कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

पहिरोमा परी घाइते भएकालाई हेलिकप्टरबाट उद्धार

आनन्द गौतम

ताप्लेजुङ — पहिरोमा परी घाइते भएका सिरिजंगा गाउँपालिका-६ मामांखेका ६३ वर्षीय पदम बहादुर लिम्वूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि विराटनगर लगिएको छ ।

पहिरोमा परी घाइते भएकालाई हेलिकप्टरबाट उद्धार

उनको उद्धार गरी बिराटनगरको नोबेल अस्पतालमा भर्ना गरिएको जिल्ला विपद् ब्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले बताए ।

पहिरोले घरमा क्षति पुर्‍याएपछि वडा कार्यालयमा पाल लगायतका राहत सामग्री लिन गएका लिम्वूलाई शुक्रबार बेलुका घर फर्कने क्रममा पहिरोले बगाएको थियो । पहिरोले १५ मिटर बगाएर हाङखोलामा पुर्‍याएका उनलाई गाउँलेहरुले निकालेर स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गराएका थिए ।

टाउको लगायतका स्थानमा गहिरो चोट लागेका उनलाई हेलिकप्टरबाट उद्धार गरिदिन वडा कार्यालय र गाउँपालिकाले ताप्लेजुङमा रहेको नेपाली सेनाको दुर्गादल गुल्म र जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेका थिए । गृह मन्त्रालय मार्फत रक्षा मन्त्रालयमा समन्वय गरेर शनिवार दिउँसो अस्पताल पुर्‍याइएको आचार्यले बताए ।

पहिरोले यो वडामा यसअघि अधिक क्षति पुर्‍याएको छ । हालसम्म जिल्लामा २५ घरमा पूर्ण क्षति भएको जिल्ला विपद् ब्यवस्थापन समितिले जनाएको छ । बाढी र पहिरोमा परी पाँच जनाको मृत्यू भइसकेको छ भने पदम बहादुर समेत गरी तीन जना घाइते भएका छन् ।

प्रकाशित : असार १५, २०८१ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×