२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

म विद्रोही पाराको पनि छु, बालेनको र्‍याप सुन्छु’

इतिहास भनेको पछि फर्केर मात्र हेर्ने होइन, यसबाट पाठ सिकेर अघि बढ्ने पनि हो । मेरो विचारमा नेपालको सरकार र नेताहरूले पहिले भएका घटना दोहोरिन नदिन के गर्ने भन्नेबारेमा बेलैमा सोच्नुपर्छ । 

काठमाडौँ — निशस्त्रीकरण मामिलाका लागि संयुक्त राष्ट्रसंघ कार्यालयअन्तर्गत पेरु, टोगा र नेपालमा क्षेत्रीय केन्द्र छन् । ललितपुरको लगनखेलमा रहेको एसिया र प्यासिफिकमा शान्ति र निःशस्त्रीकरणका लागि क्षेत्रीय केन्द्र (यूएनआरसीपीडी) लाई यो क्षेत्रका ४३ देश हेर्ने जिम्मेवारी छ । यसको निर्देशकका रूपमा अहिले दीपायन बशु रे छन् ।

म विद्रोही पाराको पनि छु, बालेनको र्‍याप सुन्छु’

भारतको कोलकातामा जन्मेका रे १३ वर्षकै उमेरमा क्यानडा पुगे । क्यानडामा अध्ययन गरेका उनी त्यसपछि बेलायत पुगे । कानुनी रूपमा उनी क्यानडा र बेलायतका नागरिक हुन् । तर आफूलाई बंगालीका रूपमा परिचय दिन मन पराउने बताउँछन् उनी । रेसँग हतियार रोकथाम, दिगो विकास, मानवीय सुरक्षा, द्वन्द्व, जोखिम विश्लेषण तथा न्यूनीकरण र लैंगिक हिंसाका क्षेत्रमा दुई दशक लामो अनुभव छ । रेसँग नेपाल बसाइ, संस्कृति, परम्परा, हावापानी, चाडपर्वलगायत विषयमा कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश ः

पहिलो पटक नेपाल कहिले आउनुभयो ?

म सन् २०१४ मा पहिलो पटक नेपाल आएको थिएँ । त्यस बेला म एक्सन एड (अन्तर्राष्ट्रिय गैरसरकारी संस्था) मा काम गर्थें । त्यसपछि म कोभिड–१९ का कारण लकडाउन हुनुभन्दा दुई साताअघि नेपाल आइपुगेको थिएँ । २०२० मार्चमा अहिलेको कार्यालयमा बैठकका लागि आएको थिएँ । तर त्यसबेला म अर्कै संस्थामा काम गर्थें । त्यसपछि जब यो निर्देशक पदका लागि खुला आवेदन आयो । मैले आवेदन दिएँ र छनोट भएपछि २०२३ जुनमा नेपाल आएको हुँ । यो मेरो तेस्रो नेपाल यात्रा हो ।

नेपालको भूभाग कस्तो लाग्यो ?

मलाई नेपालको भूभाग निकै मन पर्‍यो । म सधैं समथर भूभागमा बस्दै आएको थिएँ । तर अहिले हेर्नुस् त यो मेरो कोठाको झ्याल (ललितपुरस्थित सञ्चय कोष भवनको चौथो तला) बाट, तपाईंले हिमाल देख्न सक्नुहुन्छ । जुन निकै लोभलाग्दो दृश्य हो । नेपालका अन्य स्थानमा घुम्दा पनि नेपालको भूभाग अत्यन्तै उत्कृष्ट देखिन्छ ।

आफ्नो कामका दौरान नेपालीहरूसँग भेटवार्ता गर्नुभएको छ । नेपाली कस्तो लाग्यो ?

मैले धेरै नेपालीहरूसँग काम गर्ने मौका पाएँ । स्पष्ट रूपमा भन्दा नेपालीहरू उत्कृष्ट र अद्भुत प्रेरणा दिने खालका छन् । मैले ४३ देशका मान्छेहरूसँग काम गरिरहेको छु । जब मैले काम गर्न थालें, नेपालमा उत्कृष्ट महिला नेताहरू रहेको पाएँ । परराष्ट्र सचिव सेवा लम्साल मैले नेपालमा भेटेको पहिलो सरकारी अधिकारी हुनुहुन्छ । उहाँसँग मैले कुराकानी गर्ने अवसर पनि पाएँ । उहाँले नेपालको विदेश नीतिलाई सञ्चालन गरिरहनुभएको छ । मैले सशस्त्र प्रहरी बल बाघभैरव गुल्मकी गुल्मपतिसमेत रहेकी सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) रजनी थापासँग पनि काम गर्ने मौका पाएँ । उहाँ देशलाई अघि बढाउने अर्को महत्त्वपूर्ण महिला हुनुहुन्छ । गैरसरकारी संस्थामा काम गर्ने महिलाहरू उदाहरणका लागि शोभा श्रेष्ठ र पूर्णशोभा चित्रकारहरू जस्ता महिला नेताहरू मेरा लागि रोलमोडल हुन् । एक दशकयता उनीहरूले गरेका काम उत्कृष्ट छन् । हाम्रो निःशस्त्रीकरण क्षेत्रमा गति लिनका लागि महिलाहरूको भूमिका निकै महत्त्वपूर्ण हुन्छ । नतिजा निकाल्ने हो भने निःशस्त्रीकरण र हतियार नियन्त्रणको विषयमा महिलाले खेलेको भूमिकाले महत्त्वपूर्ण अर्थ राख्छ । जब सहभागिता, नेतृत्व र निर्णयमा महिला बढी सहभागिता हुन्छ, तब नतिजा निकाल्न सहज हुन्छ । अहिले परराष्ट्र मन्त्रालयका यूएन डिभिजनका प्रमुख तथा सहसचिव अमृतकुमार राई र उहाँको टोलीका सदस्यहरू उत्कृष्ट हुनुहुन्छ । उहाँहरूसँग काम गर्न पाउँदा निकै आनन्द लाग्छ । उहाँहरूले नेपालका लागि निकै महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहनुभएको छ । र, अन्त्यमा मेरो टोलीको कुरा गर्दा उहाँहरू उत्कृष्ट हुनुहुन्छ । उहाँहरूमा काम गर्ने चाहना छ, व्यावसायिक हुनुहुन्छ । यही टोलीमा बसेर काम गर्न पाउँदा खुसी लाग्छ ।

नेपालको मौसमबारे कस्तो अनुभव छ ?

म मुख्य रूपमा कोलकाताबाट हो, त्यसैले मलाई तातो मौसम मन पर्छ । पछिल्लो २० वर्षमा म क्यानडा र बेलायतमा छु, जहाँ निकै चिसो मौसम हुन्छ । तर नेपालको मौसम उत्कृष्ट छ । मेरो हरेक दिन बिहानको सबैभन्दा मन पर्ने समय भनेको चिया पिउँदै मौसमको अवलोकन गर्नु हो ।

नेपाली खानाको स्वाद लिनुभएको छ ? कुन खाना बढी मन पर्‍यो ?

मेरो मन पर्ने खाना मःम हो । मःमकै कारण मेरो तौल पनि बढिसकेको छ । म र मेरो परिवारका लागि राम्रो पक्ष भनेको दक्षिण एसियामा समानता छन् । बंगालीका रूपमा मलाई मिठाई मन पर्छ । नेपालमा पनि कोलकातामा पाइने जस्तै मिठाई पाइन्छ । नेपाली खाना पनि मलाई निकै मन पर्छ । नेपाली खाना बंगाली खाना जस्तै स्वादिला छन् ।

नेपालमा कुनै चाडपर्व मनाउनुभएको छ ? मन पर्ने चाड कुन हो ?

मलाई नेपालका सबै चाडपर्व मन पर्छ । बंगाली हुनुको नाताले त्यहाँका र नेपालका चाडपर्वमा धेरै समानता छन् । हामीले सपरिवार होली मनायौं । मेरा बच्चाहरू बेलायतमा हुर्केका हुन्, त्यसैले उनीहरूले अहिलेसम्म त्यसरी होली मनाएका थिएनन् । र, उनीहरूले होली निकै मन पराए । बंगालीका लागि दुर्गा पूजा अत्यन्तै महत्त्वपूर्ण छ । जुन नेपालमा दसैं हो । तिहार र दिवाली पनि उस्तै हुन् । म र मेरा लागि दक्षिण एसियामा फेरि आएर यी सम्पूर्ण चाडपर्वहरू मनाउन पाउनु र मेरा बच्चाहरूलाई यसबारे थाहा दिन पाउनु निकै आनन्दायी कुरा हो ।

तपाईंलाई नेपाली भाषा बोल्न आउँछ ?

मैले भन्नै पर्छ, म नेपाली भाषा बोल्दिनँ । तर म हिन्दी बोल्न सक्छु । म हिन्दी स्क्रिप्ट पढ्न सक्छु, त्यस्तैगरी नेपाली पनि पढ्न सक्छु । तपाईंहरू सबै प्रतिभाशाली हुनुहुन्छ र हिन्दी बोल्न सक्नुहुन्छ । मैले भन्नै पर्छ, म अलि अल्छी छु । हिन्दीको कारणले गर्दा पनि मलाई नेपाली बुझ्न र पढ्नका लागि केही सहज भएको छ । म नेपाली भाषा बुझ्न सक्छु, किनकि बंगाली भाषाका शब्दहरू पनि नेपालीसँग मेल खाने रहेछन् । म केही समयअघि आँखा र अर्को एक डाक्टरकहाँ गएको थिएँ । दुवै डाक्टरहरूले राम्ररी बंगाली भाषा बोल्दा रहेछन् । त्यो सुन्दा साह्रै राम्रो लाग्यो ।

नेपाली गीत, संगीत सुन्नुभएको छ ?

मलाई संगीत निकै मन पर्छ । म यो पेसामा नलागेको भए, संगीतकार हुन्थें होला । म, मेरी श्रीमती र हाम्रो परिवार साँच्चै संगीत मन पराउँछौं । मेरो सातामा सबैभन्दा मन पर्ने समयचाहिँ बिहान सबेरै उठेर कसैले बाँसुरीको धुन बजाएको सुन्दा निकै आनन्द आउँछ । त्यो मेरा लागि सधैंभरिका लागि उत्कृष्ट समय हो । म त्यो सुनिरहन मन पराउँछु । म अलि विद्रोही पाराको पनि छु । म बालेनको र्‍याप गाना पनि सुन्छु । त्यो राम्रो लाग्छ । एउटा समारोहमा मैले कुटुम्ब ब्यान्डलाई सुनेको थिएँ, त्यो ब्यान्डले पारम्परिक संगीतलाई आधुनिक शैलीमा प्रस्तुत गरेको उत्कृष्ट लाग्यो । मैले गितार बजाउने प्रयास गरेको थिएँ, तर हात भाँचिएपछि छाडें । मलाई त्यसपछि अलि फरक लागेको मंकी ट्याम्पल हो ।

नेपालको साहित्य र इतिहासबारे पढ्नुभएको छ ?

मैले नेपालको बृहत् शान्ति सम्झौता पढेको थिएँ । म नेपालबारे अध्ययन गरिरहन्छु । मैले अहिले ‘इमर्जिङ सेक्युरिटी च्यालेन्जेज नेपाल’ नामक पुस्तक पढिरहेको छु । पुस्तकमा नेपालमा शान्ति सम्झौता भएपछिको अवस्थाबारे विश्लेषण गरिएको छ । इतिहास भनेको पछि फर्केर मात्र हेर्ने होइन, यसबाट पाठ सिकेर अघि बढ्ने पनि हो । मेरो विचारमा सरकार र नेताहरूले पहिले भएका घटना दोहोरिन नदिन के गर्ने भन्ने सोच्नुपर्छ । हतियार, गोली–गठ्ठा, बारुद लगायतका कुराको पहुँच हटाउनुपर्छ । प्रविधिलाई कतिपयले गलत रूपमा प्रयोग गर्न सक्छन् । साइबर सेक्युरिटी, आर्टिफिसियल इन्टिलिजेन्स (एआई) लगायतका कुरामा निःशस्त्रीकरण र हतियार न्यूनीकरणले काम गर्छ । म नेपाल सरकार र यहाँका नेताहरूलाई निःशस्त्रीकरण र हतियार न्यूनीकरणलगायत आवश्यक सबै सन्धिहरूमा हस्ताक्षर गर्न आग्रह गर्दछु । यसले बाह्य क्षेत्रबाट मात्र रक्षा गर्दैन, आन्तरिक रूपमा सही ऐन र नीतिनिर्माणमा पनि सहयोग गर्छ ।

नेपाली फिल्म हेर्नुभएको छ ?

समयको चापले गर्दा अहिलेसम्म मलाई नेपाली फिल्म हेर्ने मौका मिलेको छैन । तर हेर्नेबारे सोचेको छु ।

नेपालको कुन स्थान मन पर्‍यो ?

म अहिलेसम्म लुम्बिनी, पोखरा, चितवन गएको छु । पोखरा गएका बेला केबलकार चढेर साराङकोट पुगें । त्यहाँबाट देखिने दृश्य उत्कृष्ट थियो । म घण्टौं हिमालअघि गएर उभिरहन सक्छु । मेरो कार्यालयमा पनि जब मौसम खुला हुन्छ, एकातर्फ मेरा साथीहरू हिँडेको देख्न सकिन्छ भने अर्कोतर्फ हिमालहरू देखिन्छ । नेपालका हिमालहरू साँच्चै लोभलाग्दा छन् ।

नेपालको कला र संस्कृतिबारे के थाहा छ ?

नेपाल कला र संस्कृतिमा साँच्चिकै धनी मुलुक हो । म र मेरी श्रीमतीले विभिन्न कलाहरू हेरेका छौं । मिथिला शैलीको कला निकै जीवन्त लाग्यो । ती कलाले मलाई पश्चिम बंगालको सम्झना पनि दिलायो । पश्चिम बंगालमा पनि त्यस्ता कला देखिन्छन् । थान्का पेन्टिङ पनि निकै उत्कृष्ट लाग्यो । मेरी श्रीमती कलाकार हुन् । उनलाई पनि त्यो मन पर्‍यो । तिब्बतीय कला पनि उत्कृष्ट लाग्यो । ग्रुफिटी पेन्टिङ र सन्देश निकै उत्कृष्ट लाग्यो । ग्रुफिटीले सामाजिक विषयहरू उठान गर्ने गरेको छ ।

तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

प्रकाशित : वैशाख २९, २०८१ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधनकै दिन शीर्ष नेता र सांसदहरूको उल्लेख्य अनुपस्थिति रहनुलाई के भन्नुहुन्छ ?

x