आहालखोलामा घरैपिच्छे आलु उत्पादन  

प्यूठान — चाउरी परेका गाला, पालतो शरीर, अरुकै सहारामा बाच्नुपर्ने उमेरमा झिमरुक गाउँपालिका–३ आहालखोलाका दण्डबहादुर खत्री सक्रियता हेर्दा अचम्मित हुन्छन् । गतबर्ष चौरासी गरेका उनको दैनिक सामान्य युवाको जस्तै छ । सबेरै उठेर चिया पछि उनी कुटो–कोदालो बोकेर बारीमा हिँडिहाल्छन् । घरनजिकैको बारीमा आलु खेती गरेका उनले यो सिजनमा झण्डै दुईसय मुरी उत्पादन गरेका छन् ।

आहालखोलामा घरैपिच्छे आलु उत्पादन  

दण्डबहादुरको घरमा यतिको आलु फलेको पहिलो होइन, उनका बुबाले पनि घरमा दुई सय मुरी बढी आलु फलाउँथे । ‘गाउँमा आलु हाम्रो घरबाट लगाउन सुरु गरिएको हो,’ बारीमा आलु खन्दै गरेका दण्डबहादुरले सुनाए, ‘हाम्रोमा फल्दै नफले पनि सिजनमा एक सय मुरी कतै जाँदैन् ।’ आहालखोला गाउँमा सबैभन्दा धेरै आलु उत्पादन गर्ने दण्डबहादुरलाई धेरैले आलु बाजेका नामले चिन्छन् । पहिले सदरमुकाम खलंगासम्म आलु बोकेर जाने गरेको सुनाए । त्यहीबाटै आलु बाजेको उपनाम पाएको बताए । आहालखोलाको आलु भनेपछि धेरैले खुबै रुचाउँथे । खोसाखोस गरेर आलु बिक्री हुन्थ्यो । बाहिरबाट आउने पुराना मान्छेले आलु बाजे भनेरै चिन्ने गरेको उनले बताए । दण्डबहादुरले ठ्ट्यौली शैलीमा भने,‘दण्डबहादुर नाम त मेरो नागरिकतामा मात्रै रहने भयो ।’

दण्डबहादुरको जोसले गाउँका अन्यलाई पनि खेतीपातीमा लाग्न उर्जा मिलेको छ । आहालखोला प्यूठानमा आलु उत्पादनले चर्चित छ । यहाँका सबैजसो घरमा आलु उत्पादन हुन्छ । जिल्लाभरबाट यहाँ आलु किन्ने व्यापारी घरघरै पुग्छन् । गाउँका सबैजसो खेती गर्ने भएकाले कसैले किन्नु पर्दैन । स्थानीय शोभाराम पौडेलले एक सय मुरी हाराहारी आलु अधिकाशं किसानको घरमा फल्ने गरेको बताए । ‘दुई चार जनाको घरमा त दुईसय मुरीसम्म फलाउँछन् । आलु फल्ने भएरै आलुखोला भन्दाधन्दै आहालखोला भयो,’ उनले भन, ‘हरेक घरले आलु बेचर बार्षिक डेढ दुई लाखदेखि १५ लाख रुपैयाँसम्म आम्दानी पर्छन् ।’

आहालखोलामा पछिल्लो समय नयाँ जातका आलु लगाउन थालिएको छ । ब्यवसायिक प्रयोजनलाई ध्यानमा राखेर नयाँ जातको आलु लगाउन थालिएको स्थानीय नविन केसीले बताए । गाउँमा यो बर्ष चिप्स बनाउन प्रयोग हुने तीन जातका आलु ल्याएर एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय प्यूठानले परीक्षण गरेको थियो । खुमल उज्वल, खुमल विकास, खुमल उपहार जातको आलु परीक्षण गरिएको थियो । पहिलो पटक लगाइएको आलुको उत्पादन अन्यको भन्दा राम्रो भएको केसीले बताए । नयाँ र रैथाने गरी यहाँ अहिले ६ जातका आलुको खेती गरिँदै आएको छ ।

बर्षौदेखि आलु उत्पादन गर्दै आएका किसान भण्डारण र बजारीकरणमा भने समस्या खेप्दै आएका छन् । ठूलो परिमाणमा आलु कुहिने गरेको किसानले गुनासो गरे । आलु खनेपछि भारी हालेर गाडीमा राखेर गाउँगाउँमा लगेर बिक्रि गर्ने गरिएको स्थानीय जितबहादुर केसीले बताए । ‘बजार यहाँ भन्ने छैन्, सक्नेले जहान हुनेले बोकेरै बिक्रि गर्छौं,’ उनले भने,‘दुई चार क्विन्टल त कुहिएर जान्छ ।’ बजार समस्याले किसानको बर्षेनी आलु कुहिने समस्यामा कुनै तहबाट सुनुवाइ नभएको उनले गुनासो गरे । ‘हामीलाई उत्पादन गर्न समस्या छैन्, बजारको समस्याले बर्षेनी उत्पादन घट्दै गैरहेको छ । बजारै नपाइने भएपछि किन धेरै उत्पादन गर्ने ?’ उनले भने ।

झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले स्थानीय कृषि उपजलाई स्टोर गरेर राख्न कोल्ड स्टार निर्माण भइरहेको बताए । आहालखोलाको आलु, तुषाराको सुन्तलालगायत अन्य कृषि उपज संकलन गर्ने र बजारीकरणमा सहयोग गर्ने गाउँपालिकाले योजना बनाएको उपाध्यक्ष पोख्रेलले बताए । ‘उत्पादनको आधारमा अनुदान कार्यक्रम लागु गर्दै छौं,’ उनले भने,‘यसले किसानलाई उत्पादन गर्न जोड गर्छ, बजारीकरण स्थानीय तहले गरिदिन्छ ।’

प्यूठान जिल्लामा वार्षिक १८ हजार ७ सय ४२ मेट्रिकटन आलु उत्पादन हुने गरेको एमीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको तथ्यांकमा छ । जिल्लाभर १ हजार १ सय ९० हेक्टरमा आलु खेती हुने गरेको छ । पहिलेको तुलनामा आलु उत्पादन बढेको कार्यालयका निमित्त प्रमुख उमेशचन्द्र श्रेष्ठले बताए । ‘किसानलाई नयाँ जातको आलु सिफारिस गरेका छौं, त्यसको उत्पादन राम्रो छ,’ उनले भने,‘केही समस्या बजारीकरणको छ ।’ जिल्लामा आहालखोलासँगै रजवारा, अर्खा, स्याउलीबाँगमा बर्खे आलु पनि लगाउने गरिएको छ ।

प्रकाशित : चैत्र ३, २०८० २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?