नौबहिनी गाउँपालिका–८ फोप्लीकी रेश्मा सुनारले १५ वर्षको उमेरमै भागी विवाह गरिन् । सुनार अहिले ती दिन सम्झिंदा निकै भावुक हुन्छिन् । उनले २० वर्षमा दोस्रो विवाह गरेकी छन् । ‘कलिलो उमेरमा आफैंले रोजेको घर लेखेकै रहेनछ,’ उनले भनिन्, ‘दोस्रो विवाह गरेपछि घरबार राम्रै चलेको छ ।’
डोकोमा गाग्री बोकेर पानीको जोहोका लागि कुवानजिक पुगेकी झिमरुक गाउँपालिका–६ तोरबाङकी गोमा विकले वर्षौंदेखि कुवाको पानी बोकेरै खाइरहेको सुनाइन् । तोरबाङबासी सबैले एउटै कुवाको पानी प्रयोग गर्छन् । ‘पानीका कुरा गर्दा मनै रुन्छ,,’ उनले भनिन्, ‘जीवन पानी बोकेरै जाने भयो ।’
ऐरावती–६ बैरेनीका हरिप्रसाद पौडेल आठ महिनाकी छोरीलाई निमोनिया भएपछि उपचारका लागि पुरनठाँटी स्वास्थ्य चौकी पुगे । पहिलोपटक स्वास्थ्य चौकी आएका पौडेललाई गाउँकै चौकीमा डाक्टरले काम गरेको देख्दा अचम्म लाग्यो ।
जिल्लामा अहिले मह काढ्ने सिजन हो । धेरै किसानले मह काढेर बजार पठाउँथे । यस वर्ष अवस्था फरक छ । मह उत्पादन स्वात्तै घटेको छ । अरिंगालले मौरीलाई आक्रमण गर्न थालेपछि मह उत्पादन नभएको प्यूठान नगरपालिका–७ टिकुरीका मधुसूदन भण्डारीले बताए ।
प्यूठान नगरपालिका–५, चान्जा गाउँकी खुवी खड्काले महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गर्न थालेको लामो समय भयो । गाउँका लागि पहिलो चिकित्सकीय सेवा दिने उनै हुन् । नजिक न स्वास्थ्य संस्था छन्, न त कुनै मेडिकल । ‘यहाँ त बिरामी भए मर्नुको विकल्प छैन,’ उनले भनिन्, ‘स्वास्थ्य संस्था पुग्न बिरामीलाई सहज छैन । दुई घण्टाभन्दा बढी समय लगाएर स्वास्थ्य चौकी पुग्नु पर्छ ।’
‘तल्लो पेट दुख्न थालेको वर्षौं भयो,’ गौमुखी गाउँपालिका–२ अर्खाकी मुना सुनारले दुखेसो पोखिन्, ‘घाँस–दाउरा गर्दागर्दै आधा जीवन बितिसक्यो । उपचार गर्न जाने भनेर सोचेको पनि त्यस्तै भयो ।’ अधिकांश समय चुलोचौको र घरायसी काममा बित्ने गरेको उनले बताइन् ।
पहिरोले विस्थापित भएका ऐरावती गाउँपालिका–४ तिग्रापातलका पोमबहादुर मगर अहिले पनि अस्थायी टहरोमा छन् । गएको असोज १९ मा अविरल वर्षाका कारण पहिरोले बस्ती बगाउने जोखिम बढेपछि गाउँबाट विस्थापित भएको उनले सुनाए । ‘गाउँपालिकाले बस्ती स्थानान्तरणका लागि सिफारिस गरेको सुनेका छौं,’ उनले भने, ‘बस्ती स्थानान्तरण गर्ने वा गाउँमै पुनःस्थापित गर्नेबारे छिटो निर्णय भए यो जाडोमा कठ्यांग्रिनबाट बच्न सक्थ्यौं कि ।’
प्यूठान नगरपालिकाले नगरपालिकाभित्रका करदातालाई इन्डक्सन चुल्हो वितरण गरेको छ । नगरपालिकालाई वार्षिक ५ सय रुपैयाँभन्दा बढी कर बुझाउने करदातालाई नगरपालिकाले निःशुल्क इन्डक्सन चुल्हो वितरण गरेको नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले बताए ।
बिहेमा भोज खाएपछि पाल्पाको चिर्तुङधारा घोरबन्दा र प्यूठानको प्यूठान नगरपालिकास्थित गुरुङगाउँका ८५ बढी बिरामी परेका छन् । पाल्पामा एकै गाउँका ४० बढी बिरामी परेका छन् । पाल्पामा जन्ती आएर फर्किएका प्यूठानका ४५ भन्दा बढी बिरामी परेका हुन् ।