कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

दुर्गमका महिला उद्यमी भन्छन् : 'उत्पादनमा विश्वास गर्दैनन्, सरकारले देख्दैन'

अछाम — रामारोशन गाउँपालिका–५ की राजपुरा रोकाया २ वर्षदेखि व्यवसायिक तरकारी खेती गरिरहेकी छन् । गाउँपालिकाबाट कृषि र होजियारी सम्बन्धी तालिम पाएपछि राजपुराले कृषि फर्म नै दर्ता गरेर तरकारी उत्पादन गर्न थालिन् । पालिकाले व्यसायिक बनाउने उद्देश्यले २१ जनालाई कृषि र होजियारी सम्बन्धी तालिम दिएको थियो ।

दुर्गमका महिला उद्यमी भन्छन् : 'उत्पादनमा विश्वास गर्दैनन्, सरकारले देख्दैन'

तालिम पाएयता व्यवसायमा लागेकी राजपुराले बजार पाउन नसकेको गुनासो गरेकी छन् । ‘मौसम अनुसारका सबै तरकारी फलाए । धेरै मेहनत पनि गरे अन्तमा सबै कुहिएर खेर गयो,’ उनले भनिन्,‘तरकारीले बजार नपाएपछि हातले गलैंचा, स्विटर, खादालगायतका कपडा बुन्न थालेँ । गाउँपालिकाबाट तपाई खादा उत्पादन गर्नुस्, हामी किन्छौं भनेपछि कच्चा पदार्थ धनगढीबाट ल्याए । अन्तमा किनिदिएनन् ।’

महिलालाई उद्यम र व्यवसायमा सक्रिय बनाउने भन्दै तालिम दिए पनि बजार नपाउने, स्थानीय तहबाट पनि बास्ता नहुने गरेको उनले बताइन् । ‘छुट्टै पसल राखेर बेचौं भने गाउँको सबैभन्दा माथि मेरो घर छ । त्यता बस्ती नै छैन । मंगलसेन, साँफेबगरतिर लैजान यातायातको सुविधा छैन । गरेर जीविका चलाउन खोज्दा पनि यो ठाउँमा नसकिने रहेछ ।’

बान्नीगढी जयगढ गाउँपालिका–३ की सरस्वती कुँवरले पनि हाते होजियारी व्यवसाय संचालन गरेकी छन् । एक वर्षअघिबाट आफैं बुनेर उत्पादन गरिरहेकी उनलाई पनि बजार कै समस्या छ । बान्नीगढी जयगढ गाउँपालिकाबाट उनले अनुदानमा मेसिन पाएकी छन् । तर पनि उनको व्यवसाय सोचेजस्तो फस्टाउन सकेको छैन ।

‘बाहिरबाट आउने लुगा जति महँगो हुँदा पनि किन्छन् । यतै उत्पादन भएको हो भनेपछि के राम्रो होला र भन्दै नाक खुम्च्याउँछन्,’ उनले भनिन्,‘स्थानीय उत्पादनलाई प्रोत्सहान गर्नुको सट्टा महिलाहरुले बनाएका हुन् । के राम्रो होला र भन्दै विश्वास गर्दैनन् ।’ व्यवसायले राम्रो बजार लिएमा कर्मचारी नै राखेर उद्योगलाई विस्तार गर्ने योजना बनाएकी उनी अहिले भने निरास भएकी छन् ।

मंगलसेन नगरपालिका–४ की २० वर्षीया निशा विष्ट स्नातक अध्ययन गर्दै बाख्रापालन गरिरहेकी छन् । घरेलु तथा साना उद्योग कार्यालयमा फर्म नै दर्ता गरेकी निशासँग अहिले २५ बाख्रा छन् । ‘छोरी मान्छेले पढ्दै आत्मनिर्भर हुनुपर्छ भन्ने मलाई पहिलेदेखि नै लाग्थ्यो । घरमा ३/४ बाख्रा जहिले पनि पाल्ने तर त्यसबाट फाइदा कम देखेपछि परिवारको सल्लाहमा फर्म दर्ता गरेर बाख्राको संख्या बढाएँ,’ उनले भनिन्,‘परिवारका मान्छेको सहयोगमा बाख्रा पालिरहेकी छु । यसरी काम गरिरहेका मान्छेलाई अनुदान पाइन्छ भन्थे । धेरै ठाउँमा गए । कृषि ज्ञान केन्द्र र वाक नेपालबाट अलि सहयोग भयो । अन्तबाट केही पनि सहयोग पाइएन ।’

स्थानीय तहमा पटकपटक जाँदा पनि वास्ता नगरेको उनको गुनासो छ । ‘छोरी मान्छे हो, बिहे गरेर जान्छन्, लामो समय चल्दैन होला भनेर पाउने अनुदान पनि पाइदैन,’ उनले भनिन् । चरन क्षेत्र र घाँसपातको समस्याले गर्दा बाख्रापालन गर्न समस्या रहेको उनले बताइन् ।

महिला उद्यमी र व्यवसायीका लागि आउने अनुदान र अन्य सहयोग पहुँचवालाले कागजात मिलाएर लिने गरेको विनायकमा चप्पल उद्योग संचालन गरिरहेकी महिला उद्यमी संघ अछामकी अध्यक्ष इन्दिरा रेग्मी अधिकारीले बताइन् । स्थानीय तहमा उत्पादन अनुसारको खपत नहुने र त्यसमैमा पनि महिला उद्यमीलाई विश्वास नगर्ने गरेको उनले बताइन् ।

‘व्यवसाय सजिलो तरिकाले गर्न सजिलो छैन । लगानी, जनशक्ति, कच्चा पदार्थ, मेसिन सबै आवश्यक पर्छ । यति धेरै मेहेनत गरेर उत्पादन गर्दा पनि विश्वास गर्दैनन्,’ उनले भनिन्,‘महिलाको नाममा उद्योग व्यवसाय छन् । ती कागजमा मात्रै सीमित छन् । निर्णय लिने र कारोबार सबै पुरुषले गर्छन् ।’ महिलाको नाममा उद्योग, व्यवसाय दर्ता भएमा कर छुट, बैंकबाट कर्जा सहज र अन्य सहुलियतका लागि मात्रै महिलालाई अगाडि सार्ने गरेको उनले बताइन् ।

उनका अनुसार अछाममा महिला उद्यमी संघमा जिल्लाको मंगलसेन, साँफेबगर, कमलबजार र विनायक क्षेत्रमा उद्योग व्यवसाय सञ्चालन गरेका ८२ जना महिला आबद्ध छन् । ‘महिला व्यवसायी र उद्यमीलाई एक ठाउँमा ल्याएर सरोकारवालाई घच्घच्याउनका लागि हामी एकीकृत भएका हौं । यसरी दुर्गममा बसेर काम गरेका महिलालाई राज्यका कुनै पनि निकायले देखेको छैन,’ उनले भनिन् ।

प्रकाशित : असार १७, २०८१ २२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×