कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६

फेरि थालिँदै छाउगोठ भत्काउने अभियान 

अछाम — असार पहिलो साता पञ्चदेवल विनायक नगरपालिका–२ की १६ वर्षीया किशोरी छाउगोठमा बलात्कृत भएपछि जिल्लामा छाउगोठविरुद्धको अभियान फेरि सुरु हुने भएको छ । 

फेरि थालिँदै छाउगोठ भत्काउने अभियान 

आइतबार जिल्लाका १० वटै स्थानीय तहका जनप्रतिनिधि, स्थानीय प्रशासन, गैरसरकारी संस्था, सामाजिक अभियन्ता र सरोकारवालाको मंगलसेनमा भएको छलफलले चार वर्ष अघिबाट रोकिएको छाउगोठ भत्काउने, जनचेतना जगाउने र अटेर गर्नेलाई कानुनी कारबाही गर्ने गरी अभियान संचालन गर्ने भएको छ ।

छाउगोठविरुद्धको अभियान संचालनका लागि जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरको अध्यक्षतामा जिल्लास्तरीय निर्देशक समिति गठन भएको छ । समितिमा १० वटै स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, गैसस, सामाजिक अभियन्ता छन् । निर्देशक समितिले जिल्लाभर संचालन गर्ने अभियानको रणनीति बनाउने र परिचालन गर्ने छ ।

प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले अबको अभियान अघिल्लो पटकको जसरी नरोकिने बताए । ‘अछाममा छाउपडी कुप्रथा र गोठको अवस्थामा परिवर्तन नभएसम्म अभियान चलिरहन्छ,’ उनले भने । उनका अनुसार मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराको अध्यक्षतामा कार्यसंचालन समिति, गठन गरिएको छ । समितिमा अछामका प्रमुख जिल्ला अधिकारीसहित १० वटै पालिकाका नगर प्रमुख, गाउँपालिका अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रमुखहरु सदस्य रहेका छन् । यो समितिले भने निर्देशक समितिले तय गरेको रणनीतिअनुसार जिल्लाका ९१ वटै वडामा अभियानलाई सक्रिय बनाउने गरी निगरानी गर्ने छ ।

छाउपडी कुप्रथाका बारेमा जिल्लाका थुप्रै किसिमा बहस र छलफल भए पनि यसको यसको अन्त्य हुन नसकेकोले एकताबद्ध भएर लाग्नुपर्ने अवस्था आएको पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउनेले बताइन् । ‘हामीले अहिलेसम्म छाउपडी कुप्रथाका बारेमा कुरा मात्रै गर्‍यौं । तर व्यवहारमा लागू नगर्नाले पटक-पटक समस्या आउने गरेको छ,’ उनले भनिन्, ‘अब भने योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने छ । यो अभियानका लागि हाम्रो स्थानीय तहले पूर्णरुपमा सहयोग गर्छ ।’

राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी र समाजका अगुवाहरुले आफ्नो घरछिमेकमा भएका छाउगोठ र यो कुप्रथाको जिम्मेवारी लिनुपर्ने बान्नीगढी जयगढ गाउँपालिकाकी उपाध्यक्ष बिन्दु रावलले बताइन् । सामाजिक रुपमा विभिन्न क्षेत्रको नेतृत्व गर्ने तर घरमा महिनावारी भएको बेला आफ्नो छोरी बुहारीलाई छाउगोठमा राख्ने गलत प्रवृत्तिकै कारण आज यो प्रथाको अन्त्य हुन नसकेको उनको भनाइ छ । उनले भनिन्, ‘स्थानीय तहमा मात्रै जिल्लाभर ४ सय ९५ जना जनप्रतिनिधि छन् । उनीहरुको घरमा महिनावारी हुँदा कहाँ बसाउँछन् ? यसबाटै पहिलो सुरुआतमात्रै गर्ने हो भने अभियान सफल हुन्छ ।’ सबैले प्रतिबद्ध हुन सकेमात्र अभियानले सार्थकता पाउने उनले बताइन् ।

गत असार ३ गते राति पञ्चदेवल विनायक–२ मा १६ वर्षीया किशोरी छाउगोठमा आफन्तबाटै बलात्कृत भएकी थिइन् ।

प्रकाशित : असार १८, २०८१ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×