कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा सुरक्षित घर निर्माण

दोधारा, कञ्चनपुर — नेपाली सेनाले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकभरमा महाकाली नदीको बहाव बढेर बाढी बस्तीमा पसेको अवस्थामा स्थानीयवासीलाई सुरक्षित राख्न  सुरक्षित घर (सेफ हाउस) निर्माण गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा सुरक्षित घर निर्माण

सोमबार कुतियाकभरमा एक कार्यक्रमका बीच सेनाको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी गणेश कुमार श्रेष्ठले दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोर लिम्वुलाई नवनिर्मित सुरक्षित घर हस्तान्तरण गरेका हुन् ।

नेपाली सेनाको शीघ्र प्रभावी परियोजना अन्तर्गत प्राप्त बजेटबाट कञ्चनपुरमा रहेको सेनाको श्रीदल गुल्मद्वारा बाढीको उच्च जोखिममा रहेको दोधारा चाँदनीको कुतियाकभरमा सुरक्षित घर निर्माण गरिएको हो ।

सेनाको २० लाख र स्थानीय नगरपालिकाको ५ लाख गरि २५ लाखको लागतमा निर्मित घरमा बाढी पसेर बस्ती डुवानमा परेका बखत ६० जनासम्म स्थानीयवासीलाई सुरक्षित राख्न सकिने तथा विपद् व्यवस्थापन सम्बन्धी गतिविधि सञ्चालनमा सहज हुने पृतनापति श्रेष्ठले बताए ।

सेनाको शीघ्र प्रभावी परियोजना अन्तर्गत २ करोड रकम विनियोजन गरेको जानकारी दिँदै पृतनापति श्रेष्ठले उक्त रकममध्ये ८ वटा पृतना मातहतका क्षेत्रमा जहाँ विपद् व्यवस्थापनका लागि भौतिक संरचना निर्माणको आवश्यकता पर्छ, सो ठाउँमा बजेट उपलब्ध गराइ विपद् व्यवस्थापन न्युनीकरणका काम हुने गरेको बताए । कार्यक्रममा नगर प्रमुख किशोर लिम्वुले ३ महिनाकै छोटो अवधिमा सेनाले सुरक्षित घर निर्माण गरेकोमा खुशी व्यक्त गरे । बिभिन्न गैरसरकारी संस्था र नगरपालिका समेतको सहयोगमा निर्माणाधीन अवस्थामा रहेको अर्को सुरक्षित घर छिट्टै निर्माण सम्पन्न गर्नु पर्ने बताए ।

पश्चिमतर्फ जोगबुढा र पूर्वी क्षेत्रमा महाकाली नदी रहेको दोधाराको कुतियाकभर बाढीको उच्च जोखिममा रहेको बस्ती हो । विगत वर्षायाममा बाढी बस्तीमा पसेका बखत यहाँका स्थानीबासीले रुखमा चढेर ज्यान जोगाउने गरेको स्थानीय मोतीराम सुनारले बताए । ४२ परिवार बसोवास गर्ने यहाँको बस्तीका अधिकांश घरहरु जस्ता र फुसले छाएका छन् ।

बीसको दशकमा हालको कर्णाली प्रदेशको दैलेख, सल्यान, सुर्खेत र जाजरकोट लगायतका जिल्लाबाट बसाइँ सरी आएका परिवारको यहाँ बसोवास रहेको छ ।

प्रकाशित : असार १७, २०८१ २१:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×