कान्तिपुर वेबसाईट
AdvertisementSponsored
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

लयमा फर्कने इंग्ल्यान्डको विश्वास

एकसेएक प्रतिभाशाली खेलाडीले भरिएको इंग्ल्यान्डसामु बलियो हुँदै अगाडि बढ्ने अवसर
रोयटर्स

म्युनिख — युरो २०२४ को समूह चरणको खेल सकिएलगत्तै इंग्लिस व्यवस्थापक गारेथ साउथगेटले भनेका थिए, सबैभन्दा मुख्य तथ्य भनेको समर्थक टिमसँगै रहनु हो । तर, तिनै समर्थकको सहने शक्ति भने कमजोर हुँदैन । इंग्ल्यान्डमाथि चर्को दबाब छ, लगातारको औसत प्रदर्शनपछि । इंग्ल्यान्डलाई एउटा अर्को तथ्यको भने फाइदा छ, यो टिम प्रतियोगिताको त्यस्तो आधा भागमा छ, जहाँ अगाडि बढ्दा सजिलो प्रतिद्वन्द्वीमात्रै सामना हुनेछ । 

लयमा फर्कने इंग्ल्यान्डको विश्वास

साउथगेटको टिमलाई जुलाई १४ मा बर्लिनमा हुने फाइनलसम्म पुग्ने विश्वास मात्र छैन, टिमलाई आफ्नो लय फर्कने विश्वास छ । यसको पहिलो खुड्किलो हुनेछ, स्लोभाकियाविरुद्धको अन्तिम १६ को खेल । यो खेल जित्ने हो भने इंग्ल्यान्डसामुस्विट्जरल्यान्ड हुन सक्नेछ । सेमिफाइनलमा भने अस्ट्रिया, टर्की, नेदरल्यान्ड्स वा रोमानियामध्ये एक हुनेछ । प्रतियोगिताको अर्को भागमा छन्, जर्मनी, फ्रान्स, स्पेन र पोर्चुगल जस्ता टिम ।

त्यसैले एकसेएक प्रतिभाशाली खेलाडीले भरिएको इंग्ल्यान्डसामु बलियो हुँदै अगाडि बढ्ने ठूलै अवसर छ । ‘हाम्रा समर्थक नकारात्मक बनेका छन्, किनभने उनीहरूले टिमबाट धेरै अपेक्षा गरेका छन् । यो त खासमा सकारात्मक तथ्य हो,’ विङ्गर एन्थोनी गोर्डन भन्छन् । साउथगेटले टिममा गरेको केही परिवर्तनपछि गोर्डनले मौका पाएका छन् । उनी थप्छन्, ‘यदि सबैखाले आलोचना रोक्ने हो भने हाम्रासामु एउटै विकल्प छ, समर्थकले चाहेजस्तै खेल्ने ।’

इंग्ल्यान्डले समूह ‘सी’ जिते पनि लिग चरणका सुरुआती तीन खेलमा दुई गोलमात्रै गरेको छ । सन् २०२३–०२४ को क्लब सिजनमा फिल फोडेन, बुकायो साका, ह्यारी केन र जुड बेलिङ्घमले एक आपसमा १ सय १४ गोल गरेका छन् । तर यिनै खेलाडीहरूले इंग्ल्यान्डका लागि भने गोल गर्न सकिरहेका छैनन् जस्तो स्थिति छ । फोडेन घरबाट फर्केर फेरि टिमसँग आवद्ध भएका छन् । तेस्रो सन्तानको जन्मका लागि उनी घर फर्केका थिए । यसै कारण उनले चाहिँदो तयारी गर्न पाएका छैनन् । यसले उनको खेल प्रभावित छ ।

ल्युक शलाई चोट लागेकै कारण इंग्ल्यान्डले उपयुक्त लेफ्ट–ब्याक खेलाडी पाउन सकेका छैनन् । मिडफिल्डमा भने १९ वर्षीय कोबी माइनोले सुरुदेखि खेल्ने विश्वास गरिएको छ । स्लोभाकियाले यी सबै घटनाक्रम नजिकबाट निकालिइरहेको छ । टोलीमा विश्वास पलाएको हुनसक्छ, हामी कोही पनि प्रतिद्वन्द्वीको सामना गर्न तयार छौं, डराउँदैनौं ।

टोलीका कप्तान मिलान स्क्रिनर मान्छन्, इंग्ल्यान्डसँग प्रतिभाशाली खेलाडी त छन्, तर तिनले एउटा टिमका रूपमा खेल्दैनन् । सेन्टर–ब्याकका रूपमा खेल्ने स्क्रिनर भन्छन्, ‘इंग्लिस टिमको बलियो पक्ष भनेकै राम्रा स्टार खेलाडी बाहुल्य रहनु हो । हामीसँग त्यस्ता खेलाडी छैनन्, हामी एउटा टिमका रूपमा खेल्छौं । त्यसैले हामी आत्मविश्वासी पनि छौं । मलाई पूरा विश्वास छ, हाम्रा खेलाडीले इंग्लिस टिमको सामना गर्दा उत्पन्न हुने चुनौती मज्जाले सामना गर्नेछन् ।’

प्रकाशित : असार १६, २०८१ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×