कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको किचलो

सरकारबाट फिर्ता हुनुस् –संसदीय दल
पार्टीको निर्देशनबाहेक फिर्ता हुने कुरै छैन–मन्त्रीहरू
अर्जुन शाह

धनगढी — नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले प्रदेश सरकारबाट समर्थन फिर्ता लिन सरकारमा सहभागी मन्त्रीलाई  निर्देशन गर्दै सोमबार पत्राचार गरेका छन् । तर सरकारमा सहभागी मन्त्रीहरुले भने उक्त निर्देशनको कुनै अर्थ नभएको प्रतिक्रिया दिएका छन् । 

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको किचलो

संसदीय दलका नेता घनश्याम चौधरीले सरकारमा सहभागी रहेका मन्त्रीहरु कैलाश चौधरी र टीका थापालाई समर्थन फिर्ता लिएर बाहिरिन निर्देश गरेका हुन् ।

एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नेतृत्वको सरकारमा चौधरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री र थापा कृषि तथा भूमिसुधारमन्त्री छन् । उनीहरु दुवैजना अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर हुन् । उनीहरुको समर्थनकै कारण सोडारीको मुख्यमन्त्री नियूक्ति सम्भव भएको थियो ।

नागरिक उन्मुक्ति पार्टीका सात जना सांसदहरुमध्ये पाँच जना अहिले पनि प्रतिपक्षमा छन् । प्रतिपक्षमा रहेका सांसदहरु रेशम चौधरी पक्षधर हुन् । बहुमत सांसद विपक्षमा भएपनि अध्यक्ष रञ्जिताको बलमा यसअघिदेखि नै चौधरी र थापाले संसदीय दलका नेता चौधरीको निर्देशन र ह्रिवप उल्लंघन गर्दै सरकारमा सहभागी भइरहेका छन् ।

केन्द्रमा पार्टीका बहुमत प्रतिनिधि सभा सदस्यहरुले आइतबार संसदीय दलका नेता रञ्जिता श्रेष्ठलाई हटाएको भोलिपल्ट प्रदेशमा पनि श्रेष्ठ पक्षधर तथा सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन गरिएको हो ।

‘सम्बन्धित मन्त्री, प्रदेश सभा र प्रदेश प्रमुखको कार्यालयमा पनि पत्र पठाइसकेका छौं,’ संसदीय दलका नेता चौधरीले भने ‘समर्थन फिर्ता लिएर सरकारबाट फिर्ता हुन दिइएको निर्देशनको अवज्ञा गर्नु भयो भने कार्बाही गर्छौं ।’ यता सरकारमा रहेका मन्त्रीहरुले भने पत्रको कुनै अर्थ नरहेको बताएका छन् । मन्त्री कैलाश चौधरीले भने ‘हामीलाई घनश्याम चौधरीले सरकारमा पठाएको होइन । पार्टीले पठाएको हो, पार्टीले फिर्ता हुन भनेपछि मात्र फिर्ता हुन्छौं ।’

प्रकाशित : असार १७, २०८१ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×