कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कपिलवस्तुका ६.७ प्रतिशत बालबालिकामा कुपोषण

मनोज पौडेल

कपिलवस्तु — कुपोषण न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिए पनि कुपोषित बालबालिकाका भने घट्न सकेका छैनन् । जिल्लामा सुआहारा कार्यक्रम अन्तर्गत सबै स्थानीय तहमा र स्वास्थ्य कार्यालयको आयोजनामा एकीकृत पोषण कार्यक्रम संचालन गरिए पनि कुपोषणको दर घट्न सकेको छैन ।

कपिलवस्तुका ६.७ प्रतिशत बालबालिकामा कुपोषण

अहिले कुपोषण बालबालिकाको प्रमुख समस्या रूपमा देखा परेको सरोकारवाला बताउँछन् । कालिका स्वावलम्बन सामाजिक केन्द्रले जिल्लाका ६ स्थानीय तहमा गरेको एक अध्ययनले पनि कुपोषणलाई समस्याका रूपमा देखाएको छ ।

पोषणमार्फत जीवन रूपान्तरण परियोजनाको सिकाइ आदानप्रदान कार्यक्रममा ६ स्थानीय तहमा गरिएको सर्बेक्षणले ६.७ प्रतिशत बालबालिकामा कुपोषण देखाएको हो ।

६ महिनादेखि ५९ महिनासम्मका २८ हजार ७९ बालबालिकाको परीक्षण गर्दा एक हजार ८ सय ७९ बालबालिकामा कुपोषण देखिएको केन्द्रका तथ्यांक व्यवस्थापन अधिकृत सुस्मिता शर्माले बताइन् । १ सय २५ बालबालिकामा कडा खालको र एक हजार ७ सय ५४ बालबालिका मध्यम खालको कुपोषण देखाएको उनले बताइन् ।

सबैभन्दा बढी महाराजगन्ज नगरपालिकामा ८.६ र सबैभन्दा कम शिवराज नगरपालिकामा ३.२ प्रतिशत बालबालिका कुपोषित पाइएका छन् । विजयनगर गाउँपालिकामा आठ प्रतिशत, यशोधरा गाउँपालिकामा ७.८ प्रतिशत, मायादेवी गाउँपालिकामा ७.३ प्रतिशत र शुद्धोधन गाउँपालिकामा ५.९ प्रतिशत कुपोषित बालबालिका पाइएका छन् ।

कपिलवस्तु अस्पतालका मेडिकल अधिकृत डा. मुकेश चौधरीले पोषक तत्वको कमीले नजानिदो तरिकाले बालबालिका अल्छी हुने, रोइरहने, खान मन नगर्ने, तौल घट्ने र तौल नबढ्ने जस्ता समस्या आउँदा कुपोषण भएको मानिने बताउँछन् । ‘यस्ले तत्काल समस्या नदेखिए जस्तो भए पनि पछि गएर ठूलो समस्या थप्छ त्यसैले यसलाई बेलैमा निदान गर्नु पर्छ,’ उनले भने ।

कुपोषणकै कारण जिल्लाका धेरै बालबालिकामा रक्त अल्पताको समस्या देखिएको स्वास्थ्य कार्यालय प्रमुख नारायणप्रसाद चौधरीले बताए । कुपोषणको अभियानसमेत त्यति सफल नभएको र आइरन चक्की वितरण कार्यक्रमसमेत खासै प्रभावकारी नभएकाले यस्तो समस्या देखिएको बताए ।

कुपोषणको अवस्थामा सुधार ल्याउन पालिकाले ठोस पहल गर्नुपर्ने र अभिभावलाई समेत सचेत गराउनुपर्ने जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले बताए । कार्यक्रममा विजयनगर गाउपालिका अध्यक्ष गोपालबहादुर थापा र शुद्धोदन गाउपालिका अध्यक्ष कमलेशशरण चौधरीले कुपोषणविरुद्ध प्रभावकारी रूपमा कार्यक्रम अघि लैजाने प्रतिबद्धता व्यक्त गरे । कुपोषणका रूपमा ख्याउटेन पन, कम तौल र पुड्के बालिका हुने समस्या देखिएका छन् ।

प्रकाशित : असार १६, २०८१ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×