कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०८

कांग्रेस-एमाले समझदारी : अन्योलमा मन्त्रीहरू

कांग्रेस–एमालेबीच नयाँ समीकरणका लागि सोमबार मध्यरातमा भएको समझदारीपछिको परिवर्तित राजनीतिक घटनाक्रमका कारण मन्त्रीहरूले मंगलबारको दिन अन्योलमै बिताए 

काठमाडौँ — कांग्रेस र एमालेबीच नयाँ गठबन्धन निर्माण गर्ने सहमति बने पनि प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल राजीनामा नदिने बताएका छन् । दिनभरजसो अन्योलमा रहेका मन्त्रीहरूले पनि मंगलबार दीर्घकालीन प्रभाव पार्ने कुनै निर्णय गरेनन् । बरू सामान्य भेटघाटमै उनीहरूले पनि दिन कटाए । 

कांग्रेस-एमाले समझदारी : अन्योलमा मन्त्रीहरू

रास्वपाको सचिवालय बैठक सकिएलगत्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल श्रम मन्त्रालय पुगेका थिए । रास्वपाले नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुनेबित्तिकै मन्त्रीहरूले राजीनामा दिने निर्णय गरेको थियो । ‘म पार्टीको सचिवालय बैठकपछि सधैंझैं सिधै मन्त्रालयमा आएँ । आफ्नो प्रशासनिक कामहरू गरें,’ मन्त्री अर्यालले थपे, ‘पहिलाजस्तै नियमित काम नै भयो ।’ बिहान ११ बजे मन्त्रालय पुगेका उनी साँझ ६ बजे निस्किएका थिए । ‘हामीले सरकार छोडिसकेको छैनौं । सरकारले पनि हामीलाई केही बताएको छैन,’ अर्यालले भने । यद्यपि, मंगलबार आफूले दीर्घकालीन प्रभाव पार्ने कुनै पनि निर्णय नगरेको उनले बताए ।

त्यस्तै, जसपाबाट स्वास्थ्यमन्त्री बनेका प्रदीप यादवले कांग्रेस र एमालेबीच सोमबार मध्यरातमा भएको राजनीतिक सहमतिबारे आफूले समाचारहरूबाट मात्रै थाहा पाएको र औपचारिक जानकारी कसैले नगराएको भन्दै बदलिएको राजनीतिक समीकरणबारे पार्टीले पनि औपचारिक धारणा बनाई नसकेको बताए । ‘अध्यक्षजीको शल्यक्रिया भएका कारण आज हाम्रो कुनै औपचारिक बैठक बसेको छैन । न कसैले औपचारिक रूपमा नयाँ सत्ता समीकरणका बारेमा हामीलाई बताएको नै छ । त्यसैले अहिले समाचार आएकै भरमा सबै निर्णय गर्ने कुरा पनि आएन,’ मन्त्री यादवले भने, ‘प्रधानमन्त्री दाहाल वा कांग्रेस, एमालेबाट औपचारिक कुरा आएपछि के गर्ने भन्नेबारे निर्णय गर्छौं ।’

त्यसो त मन्त्रालयमा सोमबार पत्रकारसँगको भेटमा स्वास्थ्यमन्त्री यादवले सत्ता समीकरणमा बदलाव आए पनि आफ्नो मन्त्री पदलाई केही फरक नपर्ने बताएका थिए । प्रधानमन्त्री दाहालले नै सोमबारको मन्त्रिपरिषद्को बैठकमा सत्ता समीकरणमा कुनै बदलाव नहुने दाबी गर्दै मन्त्रीहरूलाई ढुक्क भएर काम गर्न निर्देशन दिएका थिए । तर मध्यरातमा कांग्रेस र एमालेबीच भएको समझदारीपछि भने विकसित राजनीतिक घटनाक्रमलाई लिएर मन्त्रीहरूमा अन्योल देखिएको छ ।

एमालेको प्रतिनिधित्व गर्दै हालको सरकारमा उपप्रधान र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका रघुवीर महासेठले पनि मंगलबार तीन घण्टा मात्रै मन्त्रालयमा बिताए । मध्याह्न १२ बजे मन्त्रालय पुगेका उनी पार्टीको सचिवालय बैठकमा भाग लिन ३ बजेतिर च्यासलका लागि निस्किए । कार्यकक्षमा उनले सचिवसँग मन्त्रालयको काम–कारबाहीसम्बन्धी आवश्यक जानकारी लिने काम मात्रै गरे । ‘मन्त्रीज्यू अघिपछिजस्तै मन्त्रालय आउनुभयो, जानकारी लिने काम गर्नुभयो । केही सामान्य भेटघाटहरू भए,’ उनको सचिवालयका एक सदस्यले भने, ‘त्यसपछि पार्टीको बैठक छ भनेर निस्कनुभयो ।’ अघिल्लो दिन सोमबार मात्रै उनले बजेट अभाव भएका निर्माणाधीन आयोजनामा प्रक्रिया पूरा गरी अन्य आयोजनाबाट रकमान्तर गरी पठाउन योजना शाखाका कर्मचारीलाई निर्देशन दिएका थिए ।

मंगलबार मध्याह्न मन्त्रालय पुगेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सचिव र उच्च अधिकारीहरूसँग मन्त्रालयको कामबारे छलफल गरेका थिए । माओवादीका उपाध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठ त्यसपछि संघीय संसद्को राष्ट्रिय सभामा सहभागिता जनाउन नयाँ बानेश्वरस्थित संसद् भवन पुगे ।

राष्ट्रिय सभामा परराष्ट्र मन्त्रालयसम्बन्धी बजेट विनियोजनको छलफल सकेर ३ बजे पुनः मन्त्रालय नै फर्किए अनि कर्मचारीसँग कामका विषयमा छलफल गरेर ५ बजे बाहिरिए । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ भने दिनभर मन्त्रालयमै व्यस्त देखिइन् । विद्यार्थी लक्षित करिअर काउन्सिलिङसम्बन्धी वेबसाइट सार्वजनिक गरिन् । स्वीकृत भइसकेको शैक्षिक प्रमाणपत्र प्रमाणीकरणसम्बन्धी कार्यविधिलाई वेबसाइटमार्फत सार्वजनिक गर्न लगाइन् ।

पूर्वसचिव शंकरप्रसाद कोइराला संयोजकत्वको अध्ययन समितिले बुझाएको विदेशी शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालित शिक्षण संस्थाहरूको अध्ययनसम्बन्धी प्रतिवेदन पनि सार्वजनिक गरिन् । ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दूरगामी प्रभाव पर्ने निर्णयहरू नगर्न निर्देशन आएकाले नियमित र प्रक्रियामा रहेका काम मात्रै सम्पादन भयो,’ उनको सचिवालयले भन्यो ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार नै दीर्घरोगीहरूका लागि औषधि उपचार खर्चबापत ३५ करोड २६ लाख १९ हजार रुपैयाँ निकासा गरेका छन् । उनले मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघातका बिरामीका लागि उक्त रकम निकासा गर्नेसम्बन्धी फाइल स्वीकृत गरेका हुन् । उपचार खर्चसम्बन्धी कार्यविधि २०७८ अनुसार ती बिरामीले मासिक ५ हजार पाउँदै आएका छन् ।

स्वास्थ्य मन्त्रालयमार्फत देशभरका विभिन्न स्थानीय तहले रकम माग गरेका थिए । चालु बजेटबाट निकासा गरिएको उक्त रकम स्थानीय तहमार्फत बिरामीको बैंक खातामा जम्मा हुने मन्त्रालयले जनाएको छ । अर्थमन्त्री पुनले एमालेले सत्ता गठबन्धनबाट माओवादीलाई फाल्नुको औचित्य पुष्टि गर्नुपर्ने बताएका छन् । ‘हामीले सुशासन, समृद्धि, सन्तुलित बजेट ल्याएको हुनाले फाल्ने हो कि, आर्थिक शिथिलतालाई राम्रो गर्दै गएको हुनाले विस्थापित गर्न लागेको हो ? त्यसको चित्तबुझ्दो जवाफ चाहियो,’ उनले कान्तिपुरसँग भने, ‘होइन भने, हामी सरकार तत्काल नछाड्ने कुराको औचित्य पुष्टि गर्छौं र फेरि बुहमतको सरकार बनाउँछौं ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ मंगलबार औपचारिक कार्यक्रममा सहभागी भएनन् । उनका छोरा तथा स्वकीय अधिकृत रुपक तामाङका अनुसार पर्यटनमन्त्रीले मंगलबार मन्त्रालयकै नियमित काम गरे । ‘मन्त्रीको बाहिर कतै कार्यक्रम भएन,’ उनले भने, ‘मन्त्रालयमै भेटघाट र दैनिक काम गरेर फर्किनुभयो ।’

प्रकाशित : असार १९, २०८१ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×