पहिरोले दुई सातादेखि सडक ठप्पै, बस्ती जोखिममा

असार १८, २०८१

प्रकाश बराल

Landslide has blocked the road for two weeks, and the settlement is at risk

बागलुङ — जिल्लाको काठेखोला गाउँपालिका ६ र ८ को सिमानामा पर्ने भुँदी खोलामा आएको पहिरोले दुई सातादेखि यातायात ठप्प भएको छ । पहिरोले पैदलयात्रीलाई समेत सास्ती भएको छ । 

पहिरोका कारण स्थानीयले गाउँपालिका कार्यालय आउजाउ गर्न पनि तीन घण्टाको घुमाउरो बाटोमा पैदल यात्रा गर्न बाध्य छन् । भुँदी खोलामा दुई साताअघि खसेको पहिरो अझै नियन्त्रणमा आउन सकेको छैन । पहिरो निरन्तर खसिरहेको वडा नम्बर ८ का अध्यक्ष प्रमानन्द कँडेलले बताए । ‘हामी नै पालिकामा जाने बाटो नभएपछि वडा ५ को पोखरा हुँदै वडा ६ को बाटो हिँड्न बाध्य भएका छौं,’ कँडेलले भने । 

पहिरोले वडा नं. ८ को छ सय भन्ने गाउँसमेत जोखिममा परेको छ । ‘गाउँका किसानले उत्पादन गरेको तरकारी र दूध बजार पठाउन नपाएको दुई साता भइसक्यो, हामीले कसरी जीवन कटाएका छौं भन्ने कसैले चासो राखेको छैन,’ स्थानीय गौमती सुनारले भनिन्, ‘घरबारीमै पहिरो आएपछि छिमेकीको घरमा बस्न बाध्य छौं ।’ सुनारसहित स्थानीय लालबहादुर रोका र मीनप्रसाद पुनको परिवार विस्थापित भएको छ । यहाँको सिरिमपाटा भन्ने बस्तीका २५ घर जोखिममा परेको कँडेलले बताए । 

लामो समयदेखिको पहिरोको समस्याबारे वडाध्यक्षले जिल्ला विपद् व्यवस्थापन समितिमा खबर गरेका छन् । प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले ढिलो गरी सूचना पाएकोले के गर्न सकिन्छ खोजी हुने बताए । तत्कालीन जिल्ला भूसंरक्षण कार्यालयले भुँदीखोला जलाधार क्षेत्र भनेर काठेखोला गाउँपालिका–८, ७ र ६ लाई उच्च जोखिमको सूचीमा राखेको थियो । हाल कार्यालय खारेजीमा परेपछि नियन्त्रणको कुनै योजना छैन । 

त्यस्तै मंगलबार बिहानदेखिको बर्षातले ओखलेमा खसेको पहिरोपछि लेखानी माविको खेलमैदान चर्केको छ । कक्षा कोठाभित्र पनि धाँजा फाटेकोले विद्यार्थी पढाउनसमेत जोखिम भएको प्रधानाध्यापक खिमानन्द कँडेलले जानकारी दिए । हाल बर्षे बिदा भएकोले विद्यार्थी नहुँदा सुरक्षित भए पनि विद्यालय खुलेपछि कसरी पढाउने भन्ने दोधारमा परेको उनले गुनासो गरेका छन् । 

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully