कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

बृन्दावनका नगर प्रमुख कुर्मीसहित १८ जनाविरुद्ध पक्राउ पुर्जी

शिव पुरी

रौतहट — बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद राउत कुर्मीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । इलाका प्रहरी कार्यालय गरुडाले जिल्ला अदालत गौरबाट पक्राउ गर्न आदेश लिएको हो । अदालतको आदेश पछि पनि नगर प्रमुख कुर्मी भने पक्राउ परेका छैनन् ।

बृन्दावनका नगर प्रमुख कुर्मीसहित १८ जनाविरुद्ध पक्राउ पुर्जी

उनले दैनिक नगरपालिकाको कामकाज गरिरहेका छन् । पक्राउ पुर्जी जारी भएकै बीच असार १० गते सुरक्षाकर्मीको उपस्थितिमा नगरसभा सम्पन्न गरेका छन् ।

वृन्दावन नगरपालिका–१ स्थित राहुल माछापन्छी तथा कृषि फर्मको गोठ, घर र बाछो घाइते हुने गरी २०८१ जेठ २७ गते साँझ आगो लगाई आपरधिक गतिविधि गरेको भन्दै वृन्दावन–४ का वडाअध्यक्ष श्यामराय यादवका छोरा मुरलीधरराय यादवले नगरप्रमुख कुर्मीलगायत १४ जनाविरुद्ध जेठ ३० गते इलाका प्रहरी कार्यालय गरुडामा किटानी जाहेरी दिएका थिए ।

प्रहरीले उक्त जाहेरी दर्ता गरी अदालतबाट असार २ गते पक्राउ पुर्जीको आदेश लिएको हो । इलाका प्रहरी गरुडाका डिएसपी रामेश्वर त्वातीले आगजीनको घटनामा नगरप्रमुख कुर्मीलगायत १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको बताए ।

‘सुरुमा आगजनी गरेको भनेर जाहेरी आयो । हामीले दर्ता गरेर नगरप्रमुख लगायतकाविरुद्ध पक्राउ पुर्जी पनि लिइसकेका छौं,’ उनले भने, ‘अर्को पक्षले पनि जेसिबी तोडफोडको जाहेरी लिएर आए पछि त्यो पनि दर्ता गरेर अदालतबाट पक्राउ पुर्जी लिइसकेका छौं ।’

नगरप्रमुख कुर्मी पक्षले जेसिबी तोडफोड भनेर वडाअध्यक्ष श्यामराय यादव, वडा २ का अध्यक्ष सिकिन्द्र पटेल, नगर प्रमुखका प्रत्यासी माओवादी नेता रामप्रसाद पटेललगायत १८ जनाविरुद्ध असार ८ गते जाहेरी दिएको थियो । उक्त जाहेरी पनि इलाका प्रहरीले दर्ता गरेको जनाएको छ । उक्त जाहेरी दर्ताको हल्ला पछि वडाअध्यक्ष श्यामराय यादवसहितका ब्यक्ति इलाका प्रहरी पुगेर प्रतिबाद गरेका थिए ।

‘आगजनी घटना साम्य पार्न डेढ सातापछि जेसिबी तोडफोड भनेर ल्याएको जाहेरी प्रहरीले नियतबश दर्ता गरेको छ,’ वडाअध्यक्ष श्यामले भने,‘पक्राउ गर्नुपर्ने मानिस खुलेआमा घुमेर हिँडेको छ । प्रहरीले मौनता देखाएको छ ।’

गत जेठ १ गते नगरपालिकाले वाग्मतीमा नदीजन्य बस्तु उन्खनन्‌का लागि अमानतमा स्काभेटर प्रयोग गरी ठेकेदारलाई बिक्री गरेको थियो । पूर्वनगरप्रमुख रामस्नेही राय यादव, माओवादी नेता एवं नगरपालिकाका प्रत्यासी रामप्रसाद पटेल, वडाअध्यक्ष श्यामराय यादवलगायत स्थानीयहरु नियम बिपरीत भन्दै बिरोध उत्रे ।

यही बीच नगरप्रमुख कुर्मी र स्थानीय बीच वाग्मती नदीमै भगडा हुन थाल्यो । जहाँ अमानतमा स्काभेटर लगाएर उत्खनन् भइरहेको थियो । त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी बोलाएर गराई नगरप्रमुख कुर्मीले उत्खनन्लाई निरन्तरता दिए पछि बिबादले उग्र रुप लियो ।

जिल्ला प्रशासन कार्यालमा दुबै पक्षलाई बोलाई प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जेठ २५ गते छलफल गराए । नदीजन्य बस्तु उत्खनन् गर्दा स्काभेटर प्रयोग नगर्ने, चक्का भएको जेसिबी प्रयोग गर्ने भन्ने सहमति भएको थियो । तर नगरप्रमुख कुर्मीले बलजफ्ती स्काभेटर प्रयोग गरेको भन्दै जेठ २७ गते केही स्थानीय पुगेर तोडफोडमा उत्रे पछि घटनाले उग्र रुपले लिएको हो । त्यसैदिन साँझ वडाअध्यक्ष श्यामराय यादवको फर्ममा आगजनी भएको थियो ।

आगजनीमा उनको गोठमा पशु पनि जलेको छ । आगजनीको घटनामा ५४ लाख ३५ हजारको क्षति भएको प्रहरीको जाहेरीमा उल्लेख गरेको छ । मेयर कुर्मीले पटक/पटक प्रतिशोध साध्ने काम गरेको र २५/३० जनाको समूहमा आएकाहरुले फर्ममा आगो लगाई दिएको जाहेरीमा उल्लेख छ ।

नगरप्रमुख कुर्मी आफै आगो लगाउने घटनामा सलग्न रहेको जाहेरवाला मुरलीधर यादवले बताए । ‘नगरप्रमुख कुर्मी आफैँ आएर फर्ममा आगो लगाउने काम गरे,’ उनले भने,‘गलत काम गर्ने नगरप्रमुख कुर्मीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेर पनि प्रहरी मौन छ ।’

नगरप्रमुख कुर्मीले आगजनी घटनामा संलग्न भन्ने आरोप सरासर झुठो भएको बताए । तर किटानी जोहेरीमा उनकै निर्देशनमा आगो लगाएको भनिएको छ । आफुविरुद्धको पक्राउ पुर्जीबारे नगरप्रमुख कुर्मीले इलाका प्रहरी गरुडाले बदमासी गरेको आरोप लगाए ।

‘म आगजनी भएको भनिएको घटनामा छदै थिइन् । मेरो नाम बीचमा राखेर जाहेरी दिएका रहेछ,’ उनले भने,‘प्रहरीले हेर्दै नहेरी जाहेरी दर्ता गरि पक्राउ पुर्जी लिएको छ ।’ आफुविरुद्ध लाग्ने १८ जनाको पनि पक्राउ पुर्जी आएको उनले सुनाए ।

इलाका प्रहरी गरुडाले अदालतबाट पक्राउ पुर्जी असार २ गते नै पक्राउ पुर्जीको आदेश लिई प्रहरी चौकी बिश्रामपुर र जिल्ला प्रहरीलाई संचार गरेको देखिन्छ ।

पक्राउ पुर्जी जारी भईसके पनि प्रहरीले पक्रनको साटो उल्टै नगरसभा गर्न सुरक्षा दिएको भन्दै पूर्व नगरप्रमुख रामस्नेही राय यादव, वडाअध्यक्षहरु श्यामराय यादव र सिकिन्द्र पटेललगायत स्थानीयले बिरोध जनाएका छन् । एक साताअघि उनीहरु इलाका प्रहरी गरुडा पुगेर कार्यालय अगाडी प्रदर्शन समेत गरेका थिए । कुर्मी एकीकृत समाजवादी पार्टीबाट नगर प्रमुख जितेका हुन् । पार्टीको महाधिवेशनमा भाग लिन उनी अहिले राजधानी गएका छन् ।

प्रहरीले नगरप्रमुख कुर्मीको अलवा वृन्दावन–६ का धर्मेन्द्र पटेल, हरिनारायण राउत, बैजु पटेल, शुसिल पटेल, बजरंगी पटेल, रामअशिष राउत, वडा ९ का सुरेन्द्र पटेल, शंकर पटेल, बच्चु पटेल, वडा २ सिकिन्द्र पटेल, छबिलाल पटेल, देबेन्द्र पटेल, र वडानम्बर १ अजय पटेलविरुद्ध पक्राउ पुर्जी जारी गरेको जनायो ।

यता नगरप्रमुख कुर्मीले वडा ४ का वडाअध्यक्ष श्यामराय यादव, २ का वडाअध्यक्ष सिकिन्द्र पटेल, नगर प्रत्यासी माओवादी नेता रामप्रसाद पटेललगायत १८ जनाको नाममा पनि पक्राउ पुर्जी जारी भइसकेको जनाए । इलाका प्रहरीका डिएसपी त्वातीले पनि १८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको बताए ।

प्रकाशित : असार १७, २०८१ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×