोड ९८ लाख रुपैयाँ बराबरको कुचो भारतमा मात्रै निर्यात भएको थियो । 

आर्थिक वर्ष ०७७/७८ मा ६५ करोड ८८ लाख १३ हजार रुपैयाँ बराबरको कुचो भारत र बंगलादेश निर्यात भएको थियो । त्यस वर्ष ५६ लाख ३७ हजार रुपैयाँको २ लाख ३२ हजार ६ सय किलो कुचो बंगलादेश निर्यात भएको थियो भने ६५ करोड ३१ लाख ७६ हजार रुपैयाँ बराबरको कुचो भारत निर्यात भएको थियो ।

आर्थिक वर्ष ७६/७७ मा बंगलादेश र भारतमा गरी ५५ करोड ७४ लाख रुपैयाँ बराबरको कुचो निर्यात भएको थियो । आर्थिक वर्ष ७५/७६ मा भारत र बंगलादेशमा कुल ४० करोड ५७ लाख ३९ हजार रुपैयाँ बराबरको कुचो निर्यात गरेको विभागको तथ्यांक छ । 

आर्थिक वर्ष ०७४/७५ मा ५ करोड २९ लाख रुपैयाँ बराबरको कुच्चो निर्यात भएको विभागको तथ्यांक छ । आर्थिक वर्ष ०७१/७२ मा १२ करोड २९ लाख रुपैयाँ बराबरको कुचो निर्यात भएको थियो ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully