कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एसईईमा सामुदायिक विद्यालयको नतिजा : जहाँ स्रोत साधन, त्यहाँ राम्रो

दीपक परियार

पोखरा — संस्थागत विद्यालय छोडेर स्याङ्जा पुतलीबजार नगरपालिका–३ मुखियाथरका सुशान्त मरासिनी सामुदायिक विद्यालय त्रिभुवन आदर्श माविमा कक्षा ६ मा भर्ना भए । उक्त विद्यालयबाट उनले २०८० को एसईईमा ४ जीपीए ल्याए । स्याङ्जाबाट ४ जीपीए ल्याउने उनी एक्ला हुन् ।

एसईईमा सामुदायिक विद्यालयको नतिजा : जहाँ स्रोत साधन, त्यहाँ राम्रो

त्रिभुवन आदर्शले २०७२ देखि अंग्रेजी र नेपाली दुबै माध्यममा पढाइ थाल्यो । विद्यालयको भव्य भवन छ । विद्यार्थी बोक्न बस छन् । अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीसँग शुल्क लिएर दरबन्दी बाहेकको निजी शिक्षक थपेको छ । स्रोत साधनले सम्पन्न विद्यालय जिल्लाकै नमुना मानिन्छ ।

जिल्ला प्रहरी कार्यालयमा भान्से रहेका श्रीमान् कृष्णप्रसाद मरासिनीको मात्रै कमाइले दुई छोरा निजीमा पढाउन मुस्किल भएकोले सामुदायिक विद्यालय रोजेको सुशान्तकी आमा लक्ष्मी मरासिनीले बताइन् । ‘सरकारी विद्यालय भने पनि पढाइ राम्रो छ, छोरा पनि पढ्नमा टाठो छ भनेर त्रिभुवन आदर्शमा भर्ना गर्‍यौं,’ उनले भनिन्, ‘अहिले जिल्लामै ४ जीपीए ल्याउने एकजना मात्रै भएको सुनेर खुसी लागेको छ ।’

गुणस्तर सुधार गर्दै गएपछि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको प्रधानाध्यापक मुक्ति रेग्मीले बताए । सुशान्तको अभिभावकले पनि सामुदायिक विद्यालयप्रतिको आकर्षणको कारण त्रिभुवन आदर्शमा पढाएको उनले स्मरण गरे । ‘उ आफू पनि लगनशील विद्यार्थी हो,’ उनले भने, ‘अभिभावक पनि धेरैपल्ट विद्यालयमा आउने, आफ्नो छोराको पढाइ कस्तो छ भनेर सोध्ने गर्नुहुन्थ्यो । अभिभावकको पढाइ प्रतिको चासोले पनि यो परिणाम आयो ।’

२०८० को एसईईमा त्रिभुवन आदर्शले जिल्लाभरमै उत्कृष्ट नतिजा ल्याएको उनले बताए । उनका अनुसार विद्यालयका १९ विद्यार्थीले ३.६५ जीपीएभन्दा माथि ल्याए । २०७२ बाट विद्यालयमा अंग्रेजी माध्यम थप्ने, बसको व्यवस्था गर्ने लगायत कार्य गरेपछि आकर्षण बढेको र त्यसले शैक्षिक गुणस्तरमा पनि सुधार ल्याएको उनको भनाइ छ । विद्यालयमा हाल १ हजार ५ सय विद्यार्थी छन् ।

‘लगनशिल विद्यार्थी, समर्पित शिक्षक, सचेत अभिभावक र सक्रिय व्यवस्थापन समिति हुने हो भने सामुदायिक विद्यालय नमुना बन्न सक्छन्,’ उनी भन्छन्, ‘अहिलेको यो परिणामले उत्साह थपेको छ, उर्जा मिलेको छ ।’ त्रिभुवन आदर्शले एसईईमा राम्रो परिणाम ल्याउँदै गर्दा स्याङ्जामै अन्य १० वटा विद्यालयका कत्ति पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् । पुतलीबजारकै श्रवण माविमा १६ जनाले एसईई दिएकोमा सबै अनुत्तीर्ण भए ।

पोखरामै सटर भाडा, अंग्रेजी माध्यमका विद्यार्थीबाट उठाउने शुल्क लगायत आन्तरिक आम्दानीबाट स्रोतसाधन सम्पन्न भएका सामुदायिक विद्यालयले एसईईमा राम्रो परिणाम ल्याएका छन् । अमरसिंह नमुना मावि, गोगन मावि, सितलादेवी मावि, विन्ध्यवासिनी मावि केही उदाहरण हुन् ।

कास्कीमा रुपा गाउँपालिकाका तीन सामुदायिक विद्यालयका एकजना पनि विद्यार्थीले एसईई उत्तीर्ण गर्न सकेनन् । खाल्डेको गाउँफर्क माविका ४, खोलाकोछेउको पृथ्वीरुपा माविका ६ र बाह्रपिर्केको जटेश्वर माविका ८ विद्यार्थीले एसईई दिएकोमा सबै अनुत्तीर्ण भए । गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बाबुराम गैह्रेले ती विद्यालयका धेरै विद्यार्थीलाई गणित विषय लागेको बताए । ‘ती विद्यालयको परिणाम पहिलेदेखि नै कमजोर थियो,’ उनले भने, ‘कि यस्तो भयो भनेर समीक्षा गर्छौं ।’

सहरी क्षेत्रमा आफ्नै आम्दानीको स्रोत भएका र पर्याप्त जनशक्ति भएका सामुदायिक विद्यालयको परिणाम अन्यको तुलनामा राम्रो आएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले बताए । ‘धेरैजसो सामुदायिक विद्यालयमा विपन्न, सिमान्तकृत र अवसरबाट बञ्चित विद्यार्थीले अध्ययन गर्छन्,’ उनले भने, ‘अवसर र पहुँचबाट बञ्चित भएपछि शिक्षाको गुणस्तर पनि खस्किन्छ ।’

कास्कीकै मादी गाउँपालिका–१० मकैखोलामा रहेको जनकल्याण मावि भने अपवादका रुपमा देखिएको छ । ग्रामीण भेगमा रहेको यो विद्यालयले एसईईमा शतप्रतिशत नतिजा ल्याएको छ । २०८० मा १६ जनाले एसईई दिएकोमा सबै उत्तीर्ण भएका हुन् । विद्यार्थीले २.७ देखि ३.०७ जीपीएसम्म ल्याएका छन् । अमित सूचीकारले ३.०७ जीपीए ल्याए । सरकारले उपलब्ध गराएको बाहेक विद्यालयको आन्तरिक स्रोत छैन ।

विद्यार्थी र शिक्षकको संयुक्त मिहिनेतले शतप्रतिशत नतिजा आएको प्रधानाध्यापक बोधराज बास्तोलाले बताए । उनका अनुसार कक्षा ९ बाट २५ जनामध्ये १६ जना उत्तीर्ण भएर कक्षा १० मा पुगेका थिए । विद्यालयले अभिभावकलाई बेलाबेलामा बोलाएर एसईई दिने विद्यार्थीलाई काममा नलगाउन, पढ्ने वातावरण बनाइदिन आग्रह गर्थ्यो । पुसदेखि विद्यालयले छात्रावासमै राखेर विद्यार्थीलाई पढाएको थियो । ‘हाम्रो योजनाअनुसार नै परिणाम आएको छ,’ उनले भने, ‘सरकारी विद्यालयप्रतिको धारणा बदल्ने चुनौतीका बीच हाम्रो संकल्प र मिहिनेतको प्रतिफल देखियो ।’ दरबन्दीकै शिक्षक परिचालन गरेर पनि उत्कृष्ट नतिजा ल्याउन सकिन्छ भन्ने उदाहरण आफ्नो विद्यालय बनेको उनले बताए ।

एकै विद्यालयका १० ले ल्याए ४ जीपीए

पोखराको मासबारमा रहेको निजी विद्यालय मदरल्यान्ड माविबाट २०८० मा एसईई दिएका १० विद्यार्थीले ४ जीपीए प्राप्त गरेका छन् । चार जीपीए ल्याउने विद्यार्थीमा आशिष बस्ताकोटी, अविस वाग्ले, अपेक्षा ढुंगाना, इक्विटी पौडेल, कनक अधिकारी, कृपा बराल, कृपा गुरुङ, रेडियस पोखरेल, समीक्षा पहारी र युनिका ढकाल रहेका छन् ।

बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट १ सय ८६ जनाले ४ जीपीए ल्याएका हुन् । मदरल्यान्डको यो नतिजा सम्भवतः नेपालकै सर्वोत्कृष्ट रहेको प्राचार्य नारायण बरालले बताए । उनले एकसाथ यति धेरै विद्यार्थीले ४ जीपीए ल्याएको भन्दै खुसी व्यक्त गरे । यसअघि २०७५ को एसईईमा मदरल्यान्डका ७ विद्यार्थीले ४ जीपीए ल्याउँदा देशभरमै धेरै विद्यार्थीले जीपीए ल्याएको विद्यालय बनेको थियो ।

विद्यालयका अनुसार यसपल्ट एक सय ४६ विद्यार्थीले परीक्षा दिएकोमा एक सय २८ ले ३.६० देखि ४.०० जीपीए र १८ जनाले ३.२० देखि ३.६० जीपीए सहित उत्तीर्ण हुन सफल भए । गत वर्ष कक्षा १२ को बोर्ड परीक्षामा समेत मदरल्यानडका ३ विद्यार्थीले नेपालभरबाट उत्कृष्ट नतिजा ल्याएका थिए ।

व्यवस्थापन संकायका राजेश पौडेल, विज्ञान संकायका जीवन अधिकारी र कृतिका थापा गरी ३ जनाले नेपालमै उत्कृष्ट ३.९६ जीपीए ल्याएपछि विद्यालयले उनीहरुलाई जनही २ लाख रुपैयाँसहित पुरस्कृत गरेको थियो ।

प्रकाशित : असार १५, २०८१ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

x
×