कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०

महामन्त्री ढकालबारे रास्वपा उपसभापति अर्याल : अनुशासनबाहिर गए कारबाही

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापतिसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले पार्टीको अनुशासनबाट बाहिर जानेलाई कारबाही हुने बताएका छन् । 

महामन्त्री ढकालबारे रास्वपा उपसभापति अर्याल : अनुशासनबाहिर गए कारबाही

महामन्त्री डा. मुकुल ढकालको समीक्षा यात्रा प्रतिवेदन सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बुझाएपछि रास्वपामा देखिएको विवादबारे उपसभापति तथा मन्त्री अर्यालले टिप्पणी गरेका हुन् ।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्यालले महामन्त्री ढकालका सम्बन्धमा बुधबार बस्ने केन्द्रीय समितिले निर्णय लिने बताए । आगामी केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले बुझाएको प्रतिवेदनबारे छलफल हुने बताउँदै अर्यालले पार्टीको अनुशासन बाहिर गएर काम गर्ने जो कसैलाई पनि कारबाही हुने बताए ।

‘उहाँलाई एउटा जिम्मेवारी दिइएको थियो, त्यो जिम्मेवारी पूरा गरेर फर्किनुभएको होला । त्यसकारणले पार्टी सभापतिलाई बुझाउनुभएको छ । हामी बैठक बस्दैछौँ । पर्सीको बैठकबाट के गर्नुपर्ने हो, त्यो गर्छौं,' उपसभापति अर्यालले भने, 'पार्टीको अनुशासनबाट कोही बाहिर जान्छ भने त्यो कारबाही हुनसक्छ, त्यो मलाई पनि, उहाँलाई पनि, सभापतिलाई पनि सबैलाई लागू हुनेकुरा हो । हामीले प्रतिवेदन पढेका छैनौँ । पार्टी सभापति र लेख्ने मान्छेलाई मात्रै थाहा छ । त्यो हेरिसकेपछि मात्रै, छलफल गरिसकेपछि आफ्नो धारणा बनाउँछौँ ।’

पार्टी सभापतिलाई महामन्त्री ढकालले बुझाएको प्रतिवेदन आफूले प्राप्त गरिनसकेको उपसभापति अर्यालको भनाइ थियो ।

प्रकाशित : असार १७, २०८१ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×