कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एसईई : १७ वर्षदेखि शतप्रतिशत नतिजा

अनिश तिवारी

सिन्धुपाल्चोक — सेताम्मे हिमाल, कुहिरोले ढकमक्क जंगल । वरिपरि चिटिक्क मिलेका बस्ती, गुम्बा माने छ्योर्तेन् । मनमोहक भूगोलकै छँटा बीचमा हेलम्बु गाउँपालिका–१ मा रहेको मेलम्चीघ्याङ माध्यमिक विद्यालयको शैक्षिक ख्याति पनि यहाँको भूगोलभन्दा कम छैन ।

एसईई : १७ वर्षदेखि शतप्रतिशत नतिजा

जिल्लाको तीन नगर र नौ गाउँपालिकाभर उत्कृष्ट र शतप्रतिशत नतिजा ल्याउने विद्यालयमध्ये चिनिएको नाम हो, मेलम्चीघ्याङ माध्यमिक विद्यालय ।

१७ वर्षदेखि निरन्तर शतशप्रतिशत नतिजा ल्याउन सफल हृयोल्मोभूमिको मेलम्चीघ्याङ माविले अघिल्ला वर्षझैँ यस पटक पनि शतप्रतिशत नतिजा ल्याएको छ । विद्यालयका प्रधानध्यापक टीका लिम्बुकाअनुसार यहाँका १५ विद्यार्थी ए प्लस, १३ क्षए ग्रेडसहित एसइईमा उत्तीर्ण भएका छन् ।

०५२ यता आधारभूत तहदेखि अंग्रेजी माध्यममा अध्यापन भइरहेको यस विद्यालयमा आवसीय व्यवस्था छ । यही उत्कृष्ट नतिजा र संस्कारका कारण विभिन्न जिल्लाका बालबालिका यहाँ पढ्न लालायित हुने गर्छन् ।

सर्लाही, सप्तरी, नुवाकोट, मोरङलगायत जिल्लाका ३ सय २० विद्यार्थी अध्ययनरत यो विद्यालयमा आवसीय सुविधा छ । एसएलसीदेखि एसइई परीक्षामा सहभागिता जनाउन थालेको १७ वर्षमा सधैं शतप्रतिशत नतिजा ल्याउँदा खुसी लागेको पूर्वप्रधानध्यापक पूर्ण गौतमले बताए ।

इन्द्रावती गाउँपालिकाकी विदुषा नेपाल ३ दशमलव ९१ जिपिए ल्याएर विद्यालय प्रथम भइन् । यसअघि धेरै पटक जिल्ला प्रथम हुँदै आएको यो विद्यालयबाट २०६३ मा एसएलसीको पहिलो ब्याच सहभागी भएको थियो ।

भूकम्प र पराकम्पनले ढलाएयता केही समय टहरमा चलेको यो विद्यालय अहिले चिटिक्क भवनमा छ । बाढीपहिरोको संकट व्यहोरेको हेलम्बुको गाउँभेग कच्ची सडककै भरमा जोडिएको छ । बर्खाभर यहाँ गाडी चल्दैनन् । विद्यालयका शिक्षक आफ्नो तयारी गरेर वार्षिक पाठयोजना बनाएर एकाइ र पाठ योजना बनाउँछन् ।

त्यसैगरी हेलम्बु ३ किउको भुमेश्वरी माध्यमिक विद्यालयकी छात्रा नविना भण्डारीले यो वर्षको एसईईमा जिल्लाकै उत्कृष्ट अंक ३ दशमलव ९६ जिपिए ल्याएकी छन् । मेलम्चीघ्याङ, भूमेश्वरीजस्ता विद्यालयको शैक्षिक स्तर उकास्न हेलम्बु सरकारले अनेक कार्यक्रम ल्याएर सघाइरहेको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।

यसअघिदेखि चार करोड २५ लाख बजेटमा हेलम्बुले बोधिसत्व मोडेल विद्यालयको भवन बनाएको छ । यहाँ १ सय ७४ जनालाई निशुल्क प्राविधिक धार र सिभिल इन्जिनियरिङ संकायमा अध्यापन भइरहेको छ ।

मेलम्चीघ्याङ मावि अर्थात् पूर्ण गौतम

हेलम्बुको मेलम्चीघ्याङ माध्यमिक विद्यालय भन्नेबित्तिकै सम्झिइने नाम हो यहाँका पूर्वप्रधानध्यापक पूर्ण गौतम । तीन दशकअघि हेलम्बु घुम्न आइपुगेका गौतमले यहाँको वातावरण देखेर विद्यालय सुरु गर्ने अठोट लिएका थिए । १९ जना विद्यार्थीबाट एक स्थानीयको घरको बरण्डाबाट सुरु गरेको मेलम्चीघ्याङ आहिले भव्य र नमुना विद्यालयमा बदलिएको छ ।

दुई वर्षपछि अवकाशमा जान लागेका पूर्वप्रअ गौतमले ती क्षण अझै भुल्न सकेका छैनन् । २०४० मा उनी यहाँ आउँदा यो लोभलाग्दो पर्यटकीय गाउँमा विद्यालय थिएन्, शिक्षाबाट बञ्चित थियो ।

इन्जिनियर पढाइ गरिरहेका गौतमले त्यो वातावरण देखेर नमुना विद्यालय बनाउने अठोट लिएका थिए । १३ वर्षसम्म घरपरिवारबाट विछोडिएर उनले स्थापना गरेको विद्यालयले आफ्नो अलग्गै पहिचान बनाइसकेको छ ।

‘यो मेरो सपना मात्रै थिएन्, मेलम्चीघ्याङ र यहाँको शिक्षाको नयाँ चरण पनि थियो, यसले मलाई अनमोल र अथाह खुशी दिएको छ,’ गौतमले भावुक हुँदै भने । शेर्पा समुदायकी एकल महिलासँग विवाह गरेका उनले यहाँका सुखदुःखमा स्थानीयका अभिभावक बनेका छन् । गौतमले यहाँ होमस्टे र व्यवस्थापन पनि सिकाएका थिए ।

प्रकाशित : असार १५, २०८१ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×