काठमाडौँ — सन् १९६९ मा आजकै दिन (३० जुन) मा श्रीलंकाका क्रिकेटर सनथ जयसूर्याको जन्म भएको थियो । श्रीलंकाका सर्वकालीन महान् क्रिकेटर जयसूर्या विस्फोटक ब्याटिङका लागि चर्चित छन् । सन् १९९६ को विश्वकप क्रिकेट प्रतियोगिता श्रीलंकालाई जिताउन जयसूर्याको अलरान्डर प्रदर्शनले अहम् भूमिका निर्वाह गरेको थियो ।
प्रतियोगितामा जयसूर्या ‘म्यान अफ द सिरिज’ भएका थिए । उनले सन् २००७ मा टेस्ट क्रिकेटबाट र सन् २०११ मा सीमित ओभरको क्रिकेटबाट संन्यास लिएका थिए । त्यसपछि उनले ट्वान्टी–ट्वान्टी लिगहरू खेले ।
आफ्नो सक्रिय खेल जीवनमा उनले टेस्ट क्रिकेटमा ६ हजार ९ सय ७३ रन र एकदिवसीय खेलमा १३ हजार ४ सय ३० रन बनाएका छन् । त्यति मात्र होइन, उनले बलिङतर्फ टेस्टमा ९८ विकेट र एक दिवसीय प्रतियोगितामा ३ सय २३ विकेट लिएका छन् ।
खेल जीवनबाट संन्यास लिएपछि उनी केही वर्ष राजनीतिमा सक्रिय रहे । सन् २०१० को संसदीय चुनावमा उनी आफ्नो गृहजिल्ला मातराबाट निर्वाचित भएका थिए । पछि उनी सहायक मन्त्री पनि बने । हाल उनी श्रीलंकाको राष्ट्रिय क्रिकेट टोलीको ‘कन्सल्ट्यान्ट’ छन् ।
