कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

एसईई : खुट्टाका दुई औंलाले लेखेर ३.३७ जिपीए

बुटवल र गुल्मी — दाहिने खुट्टाका दुई औंलाबाहेक हातखुट्टा चल्दैनन् । घुँडामूनि दुवै खुट्टा नचल्दा हिँड्न सक्ने अवस्था छैन् । देब्रे खुट्टका कुनै पनि औंला चल्दैनन् । दुवै हात कहिल्यै उठेनन् । आफुलाई कहिल्यै कमजोर महसुस गरेनन् । हरेकदिन कक्षाकोठामा पुगेपछि आफुलाई अन्य विद्यार्थी सरह नै सम्झेर उनले आफ्नो योग्यताको परीक्षण गरिरहे ।

एसईई : खुट्टाका दुई औंलाले लेखेर ३.३७ जिपीए

त्यहीँ आत्मविश्वास, लगनशीलता र परिश्रमले अहिले गुल्मीको श्रृंगा जनता माविका १९ वर्षीय ऋषिराम कँडेलले ३.३७ जिपिए ल्याएर एसईई उत्तीर्ण गरेका छन् । विद्यालयका २१ जना परीक्षार्थी बीच उनले खुट्टाले लेखेर परीक्षा दिएकोमा ११ जना पास पाएका छन् । ती ११ मध्ये ऋषिराम सातौं स्थानमा छन् ।

ऋषिरामका बाबु लक्ष्मणका अनुसार उनी जन्मजात फरक क्षमताका हुन् । स्वास्थ्यमा कुनै समस्या नदेखिए पनि शारिरीक रुपमा उनी सबल नभएको देखिएपछि बाबुआमाले धेरै ठाउँमा उपचारका लागि पुर्‍याए । सबलांग बनाउने कुनै उपाय चलेन् । अन्तिममा बनेपास्थित अपांग अस्पतालमा लगेर खुट्टाका औंलाको शल्यक्रिया गरेर सिधा गराएपछि घरमै राखेर पढाउन थालेको बाबु लक्ष्मणले बताए । ‘बाबुको सुरुदेखि नै राम्रो भनेको दाहिने खुट्टाको दुई औंला र बौद्धिक क्षमता नै हो,’ उनले भने, ‘अन्य समस्या उपचारबाट निको नहुने बुझेपछि बाबुको इच्छा अनुसार नै घरमा राखेर कलमकापी दिएर लेख्न सिकाउन थालेका हौं ।’ अहिले पनि खाना खुवाउने, दिशापिसाब गराउनेदेखि सबै काम आफुहरुले नै गर्नुपर्ने उनले बताए ।

ऋषिरामले आफ्नो बौद्धिक क्षमताको प्रयोग भने सबै क्षेत्रमा गर्छन् । चल्ने दुई औंलाले लेख्छन् । ल्यापटप, मोबाइल चलाउँछन्, चित्र कोर्छन् । पढाई र फरक विषयमा उत्तिकै ध्यान दिन्छन् । उनले कक्षा ५ देखि अध्ययन गरेको श्रृंगा जनता माविका प्रधानाध्यापक विकासचन्द्र खरेलका अनुसार कक्षामा ऋषिराम उत्कृष्टमध्येका विद्यार्थी हुन् । विद्यालयले उनलाई पढ्ने कक्षाकोठामा खाटमा बिस्ताराको व्यवस्थापन गरिदिएको थियो । बाबु लक्ष्मणको सहयोगमा विद्यालय पुगेपछि उनी त्यही बेडमा बसेर लेख्ने पढ्ने गर्थे । केही अप्ठ्यारो परे साथीहरुसँग सहयोग माग्थे । ‘कक्षामा अब्बल र परिश्रमी नै थिए,’ प्रअ खरेलले भने, ‘हामीले एसईई दिने बेलामा पनि त्यही अनुसार नै व्यवस्थापन गरेका थियौं । तर, खुट्टाले लेख्नु परेकाले थप समय दिएर व्यवस्थापन गरेका थियौं, त्यही अनुसार राम्रो पनि गरे ।’ पढाई लेखाईसँगै उनमा अभिनय कला पनि रहेको खरेलले बताए । कक्षा ४ सम्म घर नजिकैको शारदा माविमा पढेका उनी कक्षा ५ पढ्न श्रृंगा जनता माविमा पुगेका थिए ।


धेरैले उनलाई साहनुभूति व्यक्त गरे पनि ऋषिराम आफैले त्यो अपेक्षा गर्दैनन् । आत्मविश्वामा उनी अब्बल छन् । आमा शान्ताका अनुसार बच्चामा हात उठ्दैनथे । बनेपाबाट उपचार गरेर ल्याएपछि खुट्टाका औंलाले पहिले समाउन खोज्थे । बाबुआमाले कलम दिएर समाउन सिकाए । बिस्तारै बानी पर्दै गएपछि उनले लेख्न थाले । ऋषिरामले आफुले खुट्टाले कलम छोप्न थालेको कहिलेदेखि भन्ने सम्झना नभएको बताए । ‘हामी सबैले काम गर्ने भनेको दिमागले हो, त्यो मेरो पनि ठिक छ,’ उनले विश्वास व्यक्त गरे, ‘मलाई पनि केही सपोर्ट चाहिन्छ, तर धेरै कुरा म आफैले गर्न सक्छु ।’ एसईईमा आफुले सोंचे अनुसारकै अंक आएको र अब विज्ञान विषय लिएर उच्च शिक्षा अध्ययन गर्ने उनले बताए । ‘साईन्समा के पढ्ने र कहाँ पढ्ने भन्ने सोंच्दै छु,’ उनले भने, ‘१२ मा कस्तो अंक आउँछ, त्यसपछि के बन्ने भन्ने निर्णय गर्छु र भन्छु, अहिले त के भन्ने ।’ उनले आफुले जन्मलाई कहिल्यै पनि पछुतोका रुपमा नलिएर अबसरको रुपमा प्रयोग गर्दै अघि बढ्ने सोंच लिएको बताए ।

ऋषिरामले बिहान उठेपछि साँझ नसुत्दासम्म अधिकांश समय पढाईमै खर्च गर्छन् । घरमा गितार बजाउने र गीत गाउने प्रयास पनि गर्छन् । ऋषिरामले ‘क’ वर्गको अपांगता परिचय पत्र पाएका छन् । बाबु र आमा दुवै जना हरेक दिन उनको हेरचाहमै खटिन्छन् । दुवैको अर्को सन्तान पनि छैनन् । पहिलो सन्तानमै समस्या देखिएपछि उनको उपचारमै दौडधुप गर्दागर्दै कँडेल दम्पत्तीको ७ वर्ष बिते । त्यसपछि उनको हेरचाहमै ध्यान दिए । त्यसले दुवै जनाले अर्को सन्तानको विषयमा सोंच्न पनि भ्याएनन् । ‘पहिलो सन्तान छोरा जन्मिएपछि खुशी भयौं, उमेर बढ्दै जाँदा बाबुमा समस्या देखिन थाल्यो,’ उनले भने, ‘त्यसपछि उपचारका लागि दौडधुप गर्दागर्दै ७ वर्ष बिते, अर्को सन्तानको विषयमा सोंच्न पनि भ्याएनौं ।’ अहिले उनको हेरचाह गर्ने र बाबुलाई फरक वा कमजोर महसुश हुन नदिने गरी त्यसमै लागेकाले अब सन्तान जन्माउने रहर नै नभएको उनले बताए ।

‘हामीलाई बाबु यस्तो भए भन्ने कुनै चिन्ता र पछुतो छैन्,’ आमा शान्ताले भनिन्, ‘अब उनको चाहना अनुसारको पढाई गराएर कसरी दक्ष बनाउने भन्ने नै हाम्रो उद्देश्य हो ।’ कँडेल दम्पत्ती दुवै गाउँका सामान्य किसान हुन् । धेरै आम्दानी छैन् । छोराले साइन्स पढ्ने भनेको र त्यही अनुसारको वातावरण मिल्ने विद्यालयको खोजीमा रहे पनि आर्थिक पाटोमा पनि उत्तिकै समस्या रहेको बाबु लक्ष्मणले बताए ।

प्रकाशित : असार १५, २०८१ २०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लामो समयदेखि किसानलाई भुक्तानी नदिएका दूग्ध उद्योगीहरूले उल्टै 'मिल्क होलिडे' को चेतावनी दिएकोबारे तपाईंको भनाई के छ ?

×