कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

पप सम्राट्को दोस्रो ‘इनिङ’

ओमविक्रम विष्टमाथि ८ वर्षअघि बज्रपात आइलाग्यो, एल्बम निकाल्ने तयारीमा रहेका विष्टले गीत ‘रेकर्डिङ’ गरिरहादा मिर्गौलामा समस्या देखियो, त्यसपछि उपचारका लागि अमेरिका हान्निएका ओम मिर्गौला प्रत्यारोपणपछि नेपाल फर्केका छन्, थाती रहेको एल्बमको ‘रेकर्डिङ’ गर्दै छन्
ओम भन्छन्– गीत गाउँदा विदेशीको लवज पछ्याउँदै नेपाली भाषा बिगार्ने होइन, पप संगीतमा नेपालीपन हुनुपर्‍यो, हरेक गीतको बजार हुनुपर्छ, तर हामीकहाँ नेपाली पप हराएकै छ, पश्चिमा पप कपी गरेजस्तो मात्र सुनिन्छ, अहिलेको पपमा मेलोडी छैन
रीना मोक्तान

काठमाडौँ — त्यतिबेला पपलाई गफ भनिन्थ्यो । पश्चिमा वाद्यवादन मिसिएको गीत, कि आधुनिक हुन्थ्यो कि त अत्याधुनिक । आलोचना गर्नेको लहर उस्तै, पप गाउनेलाई झुर गायन भन्दै गालीसमेत गरिन्थ्यो । ओमविक्रम विष्टलाई भने पश्चिमा वाद्यवादन असाध्यै मनपर्ने, ‘एक्सपेरिमेन्ट’ र ‘एक्सपेरियन्स’ गर्न उतिकै रुचि । पश्चिमा वाद्यवादन मिसाउँदै विष्टले गरेको ‘एक्सपेरिमेन्ट’सँगै नेपालमा भित्रिएको हो, पप संगीत । पछि भने उनी कहलिए नेपालको पप सम्राट् । 

पप सम्राट्को दोस्रो ‘इनिङ’

आठ वर्षअघि यही सम्राट् विष्टमाथि बज्रपात पर्‍यो । न्हू बज्राचार्यको स्टुडियोमा, गोपाल रसाइलीद्वारा ‘एरेन्ज’ गरिएका १२ गीतको ‘रेकर्डिङ’ गरिरहँदा मिर्गौलामा समस्या देखियो । एल्बम निकाल्ने तयारीमा रहेका विष्ट उपचारका लागि हतारमै हान्निए, अमेरिका । मिर्गौला फेल भएको थाहा पाउनासाथ सुरु भए, डायलाइसिसका संघर्षशील वर्षहरू । सातामा दुई पटक डायलाइसिस गर्नुपर्ने, बिस्तारै विष्टको स्वर सुक्दै गयो । त्यतिबेला ‘रेकर्ड’ गर्न बाँकी १२ गीतको सम्झनाले मन दुखाउँथ्यो । छोराछोरीको हेरचाह कसले गर्ला ? परिवारको चिन्ताले गलाउँथ्यो । भगवान् भरोसामा बस्न थाले ।

त्यही चिन्ता, तनाव र दुःखलाई चर्चको ड्रमतिर पोख्थे, चर्को आवाजमा ड्रम बजाइदिन्थे । अमेरिकामा रहेका दुई छोरी र ज्वाइँले सधैं हौसला थपिरहन्थे, मिर्गौला पाउने आस देखाउँथे । डायलाइसिस गरेको अढाई वर्षपछि एक दिन ‘डोनर’ भेटियो, बाँच्ने आशा पूरा भयो । ‘किड्नी’ पाउने खबर सुन्नासाथ ज्वाइँहरूले अस्पताल लिएर कुदाउनुभयो । ६ घण्टा लामो ‘अप्रेसन’ भयो । मलाई ‘किड्नी’ कोही मरेको मान्छेले दिएको रहेछ । उ मर्‍यो, तर मलाई बचाएर गयो । त्यसैले कहिलेकाहीं म उसलाई धन्यवाद दिन्छु, पेटतिर छाम्दै विष्टले भने, ‘उसले गर्दा नै बाँच्न पाइयो । यो सब परमेश्वरको आशीष हो ।’

पप गायक ओमविक्रम विष्ट । तस्बिरहरू : दीपक केसी/कान्तिपुर

जीवन र मृत्युसँग पैठेजोरी खेलेका विष्ट अहिले नेपालमा आइपुगेका छन् । अमेरिकाको लामो बसाइपछि घर फर्किएका विष्ट आठ वर्षअघि थाती रहेको एल्बमको ‘रेकर्डिङ’ गर्दै छन् । १२ गीतमा अन्य ४ थपिएसँगै, १६ गीतको ‘रेकर्डिङ’मा व्यस्त छन्, अहिले । नयाँ पुस्तामाझ नवीन जोस बोकेर उनी संगीतको बजारमा फर्कंदै छन् । यी गीतले कस्तो प्रतिक्रिया, ‘भ्युज’ बटुल्ला ? त्यसले खासै फरक पार्नेवाला छैन । त्यसको कारण एउटै हो । दशकअघि नै ‘को हो त्यो’, ‘म मौनता’ लगायतका दुई सय गीतमार्फत विष्टले आफूलाई सावित गरिसकेका हुन् । ‘अहिले पप संगीतमा नयाँ पुस्ताहरू हुनुहुन्छ । त्यही नयाँ पुस्ताअघि नयाँ गीत नयाँ जोससहित ‘रेकर्डिङ’ गर्दै छु,’ विष्टले ‘रेकर्डिङ’को खुसी बाँडे ।

६८ वर्षको उमेरमा पनि गीत ‘रेकर्डिङ’लाई लिएर उनी उत्तिकै उत्साहित छन्, जति बाल्यकालमा पहिलो पटक ‘इलेक्ट्रिक’ गितार छुँदा भएका थिए । संगीतको लगावले डेढ तल्लाबाट बजारिएनन् मात्रै, गोजीको पैसा रित्याउँदै आफूलाई मनपर्ने संगीत गर्नेहरूसँग नजिकिएका किस्सा ओमको विगत बनिसक्यो ।

२०१२ सालमा न्युरोडमा जन्मिएका हुन्, ओम । सानैदेखि बिटल्सका गीत सुन्थे । बुबाले ‘रेकर्ड प्लेयर’ ल्याइदिएका थिए, त्यसैमा बिटल्सका गीत सुन्थे । बुबा दौलतविक्रम विष्ट श्री ५ को सरकारको शाखा अधिकृत त्यसैले मलेसिया, सिंगापुर पुगिरहने । उनी बुबासँग गितार मागिरहन्थे, एक दिन बुबाले माग पूरा गरिदिए । ‘एकस्टिक गितार ल्याइदिनुभएको रहेछ । खासमा त्यो त भित्तामा झुन्ड्याएर राख्ने खालको गितार रहेछ । बजाउँदा बजाउँदा औंलाभरि घाउ भएको थियो,’ पहिलो गितार हात पर्दाको सम्झना सुनाउँछन् ओम । त्यो गितार बजाउने धोको पूरा नभएपछि न्युरोडमा ६५ रुपैयाँमा अर्को गितार किने उनले । त्यही गितारमा तीनवटा ‘कर्ड’ सिकेर १० वर्षको उमेरमै डबलीमा नेवारी गीत गाए ।

संगीतप्रति झुकाव बढ्दै जाँदा एक दिन घरछेवैको गुच्चा टोलमा कसैले ‘इलेक्ट्रिक’ गितार बजाएको आवाज गुन्जियो । गितारको त्यस किसिमको नौलो आवाज सुन्नेबित्तिकै ओम आकृष्ट भइहाले । त्यो आवाज सुन्न उनी झ्यालमा चढे, ढोका सबै बन्द थियो । झ्याल पनि बन्द नै थियो, बन्द ढोकामा झुन्डिएर उनी ‘इलेक्ट्रिक’ गितारको आवाज सुन्दै थिए । रोबर्ट शर्मा, किशोर थापालगायतका लामो कपाल पालेका दाइहरू झुम्दै ‘इन्ट्रुमेन्टल’ बजाइरहेका थिए । झट्ट हेर्दा बिटल्सजस्तै देखिन्थे ।

आधा घण्टापछि दाजुहरूले झ्याल खोले, डेढ तलाबाट उनी भुइँमा बजारिए । चोट ठूलो लागेन, पश्चिमा संगीतसँग त्यही दिनदेखि मितेरी गाँसियो उनको । ओमको लगाव बुझेरै रोबर्टहरूले ओमलाई ‘इलेक्ट्रिक’ गितार बजाउन दिए । गितारको एउटा ‘स्ट्रिङ’लाई मज्जाले ताने, ड्वाङ्ग आवाज आयो । त्यहीबेलै ‘इलेक्ट्रिक’ गितारले मुटुमा हान्यो । अनि ‘इलेक्ट्रिक’ गितारमा तीनवटा ‘कर्ड’ बजाएर सुनाइदिए । उनीहरू सबै छक्क परे । रोबर्टको टोलीसँग बिस्तारै नजिकिए उनी । ‘ब्यान्ड’का सदस्यले अह्राएको सबै काम उनी खुरुखुरु मानिदिन्थे । उनीहरूले ‘द पाखेज’ भन्ने ‘ब्यान्ड’ खोले । त्यसपछि कमल चित्रकारहरूले ‘सेकेन्ड प्याकेज’ खोले ।

उतिबेलाको निकै प्रख्यात ‘ब्यान्ड’– ‘डायमन्ड’ । ‘ब्यान्ड’सँग नजिकिन पनि उस्तै पापड बेले ओमले । पारिवारिक पृष्ठभूमि राम्रै, खर्च गर्न खासै समस्या नहुने । डायमन्डका ‘ब्यान्ड’ दाजुहरूलाई चुरोट, खाजा लगिदिने गर्दागर्दै उनी सबैको प्यारो भाइ बने । ‘ब्यान्ड’का सुवर्ण लिम्बू, डम्बर राई, पेम्बा लेप्चा, देव राणा, डम्बर सुब्बा, विक्रम सुब्बा, जोर्ज सुब्बाहरूसँग मिलेर पहिलो पप गीत ‘बितेको जीवन’ गाएका थिए ।

‘म मौनतामा’ गाउँदा त उनी १४ वर्षका मात्र थिए । ‘ब्यान्ड’सँग नजिकिएसँगै एक दिन सुवर्ण लिम्बूले ‘एउटा गीत छ कि दाम्मी, आम्बो त्यो गीत त ओम भाइले गाउनुपर्छ’ भनिहाले । रोबर्ट सुब्बाको लेखन रहेको गीतको ‘कसलाई’ भन्ने शब्दमा स्वर तान्ने ‘इम्प्रोभाइज’ गरे । राति साथीभाइसँग रमाइलो गर्दै उनीहरू यो गीत अभ्यास गर्थे । अभ्यासमा ओमको गायन देखेर सबै दंग । गीत ‘रेकर्ड’ गर्ने कुरा भयो । त्यतिबेला बुबा दौलत रेडियो नेपालको प्रमुख । ओमले गाउने गीत बुबालाई मन नपर्ने । ‘यसले गाएको गीत बुझ्दिन हौ,’ भन्नुहुन्थ्यो ।

तर बुबाकै कारण नातिकाजी र शिवशंकरले गीत ‘रेकर्डिङ’को मौका दिए । पहिलो पटक रेडियोमा ड्रम, बेस गितार, गितारदेखि ‘वावा’जस्ता वाद्यवादन बोकेर उनीहरू पुगे । २०३३ सालमा यो गीतको ‘लाइभ रेकर्डिङ’ भयो । जब वाद्यवादन बज्थ्यो, संगीत पश्चिमाजस्तो सुनिन्थ्यो, तर गायन शैली नेपाली । गीत निकै ‘हिट’ भयो, रेडियोमा सधैं बजिरहने । हुन त त्यसअघि गाएको पहिलो पप गीत ‘बितेको जीवन मेरो’ पनि खुबै चल्यो । त्यसपछि ‘याद गर ती दिनहरू’ भन्ने गीत पनि ‘हिट’ ।

‘म मौनतामा’ भने ‘सुप्पर–डुपर हिट’ । १४ वर्षको उमेरमै रेडियो नेपालमा ‘माया त होला नि, त्यो छातीभित्र’ भन्ने शास्त्रीय गीत गाउँदा ओम कुनै दिन पप गायकका रूपमा स्थापित होलान् भन्ने कसैले सोचेकै थिएनन् । अत्याधुनिक गीत गाएर २०३७ मा रेडियो नेपालमा प्रथम भएका ओमले ‘बाह्रबिसे बजारैमा, चुरा लाउने धागो’, ‘हे लैलै दूधकोसी तर्नुछ, छेउ काटी रुमाल चट्टै’ लगायतका लोकगीत गाए । ‘त्यतिबेला हामीले पश्चिमा संगीत के हो, पप के हो भन्ने कुरा ‘डायमन्ड’मार्फत नै परिचित गरायौं,’ ओम सुनाउँछन्, ‘नातिकाजी, शिवशंकरले यस्तो पनि गीत हुन्छ भनेर गाली गर्नुहुन्थ्यो । पछि त उहाँहरू नै पश्चिमा बाजामा आकर्षित हुँदै जानुभयो ।’

त्यतिबेला दार्जिलिङमा दस दिनको ‘कन्सर्ट’ हुन्थ्यो । २०/२५ रुपैयाँ टिकट दरमा दर्शकको महासागर ओर्लिन्थ्यो । दार्जिलिङ, कालिम्पोङ, सिक्किम, असम, सिलगुडीमा ‘कन्सर्ट’को माग हुन्थ्यो । एक पटक नारायण गोपाल, कुमार बस्नेत, मीरा राणा, मधु क्षेत्रीसँग पूर्वाञ्चल टुरमा हिँडेका थिए । त्यतिबेला धरानको एउटा मञ्चमा पिएर मञ्च उक्लेका नारायणको दर्शकसँग ठाकठुक पर्‍यो । त्यसपछि नातिकाजीले ओमलाई मञ्चमा बोलाए । त्यतिबेला दर्शकको मागअनुसार चार पटक मौनतामा गाउनुपर्दा हैरान ।

‘दुई पटकसम्म त गाइयो, तर दर्शकले ‘वान्स मोर’ भन्न नरोकिएपछि अप्ठ्यारो मान्दै चार पटकसम्म गाउनुपर्‍यो,’ उनले भने, ‘म मौनतामा भन्ने गीत अरूभन्दा फरक थियो । नारायण गोपाल, प्रेमध्वज प्रधान, बच्चु कैलाशले गाउनेभन्दा धेरै पृथक् थियो । बाजा अर्कै थियो, गाउने शैली पनि अर्कै । त्यसैले जहाँ जाँदा पनि युवाले यही गीतलाई रुचाइदिन्थे ।’ गीतमा प्रयोग गरिएका ‘कर्ड’ पनि सजिला छन् । त्यसैले गितार अभ्यास गर्ने भर्खरका किशोर/किशोरीले यो गीत गाएको देख्दा उनलाई रमाइलो लाग्छ । ‘अहिले पनि यो गीत सबैले गाएको देख्दा सुखद् अनुभव लाग्छ । नाक फुलाउने कुनै कारण छैन, घमन्ड केलाई गर्नु र ?’ मुस्कुराउँदै ओमले भने ।

‘को हो त्यो जसले मलाई’ बोलको गीतका प्रसंग पनि रोचक छन् । शाही चलचित्र संस्थानले बनाएको ‘के घर के डेरा’ को गीत हो यो । फिल्ममा दुई संगीतकार शम्भुजित बाँस्कोटा र शुभबहादुर सुनाम । दुई संगीतकारबीच ओमलाई गीत दिने/नदिने भन्नेमा लामै बहस भएछ । अन्तमा उनले गीत गाउन पाए । कलकत्तामा गीतको ‘रेकर्डिङ’ गरियो । उनीहरू आफ्नै खर्चमै कलकत्तामा पुगे । तारा थापाले गीतको अंग्रेजी लाइन ‘ह्वाइ डन्ट यु आस्क योर लभ’ लाई ‘ह्वाइ डन्ट यु आस्क योर लाइफ’ भनेर गाउँदा २९ ‘टेक’सम्म गाउनु परेको थियो । ‘त्यस्तो कराउनुपर्ने गीत, खाना दिइएको थिएन । भोकभोकै गाइएको थियो । म त भोकले लड्छुजस्तै भएको थियो,’ ओम गीत ‘रेकर्डिङ’ गर्दाको क्षण सम्झन्छन् ।

‘स्टेज’मा भने उनले यो गीतलाई ‘रक’ शैलीमा गाइदिन थाले । उनी मञ्चमा नाच्दै गीत गाउँथे, त्यतिबेला अधिकांश माइकमा तनक्क तन्किएर गाउँथे । उनी भने माइक बोक्दै प्रस्तुति दिँदै गाउँथे । यो गीतले पनि थुप्रै ‘स्टेज’हरू ततायो । गीतमा प्रयोग भएका बाजाहरू निकै रोचक, गीत बज्ने बित्तिकै दर्शक झुमिहाल्ने । शुभबहादुर सुनामकै ‘आऊ आऊ मेरो दिलमा तिमी’ भन्ने गीत पनि ‘हिट’ भयो । ‘मेरो रहर ब्युँझिएर’, ‘सुनचाँदी’, ‘नभनिदे मेरो ओठको लाली’, ‘हररात मिठा स्वप्नहरूमा’, ‘आऊ आऊ मेरो दिलमा तिमी’, ‘फुटेको भाग्य जोड्ने’, ‘मेरो याद अझै’लगायतका गीत निकै चर्चित छन् ।

ओमले ‘सुनचाँदी’बोलको गीतबाट सुक्मित गुरुङलाई संगीत क्षेत्रमा प्रवेश गराए । त्यतिबेला रत्न रेकर्डिङ संस्थानमा ‘रेकर्डिङ’ गर्न चार गीत पाएका थिए । नारायण गोपालले त्यहीबेला १२ वटा गीत पाए । चार गीत गाउन नयाँ गीत चाहियो । प्रकाश गुरुङको संगीतमा गीतहरू गाउने क्रममा महिला स्वर चाहियो । अनि, त्यही क्रममा सुक्मित गुरुङ उनलाई भेट्न आए । ‘सुनचाँदी’ पनि ‘को हो त्यो’ जसरी नै चर्चित बन्यो । हरेक ‘कन्सर्ट’मा उनी सुक्मितलाई लिएर जान्थे । कुन्ती मोक्तानदेखि डेजी बराइली, संगीतकार अरुण थापालाई पनि उनी आफैंले यो क्षेत्रमा ल्याए । राम थापालाई पनि आफैंले गितार सिकाएको उनी बताउँछन् । नरेन्द्र भट्टले एक दिन उनलाई ‘फुटेको भाग्य’ बोलको गीत दिए । त्यतिबेला यो गीतले दार्जिलिङमा व्यापक भयो । राम थापाको ‘मेरो याद’ले पनि बजार पिट्यो । दार्जिलिङमा उनका गीतलाई यति रुचाइन्थ्यो कि एकपल्ट त २८ गीत एकैपटक गाउनुपर्‍यो ।

पप संगीत नबुझ्दासम्म रेडियो नेपालमै पनि ओमले धेरै बाधा झेल्नुपर्‍यो । संगीत बिगार्न आएको आरोप लाग्थ्यो । रेडियोमा ‘रेकर्डिङ’को समय नपाउँदा आँखाभरि आँसु लिएर फर्कन्थे । ‘रेकर्डिङ’को समय दिइहाले, मिति पनि हेरफेर भइरहन्थ्यो । एक दिन ‘रेकर्डिङ’का लागि समय माग्न जाँदा बेस्सरी टेबल ठट्याइदिए । त्यसपछि भने ‘बितेको जीवन’ बोलको पहिलो पप गीत ‘रेकर्ड’ गर्न पाए । संगीतप्रतिको ‍त्यस किसिमको लगाव सम्झिँदा ओमलाई लाग्छ, यी किस्साहरूमा एउटा फिल्म नै बन्छ । नातिकाजीदेखि शिवशंकरलाई समेत थर्काउन ओमको टोली रेडियो नेपाल पुग्थ्यो ।

पप विधा नबुझ्नेहरूसँग ओमले थुप्रै पटक जोरी खोजेका छन् । जोरी खेल्दै ‘याद गर ती दिनहरू’ ‘रेकर्ड’ गरे । त्यसपछि भने सजिलै ‘रेकर्डिङ’को समय पाए । त्यही रेडियो नेपालले ओमलाई चिनायो । पप संगीतको सुरुवात गर्दा यस्ता अड्चन खेपेका ओम पप संगीतमा सक्रिय युवा गायकलाई बाजा पश्चिमा भए पनि नेपाली भाषामा, नेपाली उच्चारणमा गीत गाउन सल्लाह दिन्छन् । ‘गीत गाउँदा विदेशीको लवज पछ्याउँदै नेपाली भाषा बिगार्ने होइन, पप संगीतमा नेपालीपन हुनुपर्‍यो । तर, अहिलेका युवाले पप संगीत भन्दै विदेशीले नेपाली बोलेको शैलीमा गीत गाइरहेका छन्,’ उनी भन्छन्, ‘हरेक गीतको बजार हुनुपर्छ, तर हामीकहाँ नेपाली पप हराएकै छ । पश्चिमा पप कपी गरेजस्तो मात्र सुनिन्छ । अहिलेको पपमा ‘मेलोडी’ छैन ।’

प्रकाशित : असार २०, २०८१ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु आर्थिक वर्ष सकिन लाग्दा पनि दर्जनभन्दा बढी मन्त्रालयको पुँजीगत खर्च ४० प्रतिशतभन्दा कम हुनुको प्रमुख कारण के होला ?

×