कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

जडीबुटी खोज्ने ‘कर्णाली मन’

सुर्खेतको वीरेन्द्रनगर–३ एरी चोकका राजेन्द्र विष्टले पछिल्लो समय कर्णालीका जडीबुटीबाट विभिन्न सामग्री उत्पादन गर्दै आएका छन् । बायो कर्णाली एरोमा प्रालिबाट उत्पादित सामग्री हाल नेपालका सुर्खेत, नेपालगन्ज, काठमाडौंमा मात्र नभई सिंगापुर, फ्रान्स, जापान र स्पेनसम्म पनि पुग्छन् । 
तृप्ति शाही

वीरेन्द्रनगर — कर्णाली प्रदेश आफैंमा जडीबुटीको खानी हो । १ सय ४७ भन्दा बढी प्रकारका जडीबुटी पाइने प्रदेशवासी भने जडीबुटीलाई आम्दानीको दिगो स्रोत बनाउन सकिरहेका छैनन् । प्रशोधन केन्द्र, भण्डारण तथा बजार व्यवस्थापनका क्षेत्रमा सरकारीस्तरबाट पहल नहुँदा संकलन भएकामध्ये बर्सेनि ३० प्रतिशत जडीबुटी खेर जाने अवस्था छ ।

जडीबुटी खोज्ने ‘कर्णाली मन’

तर जडीबुटीको सदुपयोगका क्षेत्रमा व्यक्तिगत स्तरबाट फाट्टफुट्ट काम नभएका भने होइनन् । सुर्खेतको वीरेन्द्रनगर–३ एरी चोकका राजेन्द्र विष्ट त्यसैमध्येका एक हुन् ।

दैलेखको चामुन्डाबिन्द्रासैनी नगरपालिका–२ सिरोलमा जन्मिएका राजेन्द्रको जडीबुटी मोह अचम्मकै छ । केही वर्ष उनले कर्णालीकै जडीबुटी चिन्ने र खोज्ने काममा बिताए । अहिले तिनै जडीबुटीलाई प्रशोधन गरेर विभिन्न सामग्री उत्पादन गर्ने गरेका छन् । अमृत साइन्स (अस्कल) क्याम्पसबाट आईएस्सी सकेका उनले हेमवती नन्दन बहुगुणा गढवाल विश्वविद्यालय भारतबाट विज्ञान विषयमा मास्टर्स गरे । सुर्खेत आएर केही समय अध्यापन गरे । तर पछि आफूले पढेको विषयमा केही गर्नुपर्छ भन्ने सोच पलाएपछि उनले पढाउन छाडेर व्यवसाय सुरु गरेका हुन् ।

त्यसपछि उनले बायो कर्णाली एरोमा प्राइभेट लिमिटेड कम्पनी खोले । भारतबाट कच्चा पदार्थ ल्याएर हेन्डवास, स्याम्पु, फेसवास, सरफ, फिनेललगायत ११ थरी उत्पादन सुरु गरे । बजारमा माग बढ्दै गएपछि उनको मन विदेशबाट कच्चा पदार्थ ल्याउनुको साटो प्राकृतिक रूपमा कर्णालीमा पाइने जडीबुटीको प्रयोग गरेर प्राकृतिक उत्पादन गर्नेतर्फ मोडियो । त्यसपछि भने उनले औपचारिक रूपमै कर्णालीको जडीबुटीबारे अध्ययन सुरु गरेका हुन् ।

अध्ययनका लागि उनी पाँच वर्षसम्म कर्णालीका जुम्ला, दैलेख, जाजरकोट, मुगु, सुर्खेतलगायत जिल्लाका लेकमा डुले । त्यहाँ पाइने जडीबुटीबाट के कस्ता सामग्री उत्पादन गर्न सकिन्छ भन्ने अध्ययन गरे । डेढ वर्षयता भने राजेन्द्रले कर्णालीका जडीबुटीको प्रयोग गरेर विभिन्न उत्पादन गर्दै आइरहेका छन् । यसका लागि उनले प्रशोधन उद्योग खोलेका छन् । अहिले उनले हर्बल ह्यान्डवास, हर्बल टी, मर्निङ टी, सिबक थोर्न जुस, इसेन्सियल ओइल, लेमन ग्रास र तीन प्रकारका तेल उत्पादन गरिरहेका छन् । उनले ढटेलो, देवदार तेल, डाले चुक, तेजपात, घोडामर्चो, बेलचन्दा, लेमनग्रास, कपुर, समयो लगायतका जडीबुटीबाट विभिन्न सामग्री उत्पादन गर्दै आइरहेका छन् ।

उत्पादित सामग्रीहरू सुर्खेत, नेपालगन्ज, काठमाडौंसँगै र सिंगापुर, फ्रान्स, जापान र स्पेनसम्म पठाउने गरेको उनले बताए । ‘काठमाडौं लगायतका सहरमा निकै राम्रो माग छ । तर मागअनुसार आपूर्ति गर्न सकिएको छैन,’ उनले भने । व्यवसायमा एक्लै भएकाले पनि मागअनुसार उत्पादन गर्न नसकेको उनले बताए ।

सामग्री उत्पादनका लागि उनले कर्णालीका विभिन्न जिल्लाका किसानबाट संकलित जडीबुटी प्रयोग गर्छन् । सहकारीमार्फत केही किसानलाई उनले जडीबुटी खेती गर्न पनि सघाएका छन् । अहिले उनी आफैंले पनि दुई बिघामा ७ थरी जडीबुटीको खेती सुरु गरिसकेका छन् । जसमा तुलक्षी, हिवसकस, कुरिलो, स्टेविया, असोगन्धालगायतका जडीबुटी छन् । फार्ममा दुई र उद्योगमा चार गरी ६ जनालाई रोजगारी पनि दिएका छन् ।

भविष्यमा कर्णालीका जडीबुटीलाई कर्णालीमै प्रशोधन गरेर अझै धेरै उत्पादनहरू बजारमा ल्याउने सोचमा छन् उनी । त्यसका लागि युवापुस्ताहरू पनि यही क्षेत्रमा सक्रिय हुनुपर्ने उनको भनाइ छ । त्यसका साथै जडीबुटी अध्ययन सेन्टर बनाउनेसमेत उनको योजना छ । ‘युवाहरूले जडीबुटीको खेतीबारे पनि सिकुन् भन्ने चाहना छ,’ उनले भने, ‘आगामी दिनमा विश्वविद्यालयमा पनि जडीबुटीको उत्पादन, प्रशोधन र अध्ययनबारे पढाउनुपर्छ ।’

जडीबुटीको क्षेत्रमा काम गर्न भने त्यति सहज नभएको राजेन्द्रको अनुभव छ । राज्यले यस क्षेत्रलाई हेर्ने दृष्टिकोण विभेदकारी भएको महसुस गर्छन् उनी । खासगरी सरकार जडीबुटी खेती, उत्पादन तथा प्रशोधनसम्बन्धी नीति बनाउनमै चुकेको उनको भनाइ छ । ‘सरकारले सजिलैसँग जडीबुटी उत्खनन गर्न दिँदैन । सरकारी तहबाट किसानलाई जडीबुटी खेती गर्नुपर्छ भन्ने पनि सिकाइँदैन,’ उनी भन्छन्, ‘जडीबुटीबाट उत्पादित सामग्री विदेश पठाउनका लागि झन्झट छ ।’

त्यसका साथै, देशभित्र जडीबुटी परीक्षण गर्ने ल्याब, अध्ययन गर्नका अनुसन्धान केन्द्रहरू अभाव भएको उनले बताए । ‘नेपालका कुनै विश्वविद्यालयमा जडीबुटीबारे अध्ययन गर्न पनि पाइँदैन । त्यसैले जडीबुटीको खोजी र प्रशोधनका लागि समस्या भएको छ ।’ कम सिँचाइले हुने र जंगली जनावरले पनि खासै असर नपुर्‍याउने भएकोले सरकारी तहबाट नै किसानलाई यो खेतीप्रति आकर्षित गर्नुपर्ने उनको सुझाव छ । कर्णालीबाट बोरामा ओसारपसार हुने गरेको जडीबुटीलाई राम्रो प्याकेजिङ गर्ने हो भने महँगो मूल्यमा विदेशमा निर्यात गर्न सकिने उनी बताउँछन् ।

प्रकाशित : असार १५, २०८१ ०६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×