कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

प्रदेशस्तरीय कराँते प्रतियोगितामा लमजुङ प्रथम

आश गुरुङ

लमजुङ — बेंसीसहरमा आयोजित गण्डकी प्रदेशस्तरीय कराँते प्रतियोगितामा लमजुङ प्रथम भएको छ । जिल्ला समन्वय समिति लमजुङको सभाहलमा मंगलबार र बुधबार भएको प्रतियोगितामा ८ स्वर्ण, १ रजत र ५ कांस्य पदकसहित लमजुङ प्रथम भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङले बताए ।

प्रदेशस्तरीय कराँते प्रतियोगितामा लमजुङ प्रथम

उनका अनुसार ४ स्वर्ण र ३ रजत पदकसहित गोरखा द्वितीय भएको छ । ३ स्वर्ण, ३ रजत र २ कांस्य पदकसहित तनहुँ तृतीय बनेको छ ।

प्रतियोगितामा मुस्ताङ र मनाङ जिल्लाबाहेक गण्डकी प्रदेशका ९ जिल्लाका डेढ सय बढी कराँते खेलाडीहरु सहभागी थिए । जिल्ला खेलकुद विकास समिति लमजुङको समन्वयमा गण्डकी प्रदेश खेलकुद परिषद् पोखराले आयोजना गरेको प्रतियोगितामा बेस्ट फाइटर महिलातर्फ लमजुङकी प्रीति तामाङ प्रथम, पुरुषतर्फ गोरखाका सक्षम लामा प्रथम भएका छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य योगेन्द्र शेरचन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष योगबहादुर गुरुङलगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगितामा १ जिल्लाबाट कम्तीमा ४० जनाको दरले खेलाडी तथा प्रशिक्षकको सहभागिता हुने नियम भए पनि पुरै खेलाडी उपस्थित नभएको अध्यक्ष गुरुङले बताए । ‘खेल सञ्चालनको लागि पर्याप्त बजेट भएन । सबै खेलाडीलाई ल्याउन सकेनौं,’ उनले भने ।

हरेक २–२ वर्षमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिता यसपटक आगामी मंसिरमा हुँदैछ । प्रतियोगितामा गण्डकी प्रदेशबाट सहभागी हुने खेलाडीसमेत छनौट गरिएको उनले बताए ।

प्रतियोगिताअन्तर्गत महिलातर्फ ४५ किलोभन्दा कम तौल, ६१ किलोभन्दा कम तौल र ६१ किलोभन्दा माथिको तौलबीच एकल प्रतिस्पर्धा भएको थियो । महिलातर्फ नै एकल काता, समूह काता र समूह कुमिते विधामा खेल सञ्चालन गरिएको थियो । पुरुषतर्फ ५० किलोभन्दा कम तौल, ५५ किलोभन्दा कम तौल, ६० किलोभन्दा कम तौल, ६७ किलोभन्दा कम तौल, ७४ किलोभन्दा कम तौल, ८४ किलोभन्दा कम तौल र ८४ किलोभन्दा बढी तौलबीच एकल प्रतिस्पर्धा गराइएको थियो ।

प्रकाशित : असार १९, २०८१ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×