कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

२३ वर्षदेखि रंगमञ्च बनाइरहेका नायक

यो वर्ष नेपालमा ५० बढी नाटक मञ्चन भए । तीमध्ये ३० वटा नाटकको सेट उनैले निर्माण गरे । अब त हुमलाई कुनै सेट निर्माणका लागि थ्रीडी डिजाइनसमेत आवश्यक पर्दैन । नाटकको थिम सुन्नासाथ उनको दिमागमा सेट निर्माण भइ सक्छ, त्यसैलाई मञ्चमा मूर्त रूप दिन खट्छन् उनी ।
कतिपयले हुमलाई सेटको डमी दिन्छन्, कोहीले त कथासार मात्रै सुनाउँछन् । सेटका लागि उनीमाथि आँखा चिम्लेर विश्वास गर्नेको संख्या निकै छ । कोही नाटक निर्माणको सुरुवाती चरणमै हुमसँग ठोकिन्छन् भने कतिपय अन्तिम चरणतिर । 
रीना मोक्तान

काठमाडौँ — मञ्चमा एउटा भव्य कोठा देखिन्छ । दर्शकदीर्घाबाट सिधा देखिने भित्तातिर, बन्दुक, घडी, जरायोको सिंह, आँखीझ्याल झुन्ड्याइएका छन् । एकतिरको छेउमा रक्सीको बोतलले भरिएको र्‍याक, त्यसकै नजिक झुन्डिएको छ, एउटा तस्बिर । कोठाभित्र सोफा पनि छन् । झट्ट हेर्दा भरिभराउ देखिने यो कोठा अपूरो देखिन्छ ।

२३ वर्षदेखि रंगमञ्च बनाइरहेका नायक

कोठाको दुईतिरका भित्ता अपूरा छन् अनि दुई खम्बा पनि अधुरा । अग्ला–होचा दुई प्रकारका खम्बामा घरको छत कसरी थामियो होला ? कोठाभित्र राखिएका प्रप्सबाहेकका अन्य संरचना अधुरै देखिन्छ । अगाडिको ढोका पनि पूरा छैन, ढोकाको संरचना पनि आधा मात्रै ।

नाटक ‘म्यारिज प्रपोजल’ को यो सेट किन अधुरो छ ? सेट डिजाइनर हुम बीसीसँग गजबको जवाफ छ, ‘नाटकको कथा अपूरो छ, त्यसैले सेटलाई पनि अपूरो बनायौं ।’ हालै गुरुकुलमा मञ्चित ‘म्यारिज प्रपोजल’ मा बिहेको प्रस्तावमाथिको कथा समात्दै प्रस्तावपछि केही पात्रमा आउने परिवर्तन देखाइयो । नाटकले विभिन्न विषयमाथि व्यंग्य गरिरहे पनि मूल कथा बिहेको प्रस्तावमाथि नै घुमिरहन्छ । कुनै दृश्यमा प्रस्तावपछि बिहे भएको देखाइँदैन, त्यसैले नाटकको कथाअनुसार नै सेट अधुरो निर्माण गरिएको हुमको भनाइ छ । नाटकको सेटले हुमको परिपक्वता, अनुभव र ज्ञान झल्काउँछ । उनी एक मात्र त्यस्तो डिजाइनर हुन्, जो २३ वर्षदेखि लगातार सेट बनाइरहेका छन् ।

यो वर्ष नेपालमा ५० बढी नाटक मञ्चन भए । तीमध्ये ३० वटा नाटकको सेट उनैले निर्माण गरे । अब त हुमलाई कुनै सेट निर्माणका लागि थ्रीडी डिजाइनसमेत आवश्यक पर्दैन । नाटकको थिम सुन्नासाथ उनको दिमागमा सेट निर्माण भइ सक्छ, त्यसैलाई मञ्चमा मूर्त रूप दिन खट्छन् उनी । ‘म्यारिज प्रपोजल’ मा निर्देशकद्वय संगीत सापकोटा र आशिष घिमिरेले हुमलाई नाटकको थिम सुनाएका थिए । ठकुरी खानदानको उच्च घरानामा बिहेको प्रस्ताव आएसँगै नाटकको कथा अगाडि बढ्छ । नाटक अलि पुरानो समयको भन्ने थाहा पाउनासाथ उस्तै प्रप्स र डिजाइन हुमको दिमागमा घुम्यो । अनि, एक सातामा नै नाटकको सेट बन्यो । उनी नाटकको कथासारअनुसार नै सेट निर्माण गर्छन्, डिजाइनमा हुमले विश्वास गर्दै आएको महत्त्वपूर्ण सिकाइ पनि यही हो । भदौमा गरिने नाटकका लागि अहिल्यै बुक भइसके हुम, असोजसम्मका कामको अफरले उनलाई व्यस्त बनाइसक्यो ।

कतिपयले हुमलाई सेटको डमी दिन्छन्, कोहीले त कथासार मात्रै सुनाउँछन् । सेटका लागि उनीमाथि आँखा चिम्लेर विश्वास गर्नेको संख्या उस्तै छ । कोही नाटक निर्माणको सुरुवाती चरणमै उनीसँग ठोकिन्छन् भने कतिपय अन्तिम चरणतिर । अनुप बरालको ‘एउटा सपनाको अवसान’ देखि प्रवीण खतिवडाको ‘अन्धवेग’ सम्म सबै नाटकको सेट हुमले नै बनाए । ‘अन्धवेग’ मा अन्तिमतिरको दृश्यमा प्रमुख पात्रले ड्यांग ढोका भत्काउनुपर्ने दृश्य थियो । धेरै दिमाग घुमाइसकेपछि, बल्ल ढोका भत्काउने उपाय निकाले । ढोकालाई उक्त दृश्यमा अड्याइराख्नु पनि थियो अनि एक लात्तीमै भत्काउनु पनि । धेरै समय घोत्लिएपछि छेस्किना राखेर बनाइएको त्यही ढोकालाई जब अन्तिम दृश्यमा प्रमुख पात्रले चर्को आवाजसहित भत्काउँछन्, दर्शकदीर्घामा ठूलो तरंग पैदा गरिदिन्छ । ‘अन्धवेग’ को सेट दुई तलाको थियो, नाटकमा पशुपतिको दृश्य देखाउनु थियो अनि उचाइबाट लास जलिरहेको दृश्य हेरेको पनि देखाउनु थियो । त्यसैका लागि मञ्चमै दुई तल्लाको सेट निर्माण गरिएको उनले सुनाए ।

हुन त हुम सेटसँगै अन्य फर्निचरका काममा व्यस्त छन् अहिले । तर, उनले मुख्य कर्मका रूपमा रंगमञ्चलाई नै रोजेका छन् । ‘२०/२२ वर्ष मेरो जीवन चलाउने बाटो नै रंगमञ्च बन्यो । म अभिनयतिर गइनँ, सेट निर्माणले नै बाँच्ने आधार दिएको छ,’ उनी भन्छन् । इमान्दारपूर्वक सेट बनाइदिनु नै उनले आफ्नो मुख्य धर्म मानेका छन् । उनको आँखै अगाडि कति नाटक फ्लप भए, त्यस्ता नाटकबाट पारिश्रमिक लिएका छैनन् । सेट निर्माण किन महत्त्वपूर्ण छ त ? ‘नाटक अभिव्यक्तिको माध्यम हो । त्यो अभिव्यक्ति दर्शकलाई बुझाउन सकिने नै सेट, लाइट, प्रप्स र साउन्डले हो । आँखा पर्नेबित्तिकै सेटले नाटकको कथाका स–साना महत्त्वलाई बोकेको हुनुपर्छ । नाटकमा सेट अभिन्न अंग नै हो,’ प्रश्नको जवाफ दिँदै सुनाए ।

पछिल्लो समय महँगो सेट निर्माण गर्ने होडबाजी सुरु भएको छ । ‘एउटा सपनाको अवसान’ को सेटलाई ८ लाख खर्चिएको थियो । हुम सेट निर्माणको सामग्री नै महँगो हुँदै आएपछि निर्माण खर्च बढेको बताउँछन् । ‘एउटा त निर्देशकले कथा छान्दा पनि हेभी सेट माग्छन् । कथाअनुसारको सेट बनाउँदा खर्चिलो पनि हुन्छ । किन महँगो भयो त ? आज २२ वर्षअघि एउटा प्लाईको जुन दाम थियो, त्यसको दाम अहिले अकासिएको छ । अहिले सेट निर्माणका लागि आवश्यक सामग्री नै महँगो भएका कारण सेट हेभी भएको हो,’ हुमले भने ।

हुन त रंगमञ्चतिर फिल्मको जस्तो ठूलो व्यवसाय हुँदैन । तर पनि सेट निर्माणमा निर्धक्क खर्च गर्नेहरू बढेका छन्, ‘एउटा सपनाको अवसान’ यसको ज्वलन्त उदाहरण हो । हुम आफूले कथाको आवश्यकताअनुसार नै खर्चिलो सेट निर्माण गर्दै आइरहेको तर्क गर्छन् । ‘सेट डिजाइन त कथाको आवश्यकताले माग्छ । राम्रा निर्देशकले सुरुदेखि नै त्यसको खर्च छुट्याइसक्छन्,’ हुम सुनाउँछन्, ‘एउटा सपनाको अवसानको निर्माता गोविन्द पराजुलीले नाटकको सेट डिजाइन गर्नुअघि छलफल पनि गरेका थियौं ।’

हुमले यसअघि पनि खर्चिलो सेट निर्माणको अनुभव बटुलिसकेका छन् । विगतमा ‘किसमिसको बिस्कुन’, ‘सान्दाजुको महाभारत’, ‘चारुमती’, ‘थाङ्ला’ लगायतमा बनाएका सेट गह्रौं थिए । गुरुकुलका थुप्रै नाटकका गह्रौं सेट हुमले निर्माण गरिसके । ‘न्यायप्रेमी’, ‘खरीको घेरो’, ‘कर्णाली दख्खिन बग्दो छ’ देखि ‘सुइना कर्णालीका’ नाटकका लागि भव्य सेट बनाए । ‘सुइना कर्णालीका’ मा तुइन नै बनाएका थिए । नाटक महोत्सवमा इरानका रंगकर्मीले फलामको मोटर लिएर आएका थिए, त्यसैको प्रयोगमा तुइन बनाए । नाटकमा तुइनमार्फत कर्णालीका उत्पादन ओसारपसार गरिएको देखाउनु थियो । त्यतिबेला लामो प्राविधिक गडबढी भयो ।

गुरुकुल मात्रै होइन, मण्डलाका पनि अधिकांश सेट हुमले नै बनाएका छन् । केही समयअघि मण्डलाको ‘एउटा सपनाको अवसान’ नाटकका लागि निर्माण गरेको सेटले हुमको निकै तारिफ भयो । नाटकमा पनि दुई तलाको सेट थियो । पहिलो तलाको कुनातिर रोय र दिया मास्केको चरित्रका सुत्ने कोठा बनाइएको थियो । कोठाको छानोलाई अड्याउन सुरुमा खम्बा राख्ने योजना थिएन । तर, काठ गह्रौं भएपछि त्यहाँ खम्बा राख्न प्राविधिक समस्या झेले । उनलाई निर्देशक बरालले ‘थ्रीडी’ डिजाइन दिएका थिए । त्यही डिजाइनअनुसार सेट निर्माण गर्दा चुनौतीपूर्ण बनेको हुम बताउँछन् ।

‘इन्च–इन्चको नाप पछ्याउँदै काम गर्दा गाह्रै पर्छ । आफैंले सोचेर डिजाइन गर्नु त सहज नै हुन्छ । तर, यसरी फाइनल डिजाइन आउँछ, त्यसरी काम गर्नु चुनौतीपूर्ण नै हुन्छ,’ हुमले अनुभव सुनाए । सेट डिजाइनरका अन्य दुःख पनि हुन्छन् । हुमका अनुसार सेट उनका सन्तान हुन्, जसलाई उनी खुबै मिहिनेतले बनाउँछन् । एकदेखि दुई साताको समय लगाएर बनाएका सेट एक महिनासम्म मञ्चमा जीवितै रहिरहन्छन् । सन्तानले त्यो ठाउँ छोड्दै गर्दाको चिसो अनुभव हुमले हरेक पटक त्यसलाई भत्काउँदै गर्दा महसुस गरेका छन् । उनी आफ्नै हातले निर्माण गरेका सेटका हरेक प्रप्सदेखि डिजाइनलाई मञ्चमै देखिरहन चाहन्छन् । तर, एउटै सेट सधैं मञ्चमा रहिरहने सम्भावना पनि कमै छ ।

‘सेट भत्काउँदा चिसो पस्छ मनमा । तर, सधैं भावुक भएर पनि हुँदैनजस्तो लाग्छ,’ म्यारिज प्रपोजलको सेट हेर्दै उनले भने, ‘तर मलाई मेरा सिर्जनाहरू सधैं राखिराख्न मन लाग्छ । मेरो सेट तस्बिर, भिडियो वा दिमागमा रहला । तर, मेरा लागि त्यो भत्काउन नपाए हुन्थ्यो भन्ने लागिरहन्छ ।’ आफ्ना गुरु वीरेन्द्र हमालदेखि वरिष्ठ रंगकर्मीहरू हरिहर शर्मा, सुनील पोखरेल, अनुप बराल हुँदै अहिलेका युवा रंगकर्मीसँग हुमले काम गरिसके । राजधानीमा बनेका ९० प्रतिशत नाटकमा हुमको हात जोडिएकै हुन्छ ।

सानो छँदा भने हुम लोक गायक बन्ने सोच्थे, खासमा एक सपना नै थियो बाल्यकालदेखिको । ६ वर्ष दोहोरी साँझमा बिताए, तीन एल्बममा गीत पनि गाए । २०५८/०५९ तिरको कुरा हो, तर एल्बम बजारमै आएन । अनि गायन छाडे । पाल्पाको रामपुर जन्मेका हुम संकटकालमा काठमाडौं छिरेका हुन् । विस्थापित भएर काठमाडौं आइपुग्दा सोझै दोहोरी साँझमा जोडिए । तर गायनमा भविष्य नदेखेपछि अर्जुन बीसीमार्फत नाटकतिर आउन–जान सुरु गरे । अनि वीरेन्द्र हमालसँग अभिनय सिके ।

त्यही क्रममा निर्देशक हमालले हुमलाई सेटमा काम गर्न हौस्याए, पाल्पा हुँदै काठका काम सिकेका उनले सेटमा पनि काम गरिदिए । नाटक सकिएपछि अन्तिम दिन सबैलाई बराबर पैसा बाँडियो । मञ्चमा अभिनय गरेको कलाकारले पाइरहेकै पैसा । त्यसपछि भित्री मनमा हुमलाई लाग्यो– ‘भाइ तँ एक्टिङ गरेर खाँदैनस्, सेटमै लाग ।’ ‘अहिले पनि म कलाकारले नपाउने पैसा पारिश्रमिकस्वरूप लिइरहेको हुन्छु । मैले अभिनय गरेर त्यो पैसा पाउने थिएन । काठमाडौंमा जीवन चलाउन पैसा चाहिन्छ,’ हुम भन्छन् । ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपतिप्रसाद’, ‘प्रकाश’ लगायतका फिल्ममा केही छोटा भूमिकामा अभिनय पनि गरेका छन् उनले । तर, आफूलाई अभिनय नफापेको बताउँछन् हुम ।

‘अभिनय मलाई फापेन । त्यसैले म अडिसनमा हिँड्दिनँ । भगवान्ले नै जीवनभर किलाकाँटी ठोकेरै खा भनेर पठाएजस्तो लाग्छ । म सेटमै रमाउँछु, सेटमै कमाउँछु,’ हुमले गम्भीर भावमा भने, ‘सेटमै मलाई स्वाद छ । जति जिउँछु, सेटको काममै रमाउँछु ।’ फिल्ममा कलाको अनुभव पनि उनले बटुले । तर, उनको अनुभवमा नेपाली फिल्मको निर्देशकले कला निर्देशन र महत्त्व नबुझेको उनी बताउँछन् । ‘भात राखिदिने, चिया राखिदिने काम कला निर्देशकको होइन । भित्तामा एउटा फ्रेम झुन्ड्याउनुपर्नेछ, किलाकाँटी ठोकिदेऊ भन्नु कला निर्देशन होइन,’ उनले भने, ‘जुन दिन नेपाली फिल्ममा निर्देशकले कलाको महत्त्व बुझ्छन् अनि मात्र कला निर्देशकको महत्त्व हुन्छ । कला निर्देशकले त स्क्रिप्ट, डीओपीदेखि सबै कुरा बुझेर भिजनसहित योजना बनाउन सक्छ । थिएटरमा फिल्ममा भन्दा धेरै सम्मान छ ।’

सेट निर्माणमा हुमले खासै धेरै चेला भने जन्माएका छैनन् । उनीजस्तै लामो समयसम्म सेट निर्माणलाई नै करिअर बनाउने कमै छन् । त्यसैले उनी यो क्षेत्रमा नयाँ अनुहार देख्दा खुसी हुन्छन् । ‘सेट डिजाइनमा यति लामोसम्म पनि खासै नयाँ अनुहार देखिँदैन । आएका कति अभिनयतिर पुगे । तर, अहिले पनि अरूमा सेट निर्माणको रहरै देख्दिन । यो गाह्रो काम पनि हो, धूलोमैलो भइन्छ । सेट

निर्माण गर्नु त सबै सेप एन्ड साइज पनि थाहा पाउनुपर्‍यो । यहाँ सबैलाई अभिनय सिकेर एक्टर बन्नु छ,’ हुमले भने, ‘मलाई भने अन्तिम साससम्मै सेटमै काम गर्नु छ ।’ २३ वर्षको यो यात्रामा रंगमञ्चमा आएको परिवर्तनलाई हुमले नजिकबाट हेरेका छन् । त्यसैले उनी हिजोका नाटकको खुबै प्रशंसा गर्छन् । उनी भन्छन्, ‘हिजोका नाटक राम्रा हुन्थे, त्यसमा निर्देशक–कलाकार खारिएको हुन्थे । त्यही हिसाबको कथा रोज्थे । तर, अहिलेको रंगमञ्च सतही भएको हो कि भन्ने लाग्छ । जब ३ महिने, ६ महिने कोर्स हुन थाल्यो– अब जो पनि कलाकार । वास्तवमा तीन महिनामा के नै हुन्छ र ?’

प्रकाशित : असार १३, २०८१ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×