प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्नु उचित : कांग्रेस

असार १९, २०८१

कान्तिपुर संवाददाता

Prime Minister should pave the way: Congress

काठमाडौँ — नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि भएको सहमति सार्वजनिक भइसकेकाले अब प्रधानमन्त्री पुष्पकमल दाहालले मार्गप्रशस्त गर्न उचित हुने निष्कर्ष निकालेको छ ।

बुधबार बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संसद्का प्रमुख दलहरुबीचमै नेपालको संविधानको धारा ७६(२) बमोजिम नयाँ सरकार गठनका लागि सहमति भइसकेकाले प्रतिनिधि सभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई मध्यनजर गरी प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न उचित हुने निष्कर्ष निकालेको हो ।

'नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नेपालको संविधानको धारा ७६(२) बमोजिम के.पी. शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भई सकेकोमा प्रतिनिधि सभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई मध्यनजर गरी प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न उचित हुने यो बैठक ठहर गर्दछ,' बैठकको निर्णयबारे कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत् भनेका छन् । 

बैठकले राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमतिलाई स्वागत गर्दै कांग्रेस र एमालेबीच राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तिव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न सहमति भएकोप्रति दृढता व्यक्त गरेको छ । 

कान्तिपुर

Link copied successfully