कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

पार्टीका नेता र मन्त्रीहरुसँग प्रधानमन्त्रीको बिफ्रिङ : 'सत्ता समीकरण तलमाथि हुँदैन'

गंगा बीसी

काठमाडौँ — सत्ता समीकरणमा उथलपुथल हुने चर्चा भइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसलाई अस्वीकार गरेका छन् । मन्त्रिपरिषद्को सोमबार सिंहदबारमा बसेको बैठकमा उनले समीकरण भत्किने हल्लामा सत्यता नभएको दाबी गरे । उनले मन्त्रीहरुलाई हल्लाको पछि नलाग्न आग्रह गरे ।

पार्टीका नेता र मन्त्रीहरुसँग प्रधानमन्त्रीको बिफ्रिङ : 'सत्ता समीकरण तलमाथि हुँदैन'

सोमबार बिहान एमाले अध्यक्ष केपी ओलीसँग बालुवाटारमा तीन घण्टा लामो छलफल गरेपछि बसेको मन्त्रिपरिषद् बैठकमा दाहालले सरकार केही नहुने दाबी गरेका थिए । माओवादी उपमहासचिव एबं उर्जामन्त्री शक्ति बस्नेतले मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले समीकरण फेरिने चर्चाबारे उल्लेख गर्दै हाल त्यस्तो केही नहुने बताएको बताए ।

‘प्रधानमन्त्रीज्यूले सरकार फेरिने हल्लाखल्ला भइरहेको प्रसंगमा अहिले सरकार केही हुन्न भन्नुभयो’ उनले भने, ‘उहाँले मन्त्रीलाई हल्लाको पछि नलाग्न समेत आग्रह गर्नुभयो ।’ उनले सोमबार बिहान दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सरकारको कामकार्वाही प्रभावकारी बनाउने विषयमा छलफल भएको दावी गर्दै ‘कित्रिम हावा चलाएर पात हल्लिएको’ दावी गरे ।

दाहालले सोमबार बेलुका माओवादीका केही पदाधिकारीसँग भएको भेटमा कांग्रेसले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको भए पनि तत्काल स्वीकार नगरेको आफूलाई बताएको जानकारी दिएका थिए । ‘कांग्रेस र यो समीकरण नरुचाउने शक्तिले अर्को गठबन्धन बनाउन खोजेको हो’ दाहालको भनाइ उद्धृत गर्दै ती पदाधिकारीले भने, ‘हाल ओलीजीले कांग्रेसको प्रस्ताव स्विकार नगरेको बताउनुभयो ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार बालकोट निवासमा ओलीसँग भेटवार्ता गरेका थिए । त्यही वार्तामा उनले ओलीलाई ‘राष्ट्रि सहमतिको सरकार बनाउने’ भन्दै प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए । ‘यो भेटपछिको राजनीतिक तरङ्गबारे दुई नेता (दाहाल र ओली) बीच कुराकानी त भयो । तर ओलीले सरकार फर्नेबारे हल्लालाई विश्वास नगर्न भन्नुभएछ’ ती पदाधिकारीले भने ।

माओवादीका अर्का पदाधिकारीले भने ओली र दाहालबीच कतिपय सरकारका कामका विषयमा गंभीर मतभेद भएकाले देउवासँग दुई तीन चरण कुराकानी गरेको बताए । ‘ओली र प्रचण्ड (दाहाल) बीच कति सम्झौता हुन्छ । त्यसकै आधारमा सरकारको आयु लम्बिन्छ’ ती पदाधिकारीले भने, ओलीले दवावलाई प्रधानमन्त्रीले कति धान्न सक्नुहुन्छ । त्यसमै सरकारको भविष्य निर्भर छ ।’

ओली र दाहालबीच दरी बढ्नुको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा विवाद, संक्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयकमा देखिएको बिवाद हो । बोर्डमा ओलीले सूचीमा छानिएका पाँचमध्ये एकजनालाई अध्यक्ष बनाउन चाहेका थिए । तर तीन व्यक्ति अनुपस्थित भएपछि नियुक्ति प्रक्रिया गत शुक्रबार रद्ध भएको थियो । सोमबार मन्त्रिपरिषद् बैठकले फेरि नियुक्ति प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

एउटै सत्ता समीकरणमा भए पनि विधेकमा पीडित केन्द्रित प्रावधानमा परिभाषा के हुने, गम्भीर मानवअधिकार उल्लंघनकर्तालाई कुन हदसम्मको कारबाही हुने ? पीडितले मेलमिलाप गर्न नचाहे के गर्ने लगायत विषयमा एमाले र माओवादीबीच सहमति हुन सकेको छैन ।

टीआरसी विधेयकका यी विषयमा बिहीबार एमाले र माओवादी नेताबीच चर्काचर्की भएको थियो । कांग्रेसका नेताले सत्तारुढ दल एमाले र माओवादीबीच सहमति नभएकाले विधेयक संसदमा रोकिएको आरोप लगाएपछि यी दुई दलका नेताबीच असहज अवस्था आएको स्रोतको भनाइ थियो ।

मन्त्रिपरिषद बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएकी थिइन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच सकारात्मक छलफल भएको बताउादै वर्तमान गठबन्धन लामो समय चल्ने उल्लेख गरे ।

‘बाहिर असमझदारी भए, बढे भन्ने जुन खालका चर्चा छन्, ती सबै कुरा असत्य हुन् । त्यस्तो छैन । सकारात्मक छ छलफल’ उनको भनाइ थियो, ‘यो गठबन्धन लामै समय जाने भनेर प्रधानमन्त्रीज्युले भन्नुभएको छ । हामीलाई पनि त्यस्तो मिडियामा आएको स्थिति होइन भन्ने कुरा ब्रिफिङ गर्नुभयो ।’

प्रकाशित : असार १७, २०८१ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एमाले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहालले अब तत्काल के गर्नुपर्छ ?

×