कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

अमेरिका गुन्जाइरहेका सुशान्त केसी

काठमाडौँ — गायक–गीतकार सुशान्त केसी पछिल्लो समय युवावर्गमाझ निकै चर्चित छन् । इन्डी र पप संगीतमा जमेका सुशान्तले आफ्नो ८ वर्षे सांगीतिक करिअरमा तीन दर्जनभन्दा बढी गीत सार्वजनिक गरिसकेका छन् । तीमध्ये अधिकांश दर्शक/श्रोताले निकै मन पराएका छन् ।

अमेरिका गुन्जाइरहेका सुशान्त केसी

‘पर्ख न’, ‘क्या कर्दिया’, ‘सारंगी’, ‘मुस्कुराएर’, ‘झ्यालबाट’, ‘बेहोस’, ‘गुलाबी’, ‘साथी’, ‘रिसाउने भए’, ‘बैमानी’, लगायतका चर्चित गीत गाइसकेका सुशान्तले नेपाली संगीतको प्रतिनिधित्व गर्दै पहिलो पटक अमेरिकाको न्युयोर्कस्थित पलेडियम हलमा आफ्नो प्रस्तुति दिएका छन् । त्यसको एक सातापछि शुक्रबार उनले मिनेसोटामा पनि भव्य कार्यक्रम गरेका छन् । करिब दुई महिनाको सांगीतिक यात्राका दौरान उनले अमेरिकाका अन्य ९ सहरमा सांगीतिक कार्यक्रम गर्दै छन् । अमेरिकामा जारी सांगीतिक यात्राबारे सुशान्त केसीसँग कान्तिपुरका बुद्धिसागर मरासिनीले गरेको कुराकानी :

तपाईंको अमेरिकाको सांगीतिक यात्राको उद्देश्य के हो ? यो कस्तो भइरहेको छ ?

मलाई लाग्छ, आफ्नो संगीत सकभर धेरै देशमा, धेरै ठाउँमा पुर्‍याउने सबै कलाकारको सपना हुन्छ । म पनि ८ वर्षको परिश्रमपछि यही उद्देश्य बोकेर अमेरिका टुरमा हिँडेको हुँ । निर्धारितमध्ये अहिलेसम्म हाम्रा दुईवटा कार्यक्रम निकै सफलतापूर्वक सम्पन्न भएका छन् । न्युयोर्कको टाइम्स स्क्वायरस्थित पलेडियम हलको कार्यक्रममा करिब दुई हजार दर्शक/श्रोतासामु प्रस्तुति दिन पाएँ । यसले मलाई निकै सन्तुष्टि प्राप्त भएको छ ।

अमेरिकाका कुन–कुन स्थान र मितिमा कार्यक्रम हुँदै छन् ?

अहिलेका लागि ११ वटा फरक फरक सहरमा कार्यक्रम तय गरिएको हो । त्यसमध्ये न्युयोर्क (जुलाई २०) र मिनेसोटा (जुलाई २६) मा कार्यक्रम भइसकेका छन् । त्यसबाहेक जुलाई २८ मा डीएमभी, अगस्ट ३ मा ह्यारिसबर्ग, अगस्ट ४ मा पिट्सबर्ग, अगस्ट १० मा डालस, अगस्ट १७ मा नर्थ क्यारोलाइना, अगस्ट २३ मा अस्टिन, अगस्ट ३० मा सान फ्रान्सिस्को, अगस्ट ३१ मा कोलोराडो र सेप्टेम्बर ७ मा कोलम्बसमा कार्यक्रम हुँदै छन् । यस पटकको टुरमा हामीले खासगरी नेपालीहरूको बढी बसोबास भएका ठाउँहरू छनोट गरेका हौं ।

सांगीतिक यात्राका क्रममा दर्शक/श्रोताको कस्तो साथ पाइरहनुभएको छ ?

टुरका क्रममा हामीले सोचेको भन्दा धेरै राम्रो सहयोग पाइराखेका छौं । अब आउँदा कार्यक्रमहरूमा पनि अझै धेरै सहयोगको आशा राखेका छौं ।

न्युयोर्कको टाइम्स स्क्वायरस्थित पलेडियम हलमा सांगीतिक प्रस्तुति दिएर इतिहास रच्नुभएको छ, कस्तो अनुभव भयो ?

यस्तो अवसर पाउनुमा म आफूलाई निकै भाग्यशाली ठान्छु । त्यहाँ उपस्थित दर्शकहरू देखेर म आफैंमा पनि ऊर्जा थपियो । मेरो आफ्नो अनुभव पनि एकदमै उच्चस्तरको रह्यो ।

पलेडियम हलको कार्यक्रमा दर्शक/श्रोताको कस्तो साथ पाउनुभयो ? प्रस्तुतिमा को–को हुनुहुन्थ्यो ?

यो टुरमा सबै मेरा एकल शो हुन् । म मेरो ब्यान्ड ‘द ब्याङ्गर्स’ सँग गीत/संगीत प्रस्तुत गर्दै छु । ब्यान्डमा गिटारिस्ट दीपांकर गौतम क्षेत्री, ड्रमर सञ्जय अवाले, बास गिटारिस्ट नीरञ्जन रेग्मी, किबोर्डिस्ट दावा शेर्पा, डिजे रेडमस (सुदीप बाँस्कोटा) हुनुहुन्छ । साउन्ड इन्जिनियर शिशिररत्न शाक्य, लाइट टेक्निसियन रवि गुरुङ, भिडियोग्राफर थोमस जीएम (आयुष्मान घर्तीमगर) र व्यवस्थापक अमरचन्द्र न्यौपाने हुनुहुन्छ ।

उक्त कार्यक्रममा कतिवटा गीत प्रस्तुत गर्नुभयो ? त्यो एउटा शोका लागि कति खर्च भयो ?

कार्यक्रममा मैले २१ वटा गीत प्रस्तुत गरें । तीमध्ये दुई गीत दर्शकको अनुरोधपछि पुनः गाएँ । त्यसबाहेक एउटा हालसम्म सार्वजनिक नभएको गीत पनि प्रस्तुत गरेको थिएँ । कार्यक्रमको खर्चबारे भने हामीलाई खासै थाहा हुँदैन । तर न्युयोर्क त्यो पनि टाइम्स स्क्वायर जस्तो ठाउँमा गरिएको कार्यक्रममा खर्च राम्रै हुन्छ भन्ने जोकोहीले पनि अनुमान गर्न सक्छ ।

पलेडियम हलको कार्यक्रममा भएको अविस्मरणीय क्षण केही छ ?

हामीले अहिले पुरानो गीत ‘तिमीले’ लाई नौलो शैलीमा प्रस्तुत गरिरहेका छौं । यो गीतको अन्त्यमा दर्शक/श्रोतासँगै गाउन मिल्ने भाग भएकाले पनि त्यो गीतको प्रस्तुति मेरा लागि अविस्मरणीय क्षण बन्यो ।

तपाईंले देशभित्रभन्दा देशबाहिरका सांगीतिक कार्यक्रम वा कन्सर्टलाई बढी प्राथमिकता दिनुको कारण के हो ?

हामीले सबै शोहरूलाई उत्तिकै प्राथमिकता दिने गरेका छौं । पछिल्लो समय मचाहिँ नेपालको शो फरक र आफ्नै शैलीमा गर्न खोजेकाले पनि केही समय लागेको हो ।

अमेरिकाको सांगीतिक यात्रा डायस्पोरालाई जोड्ने अभियान हो ? यदि हो भने त्यो कसरी सम्भव छ र त्यसका लागि भविष्यमा के–के गर्दै हुनुहुन्छ ?

कुनै पनि सांगीतिक यात्रालाई भिन्नभिन्न दुष्टिकोणबाट हेर्न सकिन्छ । र, यो टुर पनि एउटा अभियान नै हो । भविष्यमा पनि यस्तै सांगीतिक यात्राका लागि योजना बनिरहेका छन् र नयाँ–नयाँ गीतहरू पनि रिलिज गर्ने योजना छ ।

तपाईंको अमेरिका टुरको अनुमानित खर्च कति हो र यसको आयोजक को हो ?

टुरको खर्चबारे हामीलाई भन्दा पनि आयोजकलाई थाहा हुन्छ । र, यो टुरको आयोजना गराज इन्टरटेनमेन्टको सहयोगमा ‘ठमेल एनवाईसी’ ले गरेको हो ।

केही समयअघि तपाईंले हिन्दी भाषाको गीत पनि सार्वजनिक गर्नुभयो, त्यो किन र केका लागि ?

केही समयअघि सार्वजनिक गीत ‘पर्ख न’ भारतमा ट्रेन्डिङमा आउन सफल भयो । त्यसकारण पनि हामीले अर्को गीत ‘क्या कर्दिया’ हिन्दीमा सार्वजनिक गर्‍यौं । त्यसको कारण नै नेपाली गीत–संगीतका दर्शकको दायरा फराकिलो पार्नु हो । भोलिका दिनमा पनि विश्वका अन्य देशका नागरिकलाई पनि नेपाली गीत सुनाउने प्रयास हुनेछ ।

नेपाली गीत–संगीतलाई विश्वव्यापी बनाउन भविष्यमा के–कस्ता योजना छन् ?

योजना सधैं एउटा नै छ । त्यो हो, सकेसम्म धेरै गीत सार्वजनिक गर्ने र सकभर धेरै श्रोता/दर्शकमाझ पुग्ने । यसो गर्दै जाँदा भविष्यमा नेपाली गीत–संगीत पनि विश्वव्यापी बन्छ भन्ने मलाई लाग्छ । त्यसका लागि सबैको साथ र सहयोग भने अत्यन्त आवश्यक पर्छ नै ।

नेपालभित्र आगामी दिनमा के–के गर्दै हुनुहुन्छ ?

अहिलेको लागि मेरो ध्यान भनेको नयाँ गीत नै हो । त्यसका साथसाथै ‘एस्केसी’ क्लोथिङ ब्रान्ड पनि अघि बढाउँदै छु ।

संगीतमा भविष्य खोजिरहेका युवापुस्ताका लागि तपाईंको के सुझाव छ ? त्यस्तो पुस्तालाई सहयोग गर्नेबारे केही सोच्नुभएको छ की ?

संगीतमा भविष्य खोजिरहेका युवाहरूलाई म तपाईंलाई के मन पर्छ त्यही गर्नुस् र त्यसलाई सधैं निरन्तरता दिनुहोस् भन्न चाहन्छु । अहिलेको समयमा आफू पनि सिक्दै छु र नयाँ अनुभव पनि बटुल्दै छु । भविष्यमा भने अन्य कलाकारलाई पनि सक्दो सहयोग गर्ने उद्देश्य छ ।

विश्व संगीतको यात्रामा तपाईं आफूलाई कहाँ पुगेको ठान्नुहुन्छ ?

विश्व संगीतको मेरो यात्रा सुरु हुँदै छ भन्ने मेरो ठम्याइ छ ।

तपाईंको संगीत क्षेत्रको अध्ययन कहाँसम्म पुग्यो ?

अहिले म अमेरिकाको बोस्टनस्थित बर्कली कलेज अफ म्युजिकमा स्नातक अन्तिम वर्षमा अध्ययन गरिरहेको छु ।

अन्त्यमा, दर्शक/श्रोतालाई केही भन्न चाहनुहुन्छ ?

अहिलेसम्म मलाई साथ दिनुहुने सबै दर्शक/श्रोता तथा समर्थकलाई धन्यवाद भन्न चाहन्छु । उहाँहरूको साथबिना यहाँसम्म आइपुग्न सम्भव नै थिएन ।

तस्बिर सौजन्य : अनलेश डङ्गोल

प्रकाशित : श्रावण १२, २०८१ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×