कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एसईईको मौका परीक्षा साउन २३ देखि

नतिजा सार्वजनिक गर्न कम्तीमा ३ महिना लाग्न सक्ने, ग्रेडवृद्धिमा सफल हुने विद्यार्थीको भर्ना ढिला हुँदा शैक्षिक सत्र प्रभावित हुने अनुमान 
सुदीप कैनी

काठमाडौँ — परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईईको ग्रेडवृद्धि (मौका) परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गर्ने भएको छ । आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा मिति सार्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । 

एसईईको मौका परीक्षा साउन २३ देखि

यसअघि बोर्डले दुई विषयसम्म ननग्रेडिङ (एनजी) मा परेका विद्यार्थीको ग्रेडवृद्धि परीक्षा साउन १८ र १९ मा हुने जनाएको थियो । तर शिक्षा मन्त्रालयले ननग्रेडिङमा परेका सबै विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षामा सहभागी गराउने निर्णय गरेपछि बोर्डले साउन २३ देखि देशभर परीक्षा सञ्चालन गर्ने भएको हो । तयारीका लागि परीक्षा केही दिन पर सारिएको नियन्त्रक पौडेलले बताए ।

गत बिहीबार सार्वजनिक एसईईको नतिजामा २ लाख ४२ हजार ३ सय १३ विद्यार्थी ननग्रेडिङ (फेल) भएर कक्षा ११ मा भर्ना पाउन अयोग्य भएका थिए । परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ८५ मध्ये ५२ प्रतिशत विद्यार्थी फेल भएको भन्दै आलोचना भएको थियो । लेटर ग्रेडिङ निर्देशिका २०७८ मा दुई विषयसम्म ननग्रेडिङमा पर्ने विद्यार्थीलाई मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन मौका दिने उल्लेख छ ।

तर, शिक्षामन्त्री सुमना श्रेष्ठले ७ वटै विषयमा ननग्रेडिङमा परे पनि मौका परीक्षा दिन पाउने निर्णय गरेपछि पाठ्यक्रम विकास केन्द्रले निर्देशिकाको उक्त व्यवस्था नै परिवर्तन गरेको छ । साबिकको व्यवस्थाअनुसार दुई विषयसम्म ननग्रेडिङ भएका १ लाख १५ हजार ८ सय ३४ जनाले मात्र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने थिए ।

एसईईमा ग्रेडिङमा पर्न सफल विद्यार्थीको भर्ना सुरु भइसकेको छ । साउन १५ देखि पठनपाठनसमेत सुरु हुनेछ । ग्रेडवृद्धिमा सहभागी विद्यार्थीको साउन अन्तिमसम्म परीक्षा सकेर नतिजा सार्वजनिक गर्दा पठनपाठनमा निकै ढिलाइ हुने अनुमान बोर्डका अधिकारीहरूले गरेका छन् । झन्डै साढे दुई लाख विद्यार्थीको परीक्षा सञ्चालन गरी नतिजा सार्वजनिक गर्न कम्तीमा ३ महिना लाग्ने उनीहरूको अनुमान छ ।

अनुमानअनुसार असोज अन्तिम साता मात्रै नतिजा सार्वजनिक हुनेछ र ग्रेडवृद्धि हुन सफल विद्यार्थीले दसैं, तिहारलगायत चाडपर्वपछि मात्रै कक्षा ११ मा भर्ना हुन पाउनेछन् । यसले शैक्षिक सत्र नै प्रभावित हुने आकलन गरिएको छ । कक्षा ११ मा अहिले भर्ना हुने विद्यार्थीको वार्षिक परीक्षा वैशाख/जेठमा सञ्चालन हुने बोर्डले क्यालेन्डर तय गरेको छ ।

शिक्षा मन्त्रालयले मौका परीक्षामा सहभागी हुने विद्यार्थीका लागि नेपाल टेलिभिजन र रेडियो नेपालबाट विषयगत रूपमा तयारी कक्षा सञ्चालन हुने जनाएको छ । त्यस्तै विद्यालयहरूलाई कक्षा सञ्चालनको सहजीकरण गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई निर्देशन दिएको छ । शिक्षामन्त्री श्रेष्ठको निर्देशनमा त्रिभुवन विश्वविद्यालयले पनि उच्च शिक्षामा अध्ययनरत विद्यार्थीलाई एसईईको तयारी कक्षामा सहभागी हुन क्याम्पसहरूलाई सर्कुलर गरेको छ । स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई एसईईको तयारीमा रहेका विद्यार्थीलाई सिकाइ सहजीकरणका लागि परिचालन गर्न रेक्टर खड्ग केसीले निर्देशन दिएका हुन् ।

शिक्षा मन्त्रालयको बजेटमा समेटिएको ‘साथी सिकाइ कार्यक्रम’ अन्तर्गत उच्च शिक्षाका विद्यार्थीले गणित, अंग्रेजी, विज्ञान, सामाजिक र नेपाली विषयको पठनपाठन गराउने भनिएको छ । सामुदायिक विद्यालयका सबैभन्दा बढी विद्यार्थी गणित, विज्ञान र अंग्रेजी विषयमा तथा निजी विद्यालयका विद्यार्थी सामाजिक र नेपाली विषयमा फेल भएका छन् । गणितमा १ लाख ७७ हजार, विज्ञानमा १ लाख २६ हजार, अंग्रेजीमा १ लाख विद्यार्थी ननग्रेडिङ भएका छन् । त्यस्तै सामाजिकमा ७३ हजार, नेपाली र अर्थशास्त्रमा ६९/६९ हजार विद्यार्थी ननग्रेडिङमा परेका छन् ।

२०७२ देखि लागू लेटर ग्रेडिङ पद्धतिमा सबै विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था थियो । तर यसले विद्यार्थीमा पठन संस्कृति हराउँदै गएको भन्दै २०७८ मा निर्देशिका संशोधन गरेर सैद्धान्तिक (लिखित) तर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडेड हुने व्यवस्था गरिएको थियो । सबै विषयको ७५ पूर्णाङ्कमा लिखित परीक्षा सञ्चालन भएको थियो । जसमा २७ अंक पनि ल्याउन नसक्ने विद्यार्थी ननग्रेडिङमा परेका हुन् ।

प्रकाशित : असार १७, २०८१ ०६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×