कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

चाञ्जाबाट पहिलो एसईई

प्यूठान — प्यूठान नगरपालिकाको केन्द्र बिजुवारबाट करिब डेढ घण्टा गाडीमा र त्यसपछि एक घण्टा पैदल हिँडेपछि आउँछ वडा ५ को चाञ्जागाउँ । सडक सञ्जालसँग नजोडिएको चाञ्जामा आफ्नै दुःख छन् । पीरको भारी बोकेका चाञ्जाका बासिन्दा नगरवासी भएर पनि विकट र पछौटेपनको सिकार हुन परेको छ । यसैको एक उदाहरण हो गाउँमा बुधबारसम्म कक्षा १० पास गरेका एक जना पनि थिएनन् ।

चाञ्जाबाट पहिलो एसईई

आधुनिक प्रविधिको युगमा रमाइरहेको विश्वसामु चाञ्जागाउँ भने निरीहजस्तै छ । यहाँ इन्टरनेट छ न सडक नै पुगेको छ । न गाउँमा विद्यालय नै । पढ्नका लागि दैनिक दुई घण्टा बढी हिँडेर यहाँका बालबालिका विद्यालय पुग्छन् । तर यी सबै दुःख अहिले चाञ्जावासीले भुलेका छन् । ‘पीरको ब्यथा बोकेको चाञ्जा गाउँमा अहिले खुसीयाली छाएको छ । दुःख, कष्ट र व्यथालाई भुलेर अहिले हर्षित छौं । सबैको शीर उचो भएको छ । हाम्रो गाउँबाट बल्ल एसईई पास गर्ने विद्यार्थी निस्कियो,’ स्थानीय प्रिती बैजाली मगरले भनिन् ।

बिहीबार सार्वजनिक एसईई नतिजामा चाञ्जाका १६ वर्षीय रेगम खड्का पास भएपछि सिंगो गाउँमै खुसी छाएको छ । यो गाउँमा एसईई पास भएको ब्यक्ति छ रेगम एक्ला हुन् । उनीबाहेक गाउँमा अहिलेसम्म कसैले पनि १० कक्षा पास नगरेको प्रितीले सुनाइन् । २४ घरधुरी रहेको चाञ्जामा प्रायजसो बालबालिका ६/७ कक्षा पढ्दापढ्दै विद्यालय छाड्ने गरेका छन् ।

शुक्रबार दिउँसो चाञ्जा गाउँ पुग्दा त्यहाँ स्थानीयको जमघट थियो । सबैका मुहारमा खुसी देखिन्थ्यो । ‘गाउँको नाक राख्यो, हाम्रो गाउँमा पहिलो एसईई पास गर्ने बन्यो,’ उपस्थित भएकाहरु यस्तै भन्दै थिए । सिंगो गाउँबाट पहिलो एसईई पास व्यक्ति बनेकोमा रेगम झनै खुसी देखिन्थे । रोल्पाको जुतुंगखोलाको सामाजिक माविबाट पढ्दै आएका उनी ३.०३ जीपीए ल्याएर पास भएका हुन् । १६ वर्षीय खड्का विद्यालय टाढा हुँदा मामाघरमा बसेर अध्ययन गर्दै आएका थिए । कक्षा दुईसम्म गाउँमै पढेका उनी त्यसपछि भने रोल्पाको जुतुंगखोला गएर पढेका हुन् । उनी पहिले दैनिक दुई घण्टा बढी समय लगाएर घरबाट विद्यालय आउजाउ गर्थे । विद्यालय टाढा हुँदा समस्या भएपछि मामाघरमै बसेर पढ्न थालेका रेगम सुनाउँछन् । ‘गाउँमा विद्यालय छैन्, विद्यालय जाँदा जंगलको बाटो जानुपर्छ टाढा भएरै मामाघर बसेको हुँ,’ उनले भने, ‘बर्खामा बढी समस्या हुन्थ्यो । विद्यालय जाँदा जुका लाग्ने, भिरको बाटो खोला तरेर जानुपर्ने जस्ता समस्या झेलेर पढेको अहिले खुसी लागेको छ ।’

सिंगो गाउँबाट एसईई पास हुने पहिलो ब्यक्ति बनेका रेगम कम्प्युटर क्षेत्रमा रुची राख्छन् । आईटी विषय लिएर पढ्ने सोच बनाए पनि यसबारे उनलाई धेरै जानकारी छैन । घरको आर्थिक अवस्थाले गर्दा सोचेअनुसारको पढ्न नपाइने चिन्ता भइरहेको उनले सुनाए । ‘पढ्न त पढ्नुपर्ला तर सहरमा गएर पढ्न त गाह्रै छ,’ उनले भने, ‘उच्च शिक्षाका लागि नि:शुल्क अध्ययन गर्न पाइने विद्यालय भए सहज हुने थियो ।’ उनका बुबा अहिले भारतमा मजदुरी गर्छन् । १० वर्षीय भाइ पनि मामाघरमै बसेर पढ्दै आएका छन् ।

छोरा गाउँबाटै कक्षा १० पास गर्ने पहिलो व्यक्ति बन्दा उनकी आमा खली खड्का खुसीले गदगद् छिन् । तर, खलीको मनमा भने छुट्टै चिन्ताले सताएको छ । श्रीमान्‌ले भारतमा मजदुरी गरेर परिवार पाल्दै आएका खड्का परिवारलाई छोरालाई चाहे अनुसारको पढाउन सकिँदैन कि भन्ने चिन्ताले सताउन थालेको उनले सुनाइन् । ‘रिजल्ट आउँदाबाटै धेरैले फोन गरेर बधाई दिनुभयो, एकदमै खुसी भएका छौं,’ खलीले भनिन्, ‘अब कसरी पढाउने होला भन्ने चिन्ताले सताएको छ ।’ गाउँनजिकै राम्रो उच्च शिक्षा अध्ययन गर्ने विद्यालय नहुँदा सहरमा राखेर पढाउन आर्थिक अवस्थाले नभ्याउने उनले बताइन् । ‘श्रीमान्‌को कमाईले बल्लबल्ल घर चलेको छ, छोरालाई कसरी सहर पठाउने होला ?’ उनले भनिन् ।

उनका श्रीमान् अनुराग खड्का अहिले भारतको हिमाञ्चमा छन् । छोरा एसईई पास भएकोमा उनी झनै खुसी छन् । छोरा पास भएको खबर सुन्दा एकछिन फोनमा बोल्नै नसकेको रेगमले बताए । ‘छोराले पहिलो पटक १० कक्षा पास भएकोमा हामी त ठुलै सफलता हात लागेको अनुभूति गरेका छौं,’ अनुरागले भने, ‘हाम्रो गाउँमा पनि अब १० कक्षा पास गरेको ब्यक्ति छ भनेर भन्न सक्छौं ।’

२४ घरधुरी रहेको चाञ्जा गाउँमा अहिले १० जना रोल्पाको जुतुंगखोलाको सामाजिक मावि र प्यूठानको प्यूठान नगरपालिका–५ जुम्रिकाढाको सिद्ध माविमा अध्ययन गर्छन् । यो भन्दा पहिले गाउँबाट १० कक्षासम्म एक/दुई जना पुगे पनि पास नभएपछि उनीहरुले अर्कै बाटो रोजेको स्थानीय सुनाउँछन् । यहाँका अधिकांश बालिका उमेरै नपुगी विवाह गर्ने र बीचमै पढाइ छोड्ने गरेका छन् । युवाजति फेल भए वा पढ्दा पढ्दै बीचमै छाडेर विभिन्न जिल्लामा मजदुरी गर्न जाने गरेका छन् भने कोही आफन्तसँग भारतको हिमाञ्चलतिर पुग्छन् । प्राय:जसो समय गाउँमा युवा भेट्न कठिन हुन्छ ।

प्रकाशित : असार १५, २०८१ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×