श्रममन्त्रीलाई नाट्टाले भन्यो- 'श्रम विभागले आतंकित बनायो'

असार १७, २०८१

कान्तिपुर संवाददाता

Natta said to the Labor Minister- 'The Labor Department created terror'

काठमाडौँ — वैदेशिक रोजगारमा जाने श्रमिकसँग हवाई टिकटमा जोडिने ट्राभल व्यवसायीहरुले प्रमाण विना श्रम विभागले धरपकड गरेको जनाउँदै सोमबार श्रममन्त्री डोल प्रसाल अर्याललाई ज्ञापन बुझाएका छन् ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पछिल्लोपटक २० जना व्यवसायीहरुलाई अध्ययन र प्रमाण बिना श्रम विभागले मौखिक गुनासोको भरमा पक्राउ पुर्जी जारी गर्न लगाई आतंकित बनाएको ज्ञापनमा उल्लेख गरेका छन् ।

‘श्रमसंग जोडिने एजेन्टको कमीकमजोरीमा हवाई टिकट व्यवसायीलाई आतंकित बनाउने घटना बृद्धि भएपछि श्रममन्त्रीसमक्ष पुगेका हौं,’ नाट्टाका अध्यक्ष कुमारमणी थपलियाले भने,‘मन्त्रीसमक्ष हामीले वैदेशिक यात्रामा जाने श्रमिक तथा नेपाली पर्यटकहरुले भोग्नु परेका असुविधा निराकण गर्न सरोकार राख्ने सबै मन्त्रालय तथा मातहतका निकायसंग समन्वयकारी भूमिका निर्वाह गर्न ७ बुदे सुझाव पनि दिएका छौं ।’

देशभर ११ सय हाराहारी टिकट बिक्रेताहरुको संजाल रहेको नाट्टामा उस्का सदस्यहरुले श्रम विभागबाट निरुत्साहित बनाउने, व्यवसायिक वातावरण खल्बल्याउने कार्य भइरहेको जनाउँदै चासो व्यक्त राखेपछि नाट्टा श्रममन्त्री कहा पुगेको हो ।

कान्तिपुर

Link copied successfully