कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७
अन्वेषण

‘मंगल यात्रा’ को आशा जगाउने ‘स्टारसिप’ 

अमेरिकी अर्बपति इलन मस्कको स्पेसएक्स कम्पनीले हालै परीक्षण गरेको ‘स्टारसिप’ लाई मंगल ग्रहमा पुर्‍याउने यानका रूपमा हेरिएको छ । मस्कले भविष्यमा मंगल ग्रहमा बसोबास गर्न जानेहरूलाई स्टारसिपबाट पठाउने बताएका छन् । त्यसका लागि स्पेसएक्सले ठूलो स्टारसिप विकसित गरिरहेको छ । 

काठमाडौँ — अमेरिकी अर्बपति इलन मस्कको कम्पनी स्पेसएक्सले गत महिना नयाँ रकेटको सफल परीक्षण गर्‍यो । उक्त रकेटको पछिल्लो भाग सफलतापूर्वक मेक्सिकोको खाडीमा अवतरण गर्‍यो भने माथिल्लो भाग पनि पृथ्वीको वायुमण्डलबाट बाहिर पुगेर बिनाठूलो नोक्सानी फर्किएर हिन्द महासागरमा खस्यो । 

‘मंगल यात्रा’ को आशा जगाउने ‘स्टारसिप’ 

‘स्टारसिप’ नाम दिइएको यानलाई ‘साँच्चिकै मंगलग्रहमा पुर्‍याउने’ जहाजका रूपमा हेरिएको छ । उनले भविष्यमा स्टारसिपमा सवार भएर रातो ग्रहमा बसोबास गर्न जानेहरूको कल्पना गरेका छन् ।

त्यो उद्देश्य प्राप्तिका लागि मस्कको स्पेसएक्स रकेट कम्पनीले ठूलो स्टारसिपको विकास गरिरहेको छ । स्पेसएक्सले विकास गरेको स्टारसिपको रकेट प्रणाली हालसम्मकै सबैभन्दा ठूलो र शक्तिशाली ‘सुपर हेभी बुस्टर’ माथि राखेर अन्तरिक्षमा पठाउने उनको योजनाले गत महिना तुलनात्मक रूपमा ठूलो सफलता हात परेको हो ।

मस्कले मंगल यात्राको कल्पना गर्दै २०१९ मा स्टारसिपको विकास अघि बढाएका थिए । २००२ मा स्थापित स्पेसएक्सले अमेरिकी सेनाका साथै नासाका भूउपग्रहलाई अन्तरिक्षमा पठाउनुका साथै अन्तरिक्षयात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्षमा लैजाने र ल्याउने कामको जिम्मा पाइसकेको छ । स्पेसएक्सले स्टारसिपको एक पटकको उडानमा करिब एक सय जनालई मंगल ग्रहसम्मको यात्रा गराउनु हो ।

मस्कको कम्पनी स्पेसएक्सले गरेको स्टारसिपको यो चौथो परीक्षण उडान हो । यसअघि गरिएका तीनवटै परीक्षणको अन्तिम नतिजा रकेटको विस्फोटनमा टुंगिएको थियो । तर, मस्क र स्पेसएक्स भने फाल्कन सिरिजका रकेटझैं स्टारसिपलाई पनि पुनः प्रयोगयोग्य अन्तरिक्ष यान बनाउनका लागि तल्लीन छन् । नासाले २०२६ को अन्तिमतिर चन्द्रमामा पुनः अन्तरिक्षयात्री पठाउनका लागि गरिरहेको तयारी पनि स्टारसिपको विकाससँग जोडिएको छ । त्यसैले पनि स्टारसिप केवल मस्कको अद्भूत कल्पना मात्रै नभएर भविष्यको अन्तरिक्ष यात्राको नयाँ आयाम पनि हो ।

स्टारसिपको लक्ष्य भनेको एक पटकको उडानमा करिब एक सय जनालाई मंगलग्रहसम्मको यात्रा गराउनु रहेको छ । मस्कले २०१९ मा मंगल यात्राको कल्पना गर्दै स्टारसिपको विकास अघि बढाएका थिए । उनले २००२ मा स्थापना गरेको स्पेसएक्स कम्पनीले अहिले लगभग अमेरिकी सेनाका साथै नासाका सबै प्रकारका भूउपग्रहलाई अन्तरिक्षमा पठाउनुका साथै अन्तरिक्षयात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्षमा लैजाने र ल्याउने कामको जिम्मा पाइसकेको छ ।

यो अहिलेसम्म बनेको सबैभन्दा अग्लो रकेट हो । यसको उचाइ ३९७ फिट छ । जुन ‘स्ट्याच्यु अफ लिबर्टी’ भन्दा करिब ९० फिट अग्लो हो । यो रकेट बुस्टरमा अहिलेसम्मकै सबैभन्दा धेरै इन्जिनहरू रहेका छन् । सुपर हेभीमा स्पेसएक्सका ३३ शक्तिशाली र्‍याप्टर इन्जिनहरू जडान गरिएका छन् । ती इन्जिनहरूले जुन ६ मा बिहान ७ बजेर ५० मिनेट जाँदा दक्षिण टेक्सासको लन्चप्याडबाट स्टारसिपलाई पृथ्वीको सतहबाट उठाउँदा पूर्ण थ्रोटलमा करिब १ करोड ६७ लाख पाउन्ड (करिब ७५ लाख किलो) थ्रस्ट उत्पन्न गर्नसक्षम थियो ।

नासाको नयाँ स्पेस लन्च सिस्टम रकेटले नोभेम्बर २०२२ मा आफ्नो पहिलो उडान गर्दा अधिकतम थ्रस्ट ८८ लाख पाउन्ड (करिब ३९ लाख किलो) को थियो । जुन हालसम्मका लागि उच्च रेकर्ड हो । अपोलो कार्यक्रममा नासाका अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा लैजाने स्याट्रन पाँच रकेटको अधिकतम थ्रस्ट करिब ७६ लाख पाउन्ड (करिब ३४ लाख किलो) मात्रै थियो । मस्कको स्टारसिपको अझ अर्को प्रमुख विशेषता भनेको यो पूर्णरूपमा पुनः प्रयोग गर्न मिल्ने गरी विकास गरिएको छ । सुपर हेभी बुस्टरले स्पेसएक्सको सानो फाल्कन ९ रकेटहरूजस्तै पुनः पृथ्वीमा फर्किएर अवतरण गर्न सक्षम छ ।

स्टारसिप अवतरणका लागि पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा स्काई ड्राइभरजस्तै गरेर तल आउनेछ र अन्तिममा भने त्यसमा जडित इन्जिनहरूको सहायतामा यो ठाडो भएर नै अवतरण गर्न सक्षम छ । यसको सफल परीक्षण जुन ६ मा पनि देखिएको थियो । हेभी बुस्टर मेक्सिकोको खाडीमा सुरक्षित अवतरण गरेको थियो । स्टारसिप भने हिन्द महासागरमा ठाडो भएर नै अवतरण गरेको स्पेसएक्सले जनाएको थियो । यो परीक्षण उडान पूर्णरूपमा दोषरहित भने थिएन । कठिन प्राविधिक अवरोधहरू अझै पनि बाँकी नै छन् । तर, गत मार्चमा गरिएको परीक्षण उडानको क्रममा देखिएका समस्या भने यस पटक हल गर्न मस्कको कम्पनी स्पेसएक्स सफल भएको छ । यसले उनी निकट भविष्यमा नै ठूलो, सबैभन्दा शक्तिशाली र पुनःप्रयोग गर्न योग्य रकेट विकास गर्न सक्षम हुनेछन् भन्नेमा सबैलाई आशावादी भने बनाएको छ ।

गत अप्रिलमा गरिएको पहिलो परीक्षणका क्रममा रकेट आफ्नो उडानको निर्धारित क्षेत्रभन्दा बाहिर गएपछि त्यसलाई जानाजान नष्ट गर्नॅपरेको थियो । त्यसको नतिजाबाट पाठ सिक्दै कम्पनीले ‘ब्रेक–इट, देन फिक्स–इट’ दृष्टिकोणलाई रकेट इन्जिनियरिङमा आत्मसात गरेको थियो । ‘उनीहरूले हामीले सोचेभन्दा धेरै छिटो प्रगति गर्न सक्ने क्षमता देखाउँदै छन्,’ अमेरिकन इन्स्टिच्युट अफ एरोनटिक्स र एस्ट्रोनटिक्सका कार्यकारी निर्देशक डेनियल एल डम्बाचरले भने, ‘उनीहरूले एउटा समूह बनाएका छन् जसलाई थाहा छ कि उनीहरू के गर्दै छन् । त्यो समूह सिक्न इच्छुक छ, र महत्त्वपूर्ण रूपमा, विगतमा अड्किँदैन ।’

यदि स्टारसिपले बारम्बार उडान गर्न सक्ने भयो भने यसले परम्परागत रकेटलाई जेटलाइनर जस्तै बनाउनेछ । जसका कारण विश्वव्यापी अन्तरिक्ष प्रक्षेपण उद्योगमा अभूतपूर्व रूपान्तरण हुन्छ । यसमा यसै पनि स्पेसएक्स पहिले नै हाबी छ । स्पेसएक्सको सफल परीक्षण उडान नासाका अधिकारीहरूका लागि पनि उत्साहजनक छ । नासाले २०२६ को अन्तिमतिर ‘आर्टेमिस ३’ मिसनअन्तर्गत अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमाको सतहमा पुर्‍याउनका लागि स्पेसएक्सकै भर परिरहेका छन् ।

नासाका प्रशासक बिल नेल्सनले मस्ककै स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्समामा उनलाई र कम्पनीलाई बधाई दिएका छन् । ‘हामी आर्टेमिसमार्फत चन्द्रमामा मानवता फर्काउन अर्को एक कदम नजिक छौं– त्यसपछि मंगल ग्रहलाई हेर्छौं,’ उनले लेखेका छन् । पृथ्वीबाट करिब २०९ किलोमिटर माथिको उचाइमा पुगेपछि, स्टारसिप माथिल्लो भागमा रहेको यान पूर्वयोजनाअनुसार नै पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गरेको थियो । अन्तरिक्षयानमा रहेका क्यामेराहरूले यसको मुनि तातिरहेको ग्यासको जीवन्त चमक कैद गरेका थिए ।

लगभग ४८ किलोमिटरको उचाइमा आइपुग्दा स्पेसक्राफ्टको शीर्ष स्थान नजिकैको स्टेयरिङ फ्ल्यापहरूमध्ये एकबाट टुक्राहरू छुट्टिन थाले तर फ्ल्यापले भने काम गर्न जारी नै राख्यो । स्टारसिपबाट छुट्टिएका टुक्राले लागेर लेन्स फुट्दा क्यामेराको दृश्य भने अवरुद्ध भयो । स्टारसिपले हिन्द महासागरमा अवरतण नगरेसम्म वास्तविक–समयको तथ्यांक स्पेसएक्सकै स्टारलिंक इन्टरनेट उपग्रहहरूमार्फत कम्पनीको मुख्यालय क्लालिफोर्नियमा पठाउन जारी राख्यो । अन्तिम इन्जिन जलेर स्टारसिपलाई अवतरण गर्नॅ अघि ठाडो स्थितिमा फ्लिप गर्नसमेत सक्षम रह्यो ।

‘दक्षिण टेक्सासबाट उडेको स्टारसिप पृथ्वीको अर्को छेउको पानीमा छ,’ स्पेसएक्स वेबकास्ट होस्टहरूमध्ये एक डान हुटले भने, ‘यो निकै महत्त्वपूर्ण दिन हो ।’ क्यालिफोर्नियामा मिसन नियन्त्रण कक्षबाहिर बसेर हेरिरहेका स्पेसएक्स कर्मचारीहरूको भीडले उक्त क्षणमा कुनै उत्सवजस्तै गरेर खुसी मनाएका थिए । ‘धेरै टाइलहरू छुट्टिए पनि र फ्ल्याप क्षतिग्रस्त भए पनि स्टारसिपले समुद्रमा निकै सुस्त रूपमा अवतरण गर्‍यो,’ मस्कले एक्समा लेखेका थिए ।

क्षतिग्रस्त फ्ल्याप र ताप–प्रतिरोधी टाइलहरूमा देखिएको समस्याले स्टारसिपमा अझै पनि केही महत्त्वपूर्ण स्तरवृद्धिहरू आवश्यक छन् भन्ने संकेत गर्दछ । अन्यथा, स्टारसिपलाई पनि स्पेससटलहरूजस्तै, प्रत्येक उडानपछि व्यापक नवीकरण आवश्यक पर्थ्यो । ‘तर यो सबै ठीक छ,’ अमेरिकन इन्स्टिच्युट अफ एरोनटिक्स र एस्ट्रोनटिक्सका कार्यकारी निर्देशक डुम्बाचेरले भने, ‘यो सही दिशामा एक कदम हो र त्यसतर्फ धेरै कदम चाल्नुपर्छ ।’

उडानका पहिलो चरणमा रकेटको विशाल ‘सुपर हेभी बुस्टर’ ले दक्षतापूर्वक केही गतिविधि पनि गर्‍यो जसले गर्दा भविष्यमा यसलाई प्रक्षेपण साइटमा नै फिर्ता लैजान सकिने संकेत दिएको छ । यसले मेक्सिकोको खाडीमा कुशलतापूर्वक अवतरण गर्‍यो । यसभन्दा अघि परीक्षण गरिएका तीनवटै उडान विस्फोटनमा समाप्त भएका थिए । केही साताअघि सफल प्रक्षेपण पूर्वाभ्यासपछि, मस्कले एक्समा यो उडानको प्राथमिक लक्ष्य भनेको स्टारसिपलाई अधिकतम उचाइमा पुर्‍याएर पुनः प्रवेश गराउँदा अधिकतम तापबाट निकाल्ने’ हुनेछ । अर्को शब्दमा भन्नुपर्दा, उनी अत्याधिक तापका कारण यान जलेको हेर्न चाहँदैनन् । जसमा स्पेसएक्स र मस्क दुवै सफल भएका छन् ।

–एजेन्सीहरूको सहयोगमा

प्रकाशित : असार २१, २०८१ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×