ब्याट नं. ३८ का अब्बल अधिकृत

गुल्मीको मदाने गाउँपालिका–७ भनभनेमा जन्मेहुर्केका २५ वर्षीय विक्रम पन्थी नेपाल सरकारको अधिकृत ‘ब्याट–३८’ का कान्छा राजस्व अधिकृत हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत फागुनमा नियुक्ति दिएसँगै यतिबेला उनी ६ महिने तालिमको संघारमा छन् । 

असार १७, २०८१

प्रकृति दाहाल

bat no. A great officer of 38

काठमाडौँ — नेपाल सरकारको अधिकृत ‘ब्याट–३८’ (बेसिक एडमिनिष्ट्रेसन ट्रेनिङ) का कान्छा राजस्व अधिकृत हुन् विक्रम पन्थी । २०८० फागुन २ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नियुक्ति दिएसँगै यतिबेला उनी ६ महिने तालिमको अन्तिम संघारमा छन् । देशभरका साथीभाइको संगत, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को सिकाइ मोडलबाट आत्मविश्वास बढाइरहेका छन् उनले । आगामी दिनमा सेवाग्राहीलाई सेवा दिनका लागि तत्पर उनी कार्यस्थलमा गर्नुपर्ने कामका लागि उत्साहित भइरहेको बताउँछन् । 

२०८० वैशाखमा संघीय संसद् सचिवालय सिंहदरबारमा खरिदार पदमा सिफारिस भएका पन्थीले छोटो समयमा नै अधिकृतको यात्रा तय गरेका हुन् । संसद्मा खरिदार पदमा ९ महिनाको कार्यानुभव सम्हाल्दै गर्दा उनी राजस्व अधिकृतमा नाम निकाल्न सफल भएका हुन् । एकै वर्षमा संघीय संसद् सचिवालयको खरिदार, लुम्बिनी प्रदेशमा पाँचौं तह र राजस्व अधिकृतमा नाम निकाल्न सफल हुनुका पछाडि उनका थुप्रै संघर्ष र मिहिनेत जोडिएका छन् । 

तरकारी बेच्दै पढ्दै 

२५ वर्षीय पन्थी गुल्मीको मदाने गाउँपालिका–७ भनभनेमा जन्मेहुर्केका हुन् । परिवारमा चार छोराछोरीमध्ये कान्छा छोरा हुन् उनी । कामका लागि भारत पुगेका बाबु दीपनारायण र कृषि कर्ममा क्रियाशील आमा कमलाले छोराछोरीको माध्यमिक तहसम्मको शिक्षादीक्षा पूरा गरिदिए । लामो समय भारत बसेर बुबा ०६८ सालमा फर्किए । त्यसपछि पन्थीका बुबा छोराछोरीको पढाइका लागि खेतबारीमा फलाएका आलु, मेवा, खुर्सानी, काउली, अम्बा डोकोमा बोकेर घरबाट करिब ३ किलोमिटर टाढाको गाउँ हाडहाडेमा उकालो चढ्दै पुग्थे र घरघरमा गएर तरकारी बेच्थे । 

bat no. A great officer of 38तस्बिरहरू : दीपक केसी/कान्तिपुर

कक्षा १० मा पढ्दा त विक्रम पनि बुबासँगै हाडहाडेको गाउँमा घरघरै पुगेर तरकारी बेच्थे । तर त्यतिबेला भने उनलाई त्यसरी घरघरमा पुगेर तरकारी बेच्दा साह्रै नरमाइलो लाग्थ्यो । गाउँमा डोकोमा तरकारी बेच्नुलाई हीनभावनाबाट हेरिन्थ्यो । ‘फलानोको बाबुले ढोकोमा तरकारी बोकी हाडहाडे लगेर घरघरमा गएर बेच्छ रे भनेर गाउँमा गिज्याएको सुन्दा मन खिन्न हुन्थ्यो,’ बाल्यकालको सम्झना गर्दै उनी भन्छन्, ‘मेरो बुबाले अहिले पनि तरकारी बेच्नुहुन्छ तर अहिले बुबाको त्यो उद्यमशीलता देख्दा गर्व लाग्छ ।’ 

bat no. A great officer of 38

हिउँदमा मात्रै बुबाले ५० हजारसम्मको आलु ढोकोमै लगेर बेचेको उनी बताउँछन् । घरको आर्थिक अवस्था सामान्य भए पनि उनका बुबाले उनलाई पढ्नमा सधैंभरि हौसला दिइरहे । स्थानीय श्री दीपक माध्यमिक विद्यालयबाट एसएलसीसम्म अध्ययन गरेका हुन् पन्थीले । सात कक्षासम्म उनको पढाइ सामान्य थियो ।

विद्यालयमा पहिलो र दोसो विद्यार्थीका लागि पुरस्कारको व्यवस्था हुन्थ्यो । साथीहरूले पुरस्कार पाउँदा निराशा छाउँथ्यो उनमा । आठ कक्षादेखि भने पढाइ सुधार्ने प्रण लिएका उनले पढाइ सुधार्न निकै मिहिनेत गरे । ‘सायद पुरस्कारको हुटहुटी नभएको भए मेरो पढाइ सुध्रिँदैनथ्यो होला, पुरस्कारकै लागि मैले पढाइमा मिहिनेत गरें,’ उनले भने । एसएलसीमा झन्डै ७० प्रतिशत ल्याएर अब्बल विद्यार्थीमा आफूलाई दर्ज गरेपछि भने उनको फढाइ कहिल्यै ओरालो लागेन । 

वत्तृत्वकलाका ‘सेलिब्रेटी’ 

विद्यालयस्तरदेखि नै ऊनी वत्तृत्वकलामा खरो थिए । सँगसँगै उनी गजल तथा कविता प्रतियोगितामा पनि सहभागी हुन थाले । यसका साथै संस्कृतका श्लोक पनि लयात्मक तरिकाबाट वाचन गर्ने उनी अरू विद्यार्थीभन्दा भिन्न देखिन थाले । स्पष्ट बोल्नुका साथै सामाजिक–राजनीतिक चासो पनि उत्तिकै थियो । उनले भने, ‘म राजनीतिमा पनि विद्यालयदेखि नै चासो राख्थें, वक्तृत्वकला र साहित्यमा जोडिएको भएकाले पनि म सामाजिक क्रियाकलापमा अग्रसर हुन्थें होला ।’ 

bat no. A great officer of 38राजनीतिमा अगाडि बढ्ने हुटहुटी थियो । उनी अहिले पनि भन्छन्, ‘मेरो जिन्दगीको एउटै धोको भनेको देशको जनप्रतिनिधिका रूपमा काम गर्ने हो । तर समय र बाध्यताले प्रशासक बनाए पनि जनताको सेवा गर्ने चाहनाचाहिँ पूरा हुने नै भयो ।’ विद्यालयबाट सुरु भएको अभ्यासले उनलाई वक्तृत्वमा अब्बल बनाइसकेको छ । थुप्रै पुरस्कार हात पारिसकेका छन् । सानाठूला गरी सयभन्दा बढी मञ्चमा भाषण, कविता, गजल र वक्तृत्वकला प्रस्तुत गरेको अनुभव छ उनीसँग । 

२०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राखेको ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ विषयक राष्ट्रव्यापी वक्तृत्वकला प्रतियोगितामा उनले प्रथम स्थान हासिल गरे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट २५ हजार नगदसहित प्रशंसापत्र प्राप्त गरे । ‘त्यसबेला प्रथम भएर प्रधानमन्त्रीबाट पुरस्कार प्राप्त गर्नु ठूलो सफलता भएको महसुस गरें,’ उनी भन्छन् । 

मोबाइलको रहरले पञ्जाबमा ‘बेटर’

गुल्मी तम्घासस्थित रेसुंगा बहुमुखी क्याम्पसमा ‘प्लस टु’ पढ्दै थिए उनी । गाउँमा मोबाइल बोक्ने ‘ट्रेन्ड’ भित्रिइसकेको थियो । मोबाइलबाट सबैले फोटो खिच्थे । वत्तृत्वकला, गजल कार्यक्रममा आफ्ना प्रस्तुतिको फोटो खिच्नु थियो उनलाई । तर किन्ने कसरी ? भारतमा गएर काम गरे पैसा कमाइन्छ भन्ने लाग्यो उनलाई र हानिए भारत । मोबाइल बोक्ने रहर सँगै बुबाले काम गरेको पञ्जाब राज्यको मलोट सहर पनि हेर्नु थियो उनलाई । त्यहाँ पुगेपछि भने उनको भूमिका अलग भयो । 

bat no. A great officer of 38होटलदेखि पार्टी प्यालेससम्म बेयराको काम गर्न थाले उनले । ‘पार्टी या कुनै कार्यक्रम हुँदा ठेकेदारले त्यसको जिम्मा लिन्थ्यो अनि हामीलाई काममा लगाउँथ्यो,’ उनले भने । त्यतिबेला उनले दिनको तीन सय कमाउँथे । पछि भाँडा सफा गर्न थालेका उनले बिस्तारै ‘वर्गर’, चाउमिन बनाउन थाले । ‘पञ्जाबको त्यो गर्मीमा भाँडा माझ्दा आफैंमा हीनताबोध पैदा भयो,’ उनी भन्छन्, ‘मोबाइल किन्ने सपना पूरा नभएपछि फेरि पञ्जाब नफर्कने सोच बनाएर घर फर्किए ।’ दुई महिनामै पञ्जाब बसाइ टुंग्याएर फर्किएका उनले अध्ययनलाई निरन्तरता दिए । 

विकल्प खोज्दै लोक सेवा 

कक्षा १२ सम्म मानविकी संकायमा गणित, अर्थशास्त्र र राजनीतिशास्त्र विषय पढेका उनले स्नातकमा अर्थशास्त्र र राजनीतिशास्त्र रोजे । स्नातकमा उनले ‘कलेज टप’ गरे । कलेजको अन्तिम वर्ष ‘नारायणीदेवी पाण्डेय’ अनुशासन पुरस्कारबाट सम्मानित पनि भए । कक्षा १२ मा पढ्दा नै उनी घुम्नकै लागि लोक सेवामा फारम भर्ने बहानामा बुटवल पुग्थे । तर मन भने लोक सेवाले तानिसकेको थिएन । स्नातक पढ्दा उनको अन्तर्यमा नेता बन्ने चाहना थियो । 

तर जब स्नातक पढाइ सकेपछि काठमाडौं पसे उनी केही समय लोक सेवा कक्षा लिन पुगे । त्यसबेलासम्म पनि उनलाई लोक सेवाको परीक्षा दिनेतर्फ उति रुचि थिएन । लोक सेवालाई थाती राख्दै त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्रमा स्नातकोत्तरको पढ्ने सोच बनाए । तर अंग्रेजीमा कमजोर उनलाई पढ्न उति सहज भएन । त्यसअघि सधैं कक्षाकोठामा अगाडिको बेन्चमा बस्ने उनी पछाडि बस्न थाले । ‘पढाइमा म राम्रो विद्यार्थी नै थिएँ, तर अंग्रेजी नजान्दा पछाडि परेको महसुस भयो,’ उनले भने, ‘भाषा नजान्दा कति फरक पर्दोरहेछ भन्ने त्यही बेला महसुस भयो ।’ 

अंग्रेजी कमजोर भएकै कारण काठमाडौंको एक निजी विद्यालयको ‘लाइब्रेरी’को जागिर एक दिनमै छाड्नु परेको बताउँछन् उनी । त्यसपछि सोचमग्न भएका उनको लोक सेवा यात्रा भने ‘कोभिड’ महामारीपछि सुरु भएको हो । कीर्तिपुरको बसाइले पनि उनलाई लोक सेवा पढ्ने जाँगर चलाइदिएको भन्दा हुन्छ । खासमा ‘अरू कुनै विकल्प नदेखेपछि’ लोक सेवा पढ्न कस्सिएको बताउँछन् उनी । ‘व्यापार गर्ने पारिवारिक पृष्ठभूमि थिएन, विदेश जाने रहर कहिल्यै पलाएन,’ उनले भने । 

लोक सेवामा सफलता 

राजनीतिमा रुचि र समाजलाई नजिकबाट नियाल्ने बानी थियो उनको । यसले नै उनको सोच फराकिलो बनायो । त्यसमाथि साथीहरूले लोक सेवामा सफलता पाउन थालेपछि उनलाई पनि हतार भयो । त्यसपछि मिहिनेत अलि बढी नै गरे । किताबी ज्ञानमा मात्र सीमित भएनन् । दैनिक पत्रपत्रिका पढेर समसामयिक विषयवस्तुमा जानकारी बढाउन थाले उनले । सामाजिक सञ्जाल चलाउन र साथीभाइको भेटघाट कम गर्न थाले । लोक सेवाको कक्षा भर्ना भए उनी । घरबाट खर्च मगाउन थाले र तयारीमै केन्द्रित भए । 

bat no. A great officer of 38सरकारी संस्थान, निजामती, प्रदेश र स्थानीय सेवा गरी थुप्रैतिर परीक्षा दिए, तर नाम कतै निस्किएन । ‘लोक सेवामा थोरै मिहिनेतले नाम निकाल्न सकिँदैन भनेर त्यतिबेलै थाहा भयो । ‘लोक सेवा पढ्नका लागि मनको चञ्चलता नियन्त्रित गरेर निरन्तरता दिन सक्नुपर्ने रहेछ,’ उनको अनुभव छ । तीन वर्षसम्म उनको यही क्रम चलिरह्यो । २०८० साल उनका लागि सफलताको वर्ष बन्यो । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा खरिदारमा ३ नम्बरमा सिफारिस भएसँगै सरकारी जागिरमा पसे उनी । 

स्पष्ट र खरो रूपमा प्रस्तुत हुने उनी सचिवालयमा संसदीय सेवाको प्रभावकारिताबारे प्रश्न उठाइरहन्थे । उनले भने, ‘संसदीय सेवालाई प्रभावकारी बनाउने र कर्मचारीको सेवासुविधाबारे मेरो स्पष्ट धारणा थियो । त्यसकारण राष्ट्रिय सभाका अध्यक्ष, सभामुख, महासचिव र सचिवलगायत सबैलाई हरेक कार्यक्रममा खरो प्रश्न गर्थे र झस्काइरहन्थे । त्यसलगत्तै लुम्बिनी प्रदेशमा पाँचौं तहमा नाम निस्कियो, तर अन्तर्वार्ता दिएनन् । 

संसद् सचिवालय प्रवेश गरेको ९ महिना नपुग्दै उनले अधिकृतको यात्रा सुरु गरे । ‘लोक सेवाको परीक्षामा सफलताको आशा बढी नै भयो भने असफल हुँदा मन खिन्न हुन सक्छ ।’ प्रतिस्पर्धाको परीक्षा भएकाले असफल हुन पनि सकिन्छ भन्नेतर्फ सचेत रहनुपर्ने सुझाव दिन्छन् उनी । आफूले पनि तेस्रो प्रयासमा सफलता हासिल गरेको बताउँछन् उनी । राजस्वतर्फ ३३ सिटका लागि भएको प्रतिस्पर्धामा ९ नम्बरमा सिफारिस भएका हुन् उनी । ‘धेरैले राजस्व क्षेत्रलाई आम्दानीसँग जोडेर हेर्छन् । तर त्योभन्दा पनि यो प्राविधिक क्षेत्र हो, जहाँ सम्पूर्ण आर्थिक गतिविधि बुझ्न सकिन्छ ।’ अर्थशास्त्रको विद्यार्थी भएकाले पनि राजस्व प्रशासनलाई नै पहिलो प्राथमिकतामा राखेको उनको भनाइ छ ।

प्रकृति दाहाल कान्तिपुरमा प्रशासन, महिला, बालबालिका र सामाजिक विषयहरुमा लेख्छिन् ।

Link copied successfully