कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एसईईको नतिजाले बढाएको निराशा

पाठक पत्र

एसईईमा संलग्न ४ लाख ६४ हजार ७ सय ८५ जनामध्ये ५२.१३ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३ सय १३ विद्यार्थी फेल भएका छन् । प्राप्त नतिजाअनुसार छात्रभन्दा फेल हुने छात्राको संख्या बढी छ । छात्रतर्फ १ लाख १४ हजार ४८ जना अनुत्तीर्ण भएका छन् भने छात्रातर्फको संख्या १ लाख २८ हजार २ सय ५७ छ ।

अनुत्तीर्णमध्ये ८८.१२ प्रतिशत सामुदायिक विद्यालयको भएको खबरले अरू पीडा थपेको छ । हरेक विषयमा कम्तीमा ३५ नम्बर ल्याउनुपर्ने नियम बसाल्दा धेरै विद्यार्थी अनुत्तीर्ण भई ननग्रेडेड (एनजी) मा परेका छन् । राष्ट्रिय परीक्षा बोर्डले जनाएअनुसार सहरी क्षेत्रका विद्यार्थी सामाजिक र नेपालीमा, ग्रामीण क्षेत्रका विज्ञान, गणित र अंग्रेजी विषयमा अनुत्तीर्ण भएका छन् ।

सबैभन्दा बढी गणितमा फेल भएको तस्बिर सार्वजनिक भएको छ । उता भाषामाथि प्रहार थपिएपछि नेपालीमै ६९ हजार ५ सय ३२ विद्यार्थी उत्तीर्ण भएनन् । शिक्षाविद्ले यसपालिको एसईईको नतिजा खराब हुनुमा शिक्षा मन्त्रालयलाई दोषी ठहर्‍याएका छन्, शैक्षिक प्रणाली बनाउने र चलाउने व्यक्ति जिम्मेवारविहीन बनेको उनीहरूको निष्कर्ष छ ।

विद्यालय शिक्षामा सरोकार राख्नेहरू शिक्षाको गुणस्तर प्रवर्द्धन गर्ने प्रयास नभएको तथा शिक्षकहरू कक्षा, विद्यार्थी र पेसाप्रतिको उत्तरदायित्वबाट टाढिएको बताउँछन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षले भने शैक्षिक प्रणाली र गुणस्तरमा समस्या बढ्दै गएको, एनजी कायम नगर्दा मिहिनेत नगरे पनि पास हुने भएपछि विद्यार्थीले अध्ययन गर्न छोडेको, अल्छी बनेर प्रतिस्पर्धी बन्न नसकेको, पछि गएर ११, १२ कक्षामा फेल हुने क्रम बढेको तर्क गरेका छन् ।

यावत् कुरामाथि मध्यनजर गरी नतिजा प्रणाली परिवर्तन गरिएको अभिव्यक्ति बोर्डका अध्यक्षले दिए पनि सम्बन्धित पदाधिकारीको संलग्नतामा हठात्मा गरिएको निर्णयबाट लाखौं विद्यार्थी, अभिभावकमा पुगेको आर्थिक, मानसिक आघात, समयको बर्बादीको हर्जाना कसले तिर्ने ? नतिजा प्रणाली परिवर्तन गर्ने विषय २–३ वर्षपहिले जानकारी गराएर सरोकारवालालाई जागरुक नगराई निरीह, निर्दोष विद्यार्थीलाई भीरबाट निर्मम तरिकाले तल खसाल्नु सरकारको दायित्वभित्र पर्छ ?
– भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं

अभिभावकज्यूहरू, एसईईको नतिजा प्रकाशन भएको छ । सामाजिक सञ्जालमा अरूका छोराछोरीले धेरै नम्बर ल्याए भनेर आफ्ना छोराछोरीलाई गाली नगरौं । धेरै नम्बर ल्याउँदैमा ठूलो मान्छे भनेर बसीबसी खान पाइँदैन, थोरै नम्बर ल्याउँदैमा भोकै बस्नु पनि पर्दैन । धेरै नम्बर ल्याउने विद्यार्थी त्यही पढाइको बोझले थलिएका उदाहरण पनि छन् ।

आफ्ना नानी–बाबुहरूलाई धेरै नम्बर ल्याउनुपर्छ भनेर दबाब दिनु हुँदैन । सामाजिक सञ्जालमा मेरा छोराछोरीले यति नम्बर ल्याए भनेर सार्वजनिक नगर्दा नै राम्रो हुन्छ । नम्बरभन्दा पनि ऊ जीवनमा कतिको व्यावहारिक र संस्कारी भएको छ, त्यो महत्त्वपूर्ण हो । त्यसैले आफ्नो सन्तानलाई असल मान्छे बन्न सिकाऔं ।
– दुर्गाप्रसाद सापकोटा, गोकर्णेश्वर, काठमाडौं

प्रकाशित : असार १७, २०८१ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×