कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०१

सुर्खेतमा उद्यमशीलता प्रेरणा सम्मेलन

तृप्ति शाही

वीरेन्द्रनगर — सुर्खेतमा उद्यमशीलता प्रेरणा सम्मेलन गरिएको छ । आर्थिक समृद्धि अहिले राष्ट्रको मूलमुद्दा भएकाले आर्थिक लगानी र उद्यमशीलता प्रवर्द्धन गर्न भन्दै सम्मेलन आयोजना गरिएको हो । 

सुर्खेतमा उद्यमशीलता प्रेरणा सम्मेलन

सम्मेलनमा नीति निर्माता, बजार निर्माता र उद्यमशीलहरूसँगै विभिन्न मन्त्रालयलगायत देशका नीति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरूको सहभागिता रहको थियो । सम्मेलनमा कर्णालीमा उद्यमशीलता वृद्वि गरी स्वरोजगारी सिर्जना गर्ने विषयमा छलफल गरियो ।

सम्मेलनमा सफलताको कथा सुनाउँदै उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्यम गर्न चाहने युवाहरुका लागि लगानीको समस्या नरहेको बताए । आफू बागलुङको एक सामान्य परिवारमा जन्मिएर १६ वर्षको उमेरमा बुवा गुमाउँदाको अवस्था स्मरण गर्दै लगनशीलता र उद्यमले नै मानिसलाई सफलता हासिल हुने बताए ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उद्यमशीलताका लागि कर्णाली निकै उपयुक्त रहेको बताए । उनले भने, 'उद्यम गर्नेहरुका लागि कर्णाली खाली पेपर हो । यहाँ प्रकृतिले नै आफै सुन्दरता कोरिदिएको छ । तर यहाँ उपयुक्त चित्र कोर्नका लागि युवाहरु तयार बन्नुस् । सरकार तपाईंहरुको साथमा छ ।'

उनले कर्णालीका १० वटै जिल्ला उद्योग, व्यापार, कृषि पर्यटन, जलविद्युत्, जडिबुटी लगायतका नविनतम स्रोत साधानहरुको भण्डार रहेको बताए । विदेशीभूमिमा जुनसुकै कर्म गर्न चाहने आफ्नो भूमिमा काम गर्दा सानो भइनेजस्ता सामाजिक सोच र संरचनाका कारण हामी पछाडि परिरहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री कँडेलले कर्णालीमा उद्यम गर्ने युवाहरुका लागि सरकारले उचित लगानीको वातावरण बनाउने बताए । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजालले कर्णालीमा प्रचूर सम्भावनाहरु भएर पनि आर्थिक कृयाकलापहरुमा मुलुककै कमजोर प्रदेश रहेको बताए । उनले भने, 'कर्णालीमा १६ लाख ८८ हजार जनसंख्या छ । तर ६ लाख १८ हजार जनसंख्यामात्र आर्थिक क्रियाकलापमा संलग्न छ । घरेलु कामबाहेक ३० प्रतिशतभन्दा बढी महिलाहरु बेरोजगार छन् । २६ प्रतिशतमात्र श्रमशक्ति रोजगार छ । यहाँका ४० प्रतिशत मौसमी कामदार भारत जाने गर्छन् । वैदेशिक रोजगारमा १३ हजार ४ सय २६ जना छन् । त्यो पनि मलेसिया र गल्फमा बढी छन् । अन्य प्रदेशको तुलनामा गरिबी, बेरोजगारी, खाद्य असुरक्षा बढी देखिन्छ । जसको मुख्य कारण भनेकै कर्णाली औद्योगिक विकासमा पछाडि पर्नु र नागरिकहरु पनि उद्यमशीलतातिर नलाग्नु हो । '

कार्यक्रममा उद्यमशीलता विकास, सम्भावना, उद्यम गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट लिन सकिने सेवा सुविधाहरु लगायतका विषयमा पनि छलफल भएको छ । उद्यमशील युवा, सिर्जनशील युवा राष्ट्रिय अभियानका संयोजक भूपेन्द्रजंग शाहीले पहिलो चरण युवाहरुलाई उद्यमशीलता प्रेरणा दिन सम्मेलन आयोजना गरिएको जानकारी दिँदै अब उद्यम गर्न चाहने युवाहरुका लागि आवश्यकता अनुसारका सीपमूलक तालिमहरु पनि संचालन गर्ने तयारी रहेको बताए । उनले भने, 'युवाहरूमा उद्यमशीलताको भावना विकास गर्न र त्यसका लागि आवश्यक उत्प्रेरणा, सूचना र ज्ञान दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो । पुँजी निर्माण, रोजगारी सिर्जना र उद्यमशीलता विकास हाम्रो प्रमुख ध्येय हो । सफल उद्यमीहरु कसरी सफल भए भन्ने विषयमा अनुभव आदानप्रदान पनि भएको छ ।'

कार्यक्रममा युवा उद्यमीहरुले अब सरकारले सबै युवाहरुलाई देशमै बसौँ-बसौँ लाग्नेगरी उद्यमशीलताका कार्यक्रमहरु ल्याउनु पर्ने बताए । उनीहरुले वास्तविक उद्यम गर्ने युवाहरुको पहुँचमा सरकार पुग्नुपर्नेमा जोड दिए ।

प्रकाशित : असार १९, २०८१ २२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×