कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०

कांग्रेसले ‘क्रान्तिदेखि शान्तिसम्म’ तस्बिर प्रदर्शनी गर्ने

काठमाडौँ — नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री एवं पार्टीका पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीका अवसरमा ‘क्रान्तिदेखि शान्तिसम्म’ तस्बिर प्रदर्शनी तथा विमर्श सभा गर्ने भएको छ । 

कांग्रेसले ‘क्रान्तिदेखि शान्तिसम्म’ तस्बिर प्रदर्शनी गर्ने

कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले मङ्गलबार पार्टी केन्द्रीय कार्यालयमा स्व कोइरालासँग जोडिएका तस्बिर, वृत्तचित्र प्रदर्शनीका साथै विमर्श सभा हुने जानकारी दिएको हो ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रदर्शनीमा विभिन्न समयमा पत्रकारले कैद गरेका एक सय ५१ भन्दा बढी तस्बिर राखिने जानकारी दिए । 'केन्द्रीय कार्यालयको सभाहलमा हुने प्रदर्शनीमा विसं २००७ पहिलेका, कोइराला र उहाँका सहकर्मी नेतासँग सम्बन्धित तस्बिरहरु रहनेछन्, ती तस्बिरले क्रान्ति, शान्ति तथा विकास निर्माण र द्वन्द्वपछिको शान्ति प्रक्रियाको चरण गरी तीन अवस्थाबारे प्रतिबिम्वित गर्नेछन्', उनले भने ।

शान्ति तथा विकास निर्माणको चरणमा विकास पूर्वाधार निर्माणका सन्दर्भ, नेपालको अर्थतन्त्र र कांग्रेसले चाहेको विकास ‘मोडल’का बारेमा तस्बिरले प्रष्ट पार्ने विश्वकर्माले बताए । पार्टी सभापति शेरबहादुर देउवाले शुभारम्भ गर्ने प्रदर्शनीको प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीलगायत विशिष्ठ व्यक्तित्वले अवलोकन गर्ने जानकारी दिँदै उनले त्यसअवसरमा क्रान्तिदेखि शान्तिसम्म, समुन्नतिको दोस्रो जग र फोटो पत्रकारिता: जोखिम र अनुभव विषयमा विमर्शसभा हुने बताए ।

‘क्रान्तिदेखि शान्तिसम्म’ विमर्शसभामा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वगृहमन्त्री तथा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता प्रदीप ज्ञवाली वक्ता रहने र उक्त सत्रको सहजीकरण गेजा शर्मा वाग्लेले गर्ने जनाइएको छ ।

प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार ‘समुन्नतिको दोस्रो जग’ विषयक विमर्शमा अच्युत वाग्ले, हरि शर्मा र मञ्चला झाले विमर्श गर्नेछन् भने विश्व पौडेलले सहजीकरण गर्नेछन् । यस्तै ‘फोटो पत्रकारिताः जोखिम र अनुभव’ विषयक विमर्शमा गोपाल चित्रकार, विकास रौनियार, चन्द्रशेखर कार्की र प्रकाश माथेले विमर्श गर्नेछन् भने पत्रकार सुधीर शर्मा र जगत नेपालले सहजीकरण गर्नेछन् । प्रदर्शनी र विमर्शसभाका साथै कार्यक्रममा स्व कोइरालासँग जोडिएका सन्दर्भमा वृत्तचित्रसमेत प्रदर्शनी गरिने छ ।

विसं २०६३ माघ १ गतेदेखि २०६५ साउन ८ गतेसम्म राष्ट्रप्रमुखको जिम्मेवारी निर्वाह गरेका स्व कोइराला २०४८ सालदेखि २०६५ सालसम्म चारपटक प्रधानमन्त्री भएका थिए । विसं २००४ मा विराटनगर भएको मजदुर आन्दोलनमार्फत राजनीतिमा जोडिएका कोइराला विसं २०५३ वैशाख २९ गतेदेखि २०६६ चैत ७ गतेसम्म कांग्रेसको पाँचौँ सभापतिको जिम्मेवारीमा थिए ।

विसं १९८१ असार १८ गते जन्मिएका उनको २०६६ साल चैत ७ गते निधन भएको थियो ।

प्रकाशित : असार १७, २०८१ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×